बाढी प्रभावितको सहयोगका लागि एमाले सम्पर्क कमिटीले गर्यो रक्तदान
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले नेकपा एमाले सम्पर्क विशेष कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदान गरेको एमाले लुम्विनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाको भावनासहित कार्यक्रम आयोजना गरिएको पाण्डेले बताए । उनका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षाका लागि आवश्यक सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । अध्यक्ष पाण्डेले विपद्को कठिन परिस्थितिमा राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले समेत मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । बाढी प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र उपचारलगायतका काममा एमालेका विभिन्न जनसंगठन तथा भातृसंगठनहरू सक्रिय रहेको एमालेले जनाएको छ । विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमबाट संकलित रगतले बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको सम्पर्क कमिटीले जनाएको छ ।
भोटेकोशी बाढीः १३ सय बढीको शव भेटिँदा ९८ जनाको मात्रै सनाखत
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत खोजी तथा उद्धार कार्य जारी छ । सरकारका अनुसार राहत र उद्धारमा एकद्वार प्रणाली लागू गरेर खोजीको कामलाई तीव्रता दिइएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अनुसार हालसम्ममा १ हजार ३४१ जनाको शव फेला परेको छ । हालसम्म उद्धार गरिएको सङ्ख्या १३ हजार १०४ जना रहेको छ । सम्पर्कविहीन रहेको सङ्ख्या ४ हजार ९१६ छ । हालसम्ममा ९८ वटा शव मात्रै सनाखत भएका छन् । धेरैजना व्यक्तिहरू हराइरहेकाले हराएका व्यक्तिको सङ्ख्या तलमाथि हुने आँकलन गरिएको छ । १ हजार ३४१ शव फेला पर्दा ९८ जनाको मात्रै सनाखत भएर आफन्तले बुझेका छन् ।
बालेनलाई गगनको सुझाव– राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनूस्, आफ्नो सचिवालयको भर नपर्नूस्
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिएका हुन् । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए । विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे । उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रस्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए । सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए । सभापति थापाले भने, ‘हामीले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौं, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ । यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन् । पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ ।’ उनले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए । सही तयारी र विज्ञहरूको परामर्शका आधारमा प्रस्तुत भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दालाई थप स्थापित गर्न सक्ने थापाको भनाइ छ । –न्युज एजेन्सी नेपाल
अमेरिकालाई इरानको चेतावनी– ‘अब हुने जवाफी हमला पहिलेभन्दा तीव्र र पीडादायी हुनेछ’
काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बघेर गालिबाफले आइतबार इरानविरुद्ध कारबाही गर्नेहरूलाई अब ‘पहिलेभन्दा पनि तीव्र’ र ‘पीडादायी’ जवाफ दिइने चेतावनी दिएका छन् । उनले ‘सीमित जवाफ’ दिने चरण समाप्त भइसकेको र अब ‘खेलका नियम परिवर्तन भएको’ बताएका छन् । संसदमा सम्बोधन गर्दै गालिबाफले भने, ‘इरानी सैन्य बलले अमेरिकी सैन्य अड्डाहरूमा गरेको शक्तिशाली आक्रमणपछि अमेरिका र उसका सहयोगी देशहरू निराशाको अवस्थामा पुगेका छन् ।’ उनले विपक्षी पक्षले खोक्रा शब्द र नाराको सहारा लिएर युद्धक्षेत्रका तस्बिर तथा भिडियो तयार गर्न कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिरहेको दाबी गरे । गालिबाफले अमेरिकाले ‘सीमित जवाफ’ दिने चरण समाप्त भइसकेको कुरा बुझ्नुपर्ने बताए । उनले हालैको अभियानमा इरानले गरेको आक्रमण केवल सुरुवात मात्र भएको दाबी गरे । उनले चेतावनी दिँदै भने, ‘यदि अमेरिकाले अहिलेसम्म परिस्थिति बुझेको छैन भने, धेरै ढिला हुनुअघि नै उसले खेलका नियम परिवर्तन भइसकेको कुरा बुझ्नुपर्छ ।’ मोहम्मद बघेर गालिबाफले इरानको आगामी जवाफी कारबाही अझ तीव्र हुने दाबीसमेत गरे । यसैबीच, अमेरिका र इरानले शनिबार एकअर्काका जहाजमाथि जवाफी आक्रमण गरेका थिए । एक साताअघि द्वन्द्व सुरु भएपछि भएको यो पछिल्लो आक्रमणको शृंखला हो । त्यसअघि करिब एक महिनासम्म दुई देशबीचको अवस्था सामान्यतः शान्त रहेको थियो ।
उद्धारदेखि राहत वितरणमा एमालेका एक हजार नेता कार्यकर्ता परिचालित
काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ता र जनवर्गीय संगठनका स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ । एमालेले बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि छुट्टै सहयोग समिति गठन गरी रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा स्वयंसेवक परिचालन गरेको जनाएको छ । एमाले वागमती प्रदेश इन्चार्ज महेश बस्नेतका अनुसार पार्टीले पहिलो चरणमा तत्काल उद्धार, राहत र दीर्घकालीन पुनस्र्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेको छ । एमालेका अनुसार पार्टी सचिव समेत रहेका बस्नेतको संयोजकत्वमा गठित सहयोग समितिले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा मानवीय सहयोग परिचालन गरिरहेको छ । बस्नेतका अनुसार पार्टीले नेता कार्यकर्तालाई प्रभावित जिल्लामै खटाएर उद्धार तथा राहतको काम अघि बढाइरहेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रभावित जिल्लाहरुमा पुगेका थिए । उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै स्थानीयसँग भेटेर तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए । भग्नावशेष हटाउनेदेखि राहत वितरणसम्म एमाले नेता तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार पार्टीबाट परिचालित टोलीले प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, हिलो सफा गर्ने तथा राहत सामग्री संकलन र वितरणको काम गरिरहेको छ । श्रेष्ठका अनुसार अखिल स्कुलहरूमा केन्द्रित छ । धादिङको काम सकेर अब रसुवा जाँदैछ,श्रेष्ठले भने । जिफन्टले प्रभावित क्षेत्रको सरसफाई र प्रभावितहरुलाई पुर्नस्थापनाको काम गरीरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठ नेतृत्वको टोली रसुवा र धादिङमा केन्द्रित छ । टोलीले भग्नावशेष हटाउने तथा बाढीबाट प्रभावित निजी घर सफा गर्ने काम गरिरहेको छ । श्रेष्ठले अव त्रिशुली तरेर पारी तिरको भग्नावशेष हटाउन सोमवारवाट ३० जनाको नयाँ शक्ती समेत थपेको छ । त्यस्तै युवा संघ नेपाल रसुवामा केन्द्रित भएर उद्धार तथा राहत वितरणमा खटिएको छ । नुवाकोटमा रुपनारायण श्रेष्ठको संयोजनमा भूतपूर्व सैनिक संगठन, खेलकुद महासंघ र भोलेन्टियर्स फोर्स परिचालित छन् । एमाले पवक्ता निरज आचार्यका अनुसार धादिङमा रमेश आचार्यको नेतृत्वमा रिटर्नी फेडेरेसन, अखिल नेपाल महिला संघ र सम्पर्क मञ्चका टोली राहत तथा उद्धारमा केन्द्रित रहेका छन् । आचार्यका अनुसार पार्टीको करिब १ हजार जनशक्ति प्रभावित क्षेत्रमा परिचालित भएको छ । प्रारम्भिक चरणमा म्याट्रेस, त्रिपाल, कम्बल तथा खाद्यान्नलगायत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको प्रवक्ता आचार्यले बताए । फिल्डमा भएको आवश्यकता पहिचान गर्दै पहिलो चरणमा म्याट्रेस, त्रिपाल, कम्बल र खाद्यान्न पुयाइसकेको एमाले नुवाकोट अध्यक्ष वद्री मैनालीले जानकारी दिए । दोस्रो चरणमा पीडितको आवश्यकताअनुसार थप राहत सामग्री पठाउँछौँ, उनले भने ।
बाढीले १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगर बनायो
काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले कृषि क्षेत्रमा ठूलो क्षति पु‍र्याएको छ । संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक आँकलनअनुसार बाढीका कारण १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धानखेत र १३७ हेक्टर तरकारी खेती रहेको छ । बाढीका कारण कृषि उत्पादनमा मात्रै करिब ७ हजार ६८६ मेट्रिक टन क्षति पुगेको प्रारम्भिक अनुमान छ । यस्तै, ४ हजार ७५० भन्दा बढी पशुचौपाया र ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
भोटेकोशी बाढी प्रभावितको धुलिखेल अस्पतलले एक वर्षसम्म नि:शुल्क उपचार गर्ने
काठमाडौं । काठमाडौं-धुलिखेल अस्पतालले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परीवारलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का कारण प्रभावित परिवार तथा समुदायमा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा उपचारलाई प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरिएको छ। विपद्को समयमा प्रभावित नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सहकार्य गरिने अस्पतालले जनाएको छ। विशेषगरी विपद्बाट प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालले विपद्का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा समेत आवश्यक सहयोग र सहकार्य गर्ने जनाएको छ । प्रभावित नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै उपचार तथा परामर्श लिन अस्पतालले आग्रह गरेको छ ।
इरानमा इन्धन ट्यांकरमा आगलागी, ११ जनाको मृत्यु
काठमाडौं । इरानको सनन्दज–हमदान राजमार्गमा इन्धन ट्यांकरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घटनापछि कुर्दिस्तान प्रान्तका गभर्नरले पूरै प्रान्तमा दुई दिन सार्वजनिक शोकको घोषणा गरेका छन् । समाचार एजेन्सी आईआरएनएले कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार घटना शनिबार साँझ करिब ५ः३० बजे सनन्दज सहरको प्रवेशद्वारनजिक भएको हो । २० हजार लिटर पेट्रोल बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनीबसलाई ठक्कर दिएपछि विस्फोट भएको थियो । दुर्घटनामा दुवै सवारीसाधनका चालकको मृत्यु भएको जनाइएको छ । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीले घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको बताएका छन् । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्धन ट्यांकरको ब्रेकमा आएको प्राविधिक खराबीका कारण दुर्घटना भएको देखिएको छ ।