' सरकार सामाजिक सञ्जालमा मात्रै देखियो '

नदी किनाराका शव सडेर दुर्गन्ध फैलन थाल्यो

काठमाडौं । विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको क्षेत्रमा उद्धार, राहत र खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै स्थानीय जनप्रतिनिधिले संघीय सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। 

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका सरकारको उपस्थिति पीडितले अनुभूति गर्न नसकेको स्थानीयले बताएका छन्।

उतरगयाँ गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीको सूचना जारी गर्न खटिएका चार जना कर्मचारी अझै बेपत्ता रहेको तथा सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचान भएपछि दाहसंस्कार गरिएको जानकारी दिएका छन्।

उनले कार्यपालिका सदस्य ज्ञानु बिक तथा केही शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको बताएका छन् ।
उनका अनुसार वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको छ। भूकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवार समेत बाढीको मारमा परेका छन्।

उनले त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारहरू हराइरहेको जानकारी दिएका छन् ।

केही कामदार सुरुङभित्र फसेको आशंका उनले बताएका छन् । गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुहरूसँग पनि सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बेपत्ता भएको बताएका छन् । आफन्तहरूले निरन्तर सम्पर्क गरी उद्धारका लागि हारगुहार गरिरहेको जनप्रतिनिधिको भनाइ छ।

‘बाढीपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कसमेत प्रभावित भएको छ। मोबाइल बन्द भएपछि धेरै व्यक्तिसँग सम्पर्क हुन सकेको छैन,’ अर्यालले भने ।

टिमुरे र स्याफ्रुबेशी क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अवस्था अझ भयावह रहेको उनको भनाइ छ। ठूलो संख्यामा परिवार घरबारविहीन भएका छन्।

अर्यालले मरणासन्न अवस्थाका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतिक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको गुनासो गरेका छन्। घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनु परेको उनले बताएका छन्।

'नदी किनारमा दर्जनौँ शव देखिएको र पहिचान भएका शवको समेत तत्काल व्यवस्थापन गर्न कठिनाइ भएको छ,' उनको भनाइ छ,' दाहसंस्कारका लागि फिल्डमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ दिन्छन् ।'

बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता रहेको उनले बताएका छन् । कालिकास्थानमा रहेका इन्स्पेक्टरसहित पाँच–छ जना प्रहरी सीमित स्रोतसाधनका बीच खाना र पानीको समेत अभावमा खटिइरहेको उनले बताएका छन् ।

सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरी सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको सन्देश देखेको उल्लेख गर्दै अर्यालले भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।'

उनले आफूले सरकारको आलोचना राजनीतिक उद्देश्यले नभई पीडित जनताको वास्तविक अवस्था सार्वजनिक गर्न गरेको स्पष्ट पारेका छन्। ‘हामीले यस्तो आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ,’ अर्यालले गृहमन्त्रीको सचिवालयबाट आएको फोनमा दिएको जवाफ उद्धृत गर्दै बताएका छन्।

उनका अनुसार गृहमन्त्रीको सचिवालयबाट ‘नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न’ आग्रह गरिएको थियो। आफूले भुइँमा बसेर काम गरिरहेको जनप्रतिनिधिको हैसियतले वास्तविकता बोल्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्।

आफ्नो पार्टीभित्रका सीमित नेताबाहेक अन्य नेतृत्वले समेत प्रत्यक्ष रूपमा खोजखबर नगरेको अर्यालको गुनासो छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेको तथा सुरेन्द्र पाण्डेलगायत विभिन्न नेता र सहयोद्धाले सम्पर्क गरी चिन्ता व्यक्त गरेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा मात्र सीमित हुने बैठक र सन्देशले पीडितको पीडा झनै बढाउन सक्ने भन्दै अर्यालले परिणाममुखी काम गर्न आग्रह गरेका छन्। ‘परिणामविहीन सामाजिक सञ्जाल रंग्याउने काम नगरौँ। के गर्न सकिन्छ, मैदानमै जनताले अनुभूति गर्नेगरी गरौँ,’ उनले भनेका छन्।

उनका अनुसार प्रभावित क्षेत्रका करिब ३५० जनालाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा आश्रय दिइएको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भएको र उपलब्ध खाद्यान्नले थप करिब तीन दिन धान्ने अनुमान छ।

पीडितहरू विद्यालयका कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। केही मनकारी स्थानीयले आफ्नै घरमा आश्रय दिएर प्रभावित परिवारलाई सहयोग गरिरहेका छन्।

नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था संवेदनशील भए पनि आवश्यक सहयोग गर्न नसकिएको उनले बताए । नदी किनारमा रहेका दर्जनौं शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र यसबाट संक्रमण तथा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने जोखिम बढेको अर्यालले बताएका छन्।

बिरामीको संख्या पनि बढ्दो क्रममा रहेकाले तत्काल उद्धार र उपचारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्  । पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै व्यक्ति फसेको सूचना आएको छ। त्यहाँ खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव रहेकाले तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन् ।

त्रिशूली नदी वारिपारि फसेर परिवारबाट अलग भएका सदस्यलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने आवश्यकता पनि उनले औल्याएका छन् । सहयोगी संघसंस्थाले राहत उपलब्ध गराउने इच्छा व्यक्त गरिरहेकाले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् । 

उनले घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको बताए । प्रमुख जिल्ला अधिकारीसँग अघिल्लो साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी प्राप्त भएको उनले बताएका छन्। 

स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरबाट ओझेलमा परेको महसुस गरेका क्षेत्रमा उद्धार, राहत र अन्य अत्यावश्यक काम प्रभावकारी रूपमा सुरु हुने विश्वास उनले व्यक्त गरेका छन्। ‘आफन्त गुमाएका र घरबारविहीन जनताले अब राज्यको उपस्थिति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउनुपर्छ,’ अर्यालले दुःख व्यक्त गर्दै भनेका छन् ।

रसुवामा बुधबार ९ बजे आएको बाढीले रसुवा,  नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ।

Share News