काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ता र जनवर्गीय संगठनका स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।
एमालेले बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि छुट्टै सहयोग समिति गठन गरी रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा स्वयंसेवक परिचालन गरेको जनाएको छ । एमाले वागमती प्रदेश इन्चार्ज महेश बस्नेतका अनुसार पार्टीले पहिलो चरणमा तत्काल उद्धार, राहत र दीर्घकालीन पुनस्र्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेको छ ।
एमालेका अनुसार पार्टी सचिव समेत रहेका बस्नेतको संयोजकत्वमा गठित सहयोग समितिले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा मानवीय सहयोग परिचालन गरिरहेको छ । बस्नेतका अनुसार पार्टीले नेता कार्यकर्तालाई प्रभावित जिल्लामै खटाएर उद्धार तथा राहतको काम अघि बढाइरहेको छ ।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रभावित जिल्लाहरुमा पुगेका थिए । उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै स्थानीयसँग भेटेर तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए ।
भग्नावशेष हटाउनेदेखि राहत वितरणसम्म
एमाले नेता तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार पार्टीबाट परिचालित टोलीले प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, हिलो सफा गर्ने तथा राहत सामग्री संकलन र वितरणको काम गरिरहेको छ ।
श्रेष्ठका अनुसार अखिल स्कुलहरूमा केन्द्रित छ । धादिङको काम सकेर अब रसुवा जाँदैछ,श्रेष्ठले भने ।
जिफन्टले प्रभावित क्षेत्रको सरसफाई र प्रभावितहरुलाई पुर्नस्थापनाको काम गरीरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठ नेतृत्वको टोली रसुवा र धादिङमा केन्द्रित छ । टोलीले भग्नावशेष हटाउने तथा बाढीबाट प्रभावित निजी घर सफा गर्ने काम गरिरहेको छ । श्रेष्ठले अव त्रिशुली तरेर पारी तिरको भग्नावशेष हटाउन सोमवारवाट ३० जनाको नयाँ शक्ती समेत थपेको छ ।
त्यस्तै युवा संघ नेपाल रसुवामा केन्द्रित भएर उद्धार तथा राहत वितरणमा खटिएको छ । नुवाकोटमा रुपनारायण श्रेष्ठको संयोजनमा भूतपूर्व सैनिक संगठन, खेलकुद महासंघ र भोलेन्टियर्स फोर्स परिचालित छन् ।
एमाले पवक्ता निरज आचार्यका अनुसार धादिङमा रमेश आचार्यको नेतृत्वमा रिटर्नी फेडेरेसन, अखिल नेपाल महिला संघ र सम्पर्क मञ्चका टोली राहत तथा उद्धारमा केन्द्रित रहेका छन् ।
आचार्यका अनुसार पार्टीको करिब १ हजार जनशक्ति प्रभावित क्षेत्रमा परिचालित भएको छ । प्रारम्भिक चरणमा म्याट्रेस, त्रिपाल, कम्बल तथा खाद्यान्नलगायत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको प्रवक्ता आचार्यले बताए ।
फिल्डमा भएको आवश्यकता पहिचान गर्दै पहिलो चरणमा म्याट्रेस, त्रिपाल, कम्बल र खाद्यान्न पुयाइसकेको एमाले नुवाकोट अध्यक्ष वद्री मैनालीले जानकारी दिए । दोस्रो चरणमा पीडितको आवश्यकताअनुसार थप राहत सामग्री पठाउँछौँ, उनले भने ।