सुरक्षाकर्मीको साहसलाई बालेनको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सुरक्षाकर्मीहरूको मुक्तकण्ठले प्रशंसा गरेका हुन् । उनले कठिन परिस्थितिमा पनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूले लाखौं नागरिकको ज्यान रक्षा गर्न खेलेको भूमिकाको कदर गरेका हुन् । साथै प्रधानमन्त्री बालेनले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहका अनुसार बाढीका बेला नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा सुरक्षाकर्मीहरूले असाधारण कर्तव्यनिष्ठा प्रस्तुत गरेका थिए । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तटीय क्षेत्रतर्फ बढेपछि त्यहाँ तैनाथ ५२ जना सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित) ले दुईवटा भवनमा रहेका ९२३ जना कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए । लगत्तै त्रिशूलीको बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खाल ढाल्दै कैदीबन्दी राखिएका भवनहरूको पहिलो तलासम्म लेदो भरिदिएको थियो । त्यस विपद्को मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीलाई सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिन सफल भएका थिए। सो क्रममा भाग्न नपाएका कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते समेत भएका थिए । आफ्ना ब्यारेक र कार्यालय लेदोले पुरिएको, पहुँचमार्ग र खानेपानी संरचना ध्वस्त भएको अवस्थामा पनि खेतको आलीलाई बाटो बनाउँदै, टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने र स्थानीय बासिन्दाको समेत ज्यान जोगाउने काम सुरक्षाकर्मीहरूले गरेका थिए । बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जना मानिसहरूको सकुशल उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले आफ्ना सुरक्षाकर्मीहरूलाई सुरक्षित रूपमा कार्यक्षेत्रमा परिचालन गर्न मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट समन्वय भइरहेको पनि बताएका छन् । संकटको यस घडीमा सुरक्षाकर्मीहरूलाई काममा खटिन प्रेरित गर्ने तिनका घरपरिवार, साथै नेपाल र विदेशबाट सहयोगमा खटिएका विज्ञहरूप्रति पनि उनले कृतज्ञतासमेत व्यक्त गरेका छन् ।
बाढी प्रभावित जिल्लाहरूमा राहत तीव्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय
काठमाडौं । अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र बनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको आपत्कालीन छलफलपछि महासंघ अन्तर्गतका संस्थाहरू प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय भएका हुन् । अहिले महासंघभित्र आवद्ध ३० वटा संस्थाहरू विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआईएन) का अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय, कम्बल, हाइजिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको छ । एआईएनको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागकी संयोजक डाक्टर सम्झना विष्टले प्रारम्भिक चरणको आपत्कालीन राहतपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श लगायत अन्य पुनस्थापनाका कामहरु शुरु गरिने जानकारी दिइन् । विभागिय मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारसँगको निरन्तरको छलफल र परामर्श पछि सरकारको प्राथमिकता भित्र रहेर दीर्घकालीन आर्थिक पुनर्निर्माणका काम अघि बढाउने गरि अध्ययन भइरहेको उनले जानकारी दिइन् । सरकारले अल्पकालीन राहतका साथै दीर्घकालीन पुनस्थापनका क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका निम्ति गठन गरेका सबै उपसमितिहरूमा एआइएनलाई सदस्यको रूपमा राखिएको छ । विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको एआइएनमा हाल एक सय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आवद्ध छन् । –न्युज एजेन्सी नेपाल
नुवाकोटको विदुरमा भदौ २४ देखि विद्यालय खुल्ने
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका क्षेत्रका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । आइतबार (आज) बसेको नगर कार्यपालिका बैठकले होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका तथा पूर्णरूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुरोधसमेत गरेको छ । बाढीका कारण विद्यालयहरू बन्द रहेका बेला नगरपालिकाले प्रभावित क्षेत्रका विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । बाढीबाट क्षतिग्रस्त तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल सञ्चालनमा नआउने नगरपालिकाले स्पष्ट पारेको छ ।
प्रतिबन्धले थलिएको अर्थतन्त्र सुधार्ने इरानको प्रयास, अमेरिकालाई कडा चेतावनी
काठमाडौं । इरानले अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्रमा सिर्जना भएका समस्यासँग जुध्न थप प्रयास गर्ने जनाएको छ । साथै एक वरिष्ठ इरानी अधिकारीले इरानमाथि थप हमला भए त्यसको ‘पीडादायी जवाफ’ दिने चेतावनी दिएका छन् । इरानमाथि अमेरिका र इजरायलले हमला गरेको ६ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ । जुन महिनामा भएको प्रारम्भिक युद्धविराम सम्झौता भत्किइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउन कूटनीतिक प्रयासमा पनि खासै प्रगति हुन सकेको छैन । अगस्ट महिनाको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानका तीनवटा तेल ट्यांकरमाथि हमला गरेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी) ले अमेरिकी नौसेनाका दुई पानीजहाजलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ । आक्रमणपछि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि’ इरानविरुद्धको युद्धमा खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने बताए । टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’ इरानले छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने क्षमता अझै कायम राखेको देखाएको छ । साथै विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागमध्ये एक भाग द्वन्द्वअघि बग्ने गरेको होर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति रोक्न सक्ने क्षमता पनि इरानसँग छ । प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब तर, इरानको तेल निर्यातमा नाकाबन्दी लगाउँदै र प्रतिबन्ध छल्ने प्रयास रोक्दै उसको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी अभियान थेग्न इरानलाई झन् कठिन हुँदै गएको तीन वरिष्ठ इरानी स्रोतले बताएका छन् । गालिबाफले आइतबारको भाषणमा सैन्य मोर्चासँगै इरानको मुख्य लडाइँ अब उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित रहेको बताए । उनले मुद्रा विनिमय दरमा तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औँल्याए । इरानी नागरिकले कठिनाइ सहन सक्ने भए पनि अव्यवस्थापन र निष्क्रियता भने स्वीकार गर्न नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । इरानका अर्थमन्त्री अली मदानिजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने तेहरानको योजना रहेको बताएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार उनले प्रतिबन्धका कारण इरानले आफ्नो नीति परिवर्तन गर्ने धारणा अस्वीकार गरेका छन् । मदानिजादेहले भने, ‘उनीहरू आर्थिक दबाब र एक्ल्याउने, वित्तीय सम्बन्ध तोड्ने कुरा गर्छन् । उनीहरूलाई लाग्छ, कुनै देशको अर्थतन्त्रमाथि दबाब दिएर त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ ।’ उनले थपे, ‘एउटा कुरा स्पष्ट गर्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी अर्थ मन्त्रालयको होइन, इरान सरकार र जनताको हो ।’ यसैबीच अर्थ मन्त्रालयका उपमन्त्री मोर्तेजा जमानियनले युद्धका कारण उत्पन्न समस्याको समाधान गर्न मन्त्रालयको ‘आर्थिक युद्ध मुख्यालय’ले आफ्नो कामलाई थप तीव्र बनाएको बताएका छन् । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार उनले यस्तो बताएका हुन् । पछिल्ला महिनामा खार्ग द्वीपमा ५५० पटक हमला भएको इरानको दाबी इरान पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादक हो । युद्धअघि उसले आफ्नो कच्चा तेलको करिब ९० प्रतिशत खार्ग द्वीपस्थित निर्यात केन्द्रमार्फत निर्यात गर्दै आएको थियो । अमेरिकी नाकाबन्दीका कारण अप्रिलको मध्यदेखि इरानको तेल आपूर्ति प्रभावित हुँदै आएको छ । अगस्ट ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक लाइनको पोस्ट गर्दै खार्ग द्वीपलाई ‘पूर्ण रूपमा ध्वस्त पारिएको’ देखाउने एआईबाट निर्मित भिडियोसमेत सार्वजनिक गरेका थिए । खार्गमाथि हमला भए कडा जवाफ दिने इरानी अधिकारीहरूले चेतावनी दिँदै आएका छन् । इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा पछिल्ला महिनाहरूमा खार्ग द्वीपमा करिब ५५० पटक हमला भएको तर त्यसका बाबजुद पनि द्वीपले आफ्नो गतिविधि जारी राखेको बताए । इरानले हर्मुज जलडमरूमध्यमा समेत नाकाबन्दी लगाएको छ । यसका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ, जसले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि राष्ट्रपति ट्रम्पका लागि चुनौती थपेको छ । शनिबार अमेरिकी सेन्ट्रल कमान्डले खार्ग द्वीपको तट नजिक रहेको एउटा पानीजहाजसहित इरानका तीनवटा पानीजहाजमाथि हमला गरेको जनाएको थियो । इरानको आईआरजीसीले अमेरिकी नौसेनाका दुई पानीजहाजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि ती हमला गरिएको अमेरिकी पक्षको भनाइ छ । मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले भने, ‘आईआरजीसीलाई सन्देश स्पष्ट हुनुपर्छ, यदि तपाईंहरूले हाम्रा दुई पानीजहाजमाथि गोली चलाउनुहुन्छ भने हामी तपाईंहरूका तीनवटा पानीजहाज नष्ट गरेर अझ ठूलो आर्थिक मूल्य चुकाउने बनाउँछौं ।’ यसको जवाफमा आईआरजीसीले क्षेत्रमा रहेका अमेरिकी सैन्य पानीजहाजमाथि थप तीव्र आक्रमण गर्ने चेतावनी दिएको छ । साथै अन्य क्षेत्रमा रहेका तीन अमेरिकी सम्बन्धित पानीजहाजसहित ती तीनवटा ट्यांकरलाई पनि लक्षित गरेको जनाएको छ । इरानी सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा आईआरजीसी नौसेनाले भनेको छ, ‘अमेरिकी ‘आतंकवादी’ सेनाको सन्देशबाट भ्रमित नहुनुहोस् र अनुमति नदिइएका जलमार्गबाट पार गर्ने उद्देश्यले कुनै शंकास्पद गतिविधि नगर्नूहोस् । अन्यथा तपाईंहरूलाई निशाना बनाइनेछ ।’ अर्धसरकारी इरानी समाचार संस्था तस्निमका अनुसार खार्गको बन्दरगाह क्षेत्रमा रहेको एउटा तेल ट्यांकरमा चारवटा अमेरिकी क्षेप्यास्त्र प्रहार भएका थिए । स्थानीय स्रोतलाई उद्धृत गर्दै तस्निमले घटनामा कुनै मानवीय क्षति नभएको र ट्यांकरका चालक दलका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना कुनै पनि कर्मचारी घाइते नभएको जनाएको छ । आइतबार तस्निमले उत्तरी इराकको एर्बिलमाथि आईआरजीसीले अमेरिकी निगरानी बेलुन खसालेको दाबी गरेको छ । इरानले यसलाई क्षेत्रमा अमेरिकी हवाई निगरानी तथा प्रारम्भिक चेतावनी प्रणाली हटाउने व्यापक अभियानको हिस्सा भएको जनाएको छ ।
कृष्णभीरमा नयाँ ट्र्याक फराकिलो बनाउन थालियो, भदौ मसान्तसम्म सडक खोलिने
काठमाडौं । पहिरोले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको नयाँ ट्र्याक फराकिलो बनाउने काम तीव्र पारिएको छ । सडकको माथिल्लो भागमा रुख कटान र झाडी फाँडेर डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिसकिएको छ । नौबिसे–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार उक्त ट्र्याक हाल निर्माणमा संलग्न कामदार, उपकरण तथा इन्धन ओसारपसारका लागि प्रयोग भइरहेको छ । निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले मुख्य सडकभन्दा करिब २० मिटर अग्लो र ३५० मिटर लामो यो वैकल्पिक ट्र्याक तयार पारेको हो । हाल खुलाइएको ट्र्याक निर्माण प्रयोजनका लागि मात्र भएकाले सर्वसाधारणका सवारी साधन सञ्चालन हुन अझै केही समय लाग्नेछ । भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ र ग्रेडिङ मिलाउने तथा स्लोप कटिङका कामहरू बाँकी नै रहेकाले आगामी भदौ मसान्तसम्ममा मात्र सर्वसाधारणका गाडी चलाउन मिल्ने गरी काम अघि बढाइएको छ । यद्यपि आपत्कालीन अवस्थामा सर्वसाधारण हिँडेर वारपार गर्न सक्ने स्थिति भने बनेको छ । कामलाई तीव्रता दिन आजैदेखि दुईवटा एक्साभेटर थप गरी सात पुर्‍याइएको छ भने जेसिबी, लोडर र बुल्डोजरसमेत परिचालन गरेर डिजाइनअनुसार मुख्य सडक पुनर्निर्माणको काम तीव्र पारिएको छ ।
गृहमन्त्री गुरुङको पहलमा चुमनुब्री-४ मा बाढीपीडितका लागि राहत पठाइँदै
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन पहल गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाएका हुन् । नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ । छेवाङ दोर्जेको घरसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ । बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ । बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी दुवै विद्युत् प्रणालीमा क्षति पुगेको छ । चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ । हालसम्म मानवीय क्षति भएको छैन । प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ ।
स्वास्थ्यमा जटिलता देखिएपछि सुत्केरी र नवजात शिशुको हवाई उद्धार
काठमाडौं । बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको रसुवाबाट हेलिकोप्टरमार्फत एक सुत्केरी महिला र उनका नवजात शिशुको उद्धार गरिएको छ । आमाछोदिङमो गाउँपालिका–३ गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुलाई आपत्कालीन हवाई उद्धार गरी सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सो गाउँपालिकाको यातायात सम्पर्क पूर्ण रूपमा टुटाएको थियो। स्थानीय गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएलगत्तै आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि तत्काल हवाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता दावागोम्बो तामाङले जानकारी दिए । बाढीले सडक मार्ग अवरुद्ध पारेर बिरामीलाई अस्पताल लैजान नपाइने अवस्था सिर्जना भएपछि हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्याइएको हो । अहिले सुत्केरी आमा र नवजात शिशु दुवैलाई उक्त अस्पतालमा भर्ना गरी चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
बाढी प्रभावितको सहयोगका लागि एमाले सम्पर्क कमिटीले गर्यो रक्तदान
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले नेकपा एमाले सम्पर्क विशेष कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदान गरेको एमाले लुम्विनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाको भावनासहित कार्यक्रम आयोजना गरिएको पाण्डेले बताए । उनका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षाका लागि आवश्यक सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । अध्यक्ष पाण्डेले विपद्को कठिन परिस्थितिमा राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले समेत मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । बाढी प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र उपचारलगायतका काममा एमालेका विभिन्न जनसंगठन तथा भातृसंगठनहरू सक्रिय रहेको एमालेले जनाएको छ । विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमबाट संकलित रगतले बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको सम्पर्क कमिटीले जनाएको छ ।