अमेरिकालाई इरानको चेतावनी– ‘अब हुने जवाफी हमला पहिलेभन्दा तीव्र र पीडादायी हुनेछ’

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बघेर गालिबाफले आइतबार इरानविरुद्ध कारबाही गर्नेहरूलाई अब ‘पहिलेभन्दा पनि तीव्र’ र ‘पीडादायी’ जवाफ दिइने चेतावनी दिएका छन् ।

उनले ‘सीमित जवाफ’ दिने चरण समाप्त भइसकेको र अब ‘खेलका नियम परिवर्तन भएको’ बताएका छन् ।

संसदमा सम्बोधन गर्दै गालिबाफले भने, ‘इरानी सैन्य बलले अमेरिकी सैन्य अड्डाहरूमा गरेको शक्तिशाली आक्रमणपछि अमेरिका र उसका सहयोगी देशहरू निराशाको अवस्थामा पुगेका छन् ।’

उनले विपक्षी पक्षले खोक्रा शब्द र नाराको सहारा लिएर युद्धक्षेत्रका तस्बिर तथा भिडियो तयार गर्न कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिरहेको दाबी गरे ।

गालिबाफले अमेरिकाले ‘सीमित जवाफ’ दिने चरण समाप्त भइसकेको कुरा बुझ्नुपर्ने बताए । उनले हालैको अभियानमा इरानले गरेको आक्रमण केवल सुरुवात मात्र भएको दाबी गरे ।

उनले चेतावनी दिँदै भने, ‘यदि अमेरिकाले अहिलेसम्म परिस्थिति बुझेको छैन भने, धेरै ढिला हुनुअघि नै उसले खेलका नियम परिवर्तन भइसकेको कुरा बुझ्नुपर्छ ।’

मोहम्मद बघेर गालिबाफले इरानको आगामी जवाफी कारबाही अझ तीव्र हुने दाबीसमेत गरे ।

यसैबीच, अमेरिका र इरानले शनिबार एकअर्काका जहाजमाथि जवाफी आक्रमण गरेका थिए । एक साताअघि द्वन्द्व सुरु भएपछि भएको यो पछिल्लो आक्रमणको शृंखला हो । त्यसअघि करिब एक महिनासम्म दुई देशबीचको अवस्था सामान्यतः शान्त रहेको थियो ।

Share News