बाढी प्रभावितको सहयोगका लागि एमाले सम्पर्क कमिटीले गर्‍यो रक्तदान

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले नेकपा एमाले सम्पर्क विशेष कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदान गरेको एमाले लुम्विनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाको भावनासहित कार्यक्रम आयोजना गरिएको पाण्डेले बताए ।

उनका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षाका लागि आवश्यक सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
अध्यक्ष पाण्डेले विपद्को कठिन परिस्थितिमा राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले समेत मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । बाढी प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र उपचारलगायतका काममा एमालेका विभिन्न जनसंगठन तथा भातृसंगठनहरू सक्रिय रहेको एमालेले जनाएको छ ।

विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमबाट संकलित रगतले बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको सम्पर्क कमिटीले जनाएको छ ।

Share News