काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीपहिरोमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधबार आएको प्राकृतिक विपत्तिका कारण नेपालमा रहेका आफ्ना नागरिक सम्पर्कविहीन भएको जानकारी दिएका हुन् ।
प्रवक्ता लिनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको छ ।
चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका तथा आसपासका क्षेत्रमा गएको पहिरोबाट ठूलो मानवीय क्षति भएको बताइएको छ ।
लिनले दुवै देशका अधिकारीबीच खोजी तथा उद्धारका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी दिँदै नेपालको आवश्यकताअनुसार आपत्कालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको बताए ।
चिनियाँ स्थानीय अधिकारीलाई उद्धृत गर्दै प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रमा हालसम्म २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । यद्यपि, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण यकिन विवरण प्राप्त हुन नसकेको र प्रमाणीकरणको काम जारी रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
‘सबैको जीवन महत्वपूर्ण छ’ भन्दै लिनले सम्बन्धित देशका दूतावासलाई समेत प्रभावित क्षेत्रमा रहेका नागरिकको पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको बताए ।
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गरेको छ। दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन तथा थप प्राकृतिक जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। समस्यामा परेका नागरिकलाई दूतावाससँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।