काठमाडौं । बाढीका कारण बगेका सात जनाको शव सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशका महाराजगन्ज र कुशीनगरमा फेला परेका छन् ।
भारतीय अधिकारीहरूका अनुसार गण्डक (नारायणी) नदीमा तैरिरहेको अवस्थामा सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले पाँच महिला र दुई पुरुषका शव फेला पारेको हो ।
जसमध्ये महाराजगन्जमा तीन महिला र एक पुरुष गरी चार वटा तथा कुशीनगरमा दुई महिला र एक पुरुष गरी तीन वटा शव बरामद गरिएको छ ।
निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ता र कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार मोटरबोटको प्रयोग गरी नदीबाट निकालिएका ती शवहरू हाल पहिचानका लागि सदरमुकामका फ्रिजरमा सुरक्षित राखिएका छन् ।
शवहरू नेपालको माथिल्लो क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको बलियो सम्भावना रहेको बताउँदै भारतीय प्रशासनले पहिचानको प्रक्रिया अघि बढाउन नेपाली स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।