काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण र उद्धार कार्यलाई थप व्यवस्थित बनाउन वालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था र सरोकारवालासँग समन्वय गरेर मात्रै राहत परिचालन गर्न आग्रह गरेको छ ।
सचिवालयले विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्न नागरिक र सामाजिक संस्थाले देखाएको सद्भाव तथा सक्रियताको प्रशंसा गर्दै पूर्वसमन्वयबिनै व्यक्तिगत रूपमा राहत लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढेको जनाएको छ ।
सचिवालयका अनुसार साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक ट्राफिक जाम भएको छ । त्यसका कारण एम्बुलेन्स, सरकारी उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न कठिन भएको उल्लेख गरिएको छ ।
जोखिमयुक्त भूगोल र विषम परिस्थितिमा आवश्यक तयारीबिनै प्रभावित क्षेत्रमा पुग्दा राहत लिएर जाने व्यक्तिको सुरक्षासमेत जोखिममा पर्ने सचिवालयको भनाइ छ ।
त्यसैले उद्धार तथा राहत कार्यलाई थप भद्रगोल हुन नदिन र वास्तविक पीडितसम्म छिटो राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान आग्रह गरिएको छ ।
राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अबदेखि अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग पूर्वसमन्वय गरेर मात्रै राहत सामग्री हस्तान्तरण वा परिचालन गर्नुपर्ने सचिवालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई एकीकृत रूपमा सम्बन्धित स्थानसम्म पुर्याउने व्यवस्था मिलाउने पनि सचिवालयले स्पष्ट पारेको छ ।
सद्भाव र सहयोगको भावनालाई राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा परिचालन गर्न सबैमा सचिवालयले हार्दिक अपिल गरेको छ ।