काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिएका हुन् ।
थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए ।
विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे ।
उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रस्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए ।
सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए ।
सभापति थापाले भने, ‘हामीले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौं, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ । यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन् । पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ ।’
उनले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।
सही तयारी र विज्ञहरूको परामर्शका आधारमा प्रस्तुत भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दालाई थप स्थापित गर्न सक्ने थापाको भनाइ छ । –न्युज एजेन्सी नेपाल