सोनापुर मिनरल्सका १ करोड ८४ लाख कित्ता सेयरको लक–इन अवधि सकिँदै
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको १ करोड ८४ लाख ६९ हजार ८०० कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको जानकारी गराएको हो । कम्पनीका अनुसार कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयरमध्ये संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयरको लक–इन अवधि असोज २३ गतेपछि समाप्त हुनेछ । यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । सोनापुर मिनरल्सको सेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले लाभांश वितरणसहित वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले असोज १६ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा बिहान ११ बजे २७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ । यस्तै, चालु आव २०८३/८४ को प्रस्तावित बजेट, सञ्चालक समितिका सदस्यको भत्ता, प्रबन्ध निर्देशकको पारिश्रमिक तथा अन्य सञ्चालकको पारिश्रमिकसम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । सभाले नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयनसमेत गर्नेछ ।
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई बिक्री गर्ने
काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गर्न लागेको हो । कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गर्न लागेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
नारायणगढ-मुग्लिन सडक आज आंशिक बन्द हुँदै, कुन-कुन समयमा पाइन्छ ?
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम गरिने उल्लेख छ । धादिङको कृष्णभीरमा सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोलामा माटो कटानको काम जारी रहने सूचनामा जनाइएको छ । तुइन खोलामा समय–समयमा पहिरो जाने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्दै पहिरोको माथिल्लो भागमा झर्न सक्ने माटो हटाउन लागिएको हो । प्रशासनका अनुसार नारायणगढ-मुग्लिन सडक बिहान ८ बजेदेखि ८:३० बजेसम्म, १०:३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १:३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालनमा रहनेछ । तोकिएका समयबाहेक सडकको उक्त स्थानमा सवारी साधन रोकेर माटो कटान तथा पहिरो रोकथामको काम गरिने सूचनामा उल्लेख छ ।
आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ । यस्तै, बाढीमा परी ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् । फेला परेका शवमध्ये एक हजार ४४ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
एनआईसी एशियाले असोज ७ गतेदेखि इक्विटी अपोर्चुनिटी फण्ड बिक्री खुला गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गर्न लागेको हो । कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा, नगद मात्रै २.९२ अर्ब रुपैयाँ
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ ।
रात्रिकालीन बस थप्दै काठमाडौं महानगर, उपत्यकाका ८ पालिका जोडिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र विस्तार गर्न हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययनका लागि गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो । हाल नागढुंगा-विमानस्थल र लगनखेल-बुढानीलकण्ठ गरी दुईवटा रुटमा मात्र यो सेवा उपलब्ध रहेकोमा अब गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायु सेवासम्मका नयाँ रुटहरू थपिने भएका छन्। यी प्रस्तावित रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र र मुख्य नाकाहरूलाई आपसमा जोड्ने बताइएको छ । रात्रिकालीन यातायात सेवाको प्रारम्भिक तथ्याङ्क अनुसार वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले यो सेवा प्रयोग गरेका थिए । अध्ययन अनुसार एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गर्ने गरे पनि यसको सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ लाग्ने हुनाले प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ । यात्रा गर्ने समय तालिका अनुसार राति ८ बजेदेखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ भने यात्रुहरूमध्ये छोटो दूरीका ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन् । सेवालाई थप सुरक्षित र प्रविधियुक्त बनाउन महिला, ज्येष्ठ नागरिक तथा पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा निगरानी क्यामेरा (सीसीटीभी), स्थान पहिचान प्रणाली (जीपीएस) र व्यवस्थित बस बिसौनी निर्माण गर्न सिफारिस गरिएको छ । यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिकासहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको संयुक्त सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका सबै स्थानीय तहहरूलाई समेटेर एकीकृत र दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी अघि बढाएको छ ।