मृतकको संख्या १ हजार ३ सय ४९ पुग्यो, ५ हजार बढी बेपत्ता
काठमाडौ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १९ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीपहिरोमा परी रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२० र चितवनमा ३६२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । यस्तै, विभिन्न जिल्लाबाट करिब ४ हजार १९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवा र नुवाकोटमा मात्रै ठूलो संख्यामा नेपाली नागरिक सम्पर्कविहीन रहेको तथा विदेशी नागरिक र सुरक्षाकर्मीरकर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । हालसम्म १३ हजार ९०४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ६७४ जनाको उद्धार गरेका छन् । उद्धारका क्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत १७३ पटक उडान गरेको छ भने काठमाडौंका विभिन्न क्षेत्रबाट निजी क्षेत्रमार्फत पनि १२९ वटा उडान भएको विवरणमा उल्लेख छ । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०४ रहेको छ । बाढीपहिरोबाट घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनामार्फत ३ हजार २९७ जना तथा सशस्त्र प्रहरीबाट २ हजार ४६२ जनाले स्वास्थ्य उपचार पाएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६५२ जना राखिएको प्राधिकरणले जनाएको छ। सुरक्षातर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै, काठमाडौंस्थित विभिन्न स्थानबाट ५३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत पनि राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्तिलाई समेत प्राथमिकता दिइएको छ । हाल डिजेल ४७ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको विवरणमा उल्लेख छ ।
सांग्रिला विकास बैंकको सीइओमा सिजापति नियुक्त
काठमाडौ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन् । उनलाई शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको सीइओ नियुक्त गरेको हो । यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल भदौ १८ गते बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ सीइओको रुपमा उनलाई नियुक्त गरेको होद । उनलाई ४ वर्षका लागि सीइओ नियुक्त गरीएको हो । उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक थिए ।
रसुवाको बाढीमा घाइते ७२ जनाको अझै उपचार हुँदै, कुन अस्पतालमा कति घाइते ?
काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी घाइते भएका ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीमा परी कुल ३१६ जना घाइते भई विभिन्न अस्पतालहरूमा उपचारका लागि पुगेका थिए । जसमध्ये २१० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ७२ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचारका क्रममा विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने ३० जनालाई अन्यत्र रिफर गरिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा रोग निगरानीलाई तीव्र बनाइएको छ। विभिन्न १५ वटा होल्डिङ सेन्टरहरूमार्फत कुल २,६८९ जना प्रभावितहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नुवाकोटको बकुलहर रत्ननगर अस्पताल, सशस्त्र प्रहरी बल र आयुर्वेद टोली सम्मिलित केन्द्रबाट १ हजार २९ जना तथा चौतारा अस्पताल र सीएमसी नेपालको टोलीबाट ४५३ जनाले सेवा पाएका छन् । कुन अस्पतालमा कति घाइते ? हाल विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २९ जना, रसुवा अस्पताल गोसाईकुण्ड, धुन्चेमा २७ जना र राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा १२ जना रहेका छन् । त्यस्तै, श्री वीरेन्द्र अस्पताल, छाउनीमा ३ जना तथा त्रिशूली अस्पताल, नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, नेपाल एपीएफ अस्पताल, बलम्बु, ग्रिनसिटी अस्पताल, टोखा, चिरायु राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एण्ड बी अस्पताल, ग्वार्को र आदमघाट अस्पतालमा १–१ जना उपचाररत छन् । १३ आकस्मिक चिकित्सकीय टोली परिचालन प्रभावित क्षेत्रमा १३ वटा सक्रिय आकस्मिक चिकित्सकीय टोलीका १७० जना सदस्य परिचालन गरिएका छन् । ती टोलीले हालसम्म ४ हजार २४१ भन्दा बढी बिरामीको उपचार गरिसकेका छन् । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचानमा सहयोग पुर्याउन रसुवामा डीएनए नमुना संकलनका लागि टेन्ट स्थापना गरी तयारी पूरा गरिएको छ। रोग निगरानीमा ज्वरो, खोकी र झाडापखालाका केस रोग निगरानी प्रणालीमार्फत पछिल्लो २४ घण्टामा ९ वटा ज्वरो तथा खोकी, ३ वटा झाडापखाला र ९ वटा साधारण ज्वरोका केसहरू दर्ता भएका छन् । बाढीपछि दूषित पानी र फोहोरका कारण विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानीलाई प्राथमिकता दिइएको छ । ६ हजारभन्दा बढीमा मनोसामाजिक परामर्शको पहुँच बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार २६८ जनासम्म मनोसामाजिक परामर्शको पहुँच पुगेको छ। जसमध्ये ३ हजार ८१३ जनाले प्रत्यक्ष सेवा पाएका छन्। यस कार्यमा २ मनोचिकित्सक, २ साइकोलोजिस्ट र १२१ परामर्शदातासहित १२५ जनाको जनशक्ति खटाइएको छ । स्वास्थ्य सेवा विभाग र वान हर्ट वर्ल्डवाइडको सहयोगमा २२ हजारभन्दा बढी ट्याब्लेट क्याप्सुल, ३ हजारभन्दा बढी ट्रमा तथा ड्रेसिङ सेट, र २ हजार २ सयभन्दा बढी ओआरएस तथा फ्लुइड बोतल प्रभावित जिल्लाहरूमा पठाइएको छ। ५ स्वास्थ्य संस्था पूर्णरुपमा क्षति बाढीका कारण स्याफ्रुबेशी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलूङ्ग सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै, धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ भने बैरेनी अस्पताल र चरौदी आ।स्वा।के। मा आंशिक क्षति पुगेको छ । मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा दूषित पानी र फोहोरका कारण झाडापखाला, हैजा, डेङ्गु तथा मलेरिया जस्ता रोगको जोखिम बढेकाले उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन अपिल गरेको छ। स्वास्थ्य सम्बन्धी जानकारी वा आपतकालीन सेवाका लागि निःशुल्क हटलाइन १११५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । काठमाडौं–भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २०८३ भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए, जसमा ४८ महिला र ५३ पुरुष रहेका छन् । बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगको नियमित औषधि बगाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो । शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटु रोग, दन्त तथा अर्थोपेडिकसम्बन्धी सेवा प्रदान गरिएको थियो । बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श समेत दिइएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियो
गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै
काठमाडाै। गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ । गुल्मीमा पुस्तौँदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उध्योगका सन्चालक इन्दीरा भण्डारीले जानकारी दिइन् । गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्याउनेउद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् । उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ । रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हँसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौँ, उनले भनिन् । विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय शहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् । दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ । भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसाय होइन, गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुयाउने प्रयास पनि हो । गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहीत देखिएका छन् । स्थानीय उपभोक्ता घना भुसाल गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको बताइन् ।
बाढीप्रभावित क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा रहेको युएनएफपीएको रिपोर्ट
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेका छन् । बाढीले सडक, स्वास्थ्य संस्था र राहत प्रणाली प्रभावित बनाएपछि आगामी एक महिनामा सम्भावित ४ सय ९२ प्रसूति तथा आकस्मिक सेवा आवश्यक पर्ने महिलासम्म सहायता पुर्याउन चुनौती बढेको छ । मानवीय सहायता सबै विस्थापितलाई एउटै समूहका रूपमा नभई महिला, नवजात शिशु र अन्य जोखिममा रहेका समूहका फरक आवश्यकताअनुसार व्यवस्थित गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले जनाएको छ । अन्य विस्थापितका आवश्यकताभन्दा आवश्यकता केही फरक हुन्छन् । बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पर्याप्त र समयमै खाना, शिशुका लागि उपयुक्त पोषण, अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ । यूएनएफपीएले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० गर्भवती महिला रहेको अनुमान गरेको छ । यी तीन जिल्ला १० भदौको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । करिब ३ लाख १० हजार प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान अनुसार आगामी एक महिनामा करिब ४ सय ९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ । समस्या खाना र बस्ने ठाउँमा मात्र सीमित छैन। बाढीपछि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशूलीको प्रसूति विभागले गम्भीर संकटबीच सेवा उपलब्ध गराइरहेको छ । विभागकी प्रमुख वसन्ती पन्चका अनुसार बाढी आएयता अस्पतालमा ९ जना प्रसूति भइसकेका छन् । प्रसूतिसँगै अन्य जटिलता लिएर आउने महिलाको संख्या पनि बढेको छ। ज्वरो, गर्भमा रहेको बच्चाको चाल कम भएको र गर्भावस्थामा पिसाबको संक्रमण भएका महिला अहिले अस्पताल आइरहेका छन् । बिजुली नियमित छैन। शल्यक्रियाका लागि जेनेरेटर चलाउनुपर्छ । एकै पटक धेरै उपकरण स्टेरिलाइज ९निर्जीवाणुकरण० गर्न सकिने अवस्था पनि छैन । सानो–सानो समूहमा उपकरण सफा र निर्जीवाणुकरण गर्नुपरेको छ । पछिल्ला दिनमा चार जना प्रसूति बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउनुपरेको छ । दुई जनालाई नेपाली सेनाको हेलिकोप्टर र दुई जनालाई एम्बुलेन्सबाट अन्यत्र पठाइएको थियो । तीमध्ये एक महिलालाई प्रसूतिपछि घाउमा गम्भीर संक्रमण भएको थियो । पहिले सामान्य मानिने प्रसूति अवस्था अहिले स्वास्थ्यकर्मीका लागि ठूलो तनाव बनेको छ । ‘गर्भावस्थामै महिलालाई स्वाभाविक रूपमा धेरै चिन्ता, तनाव र के होला भन्ने डर हुन्छ,’ पन्च भन्छिन्, ‘बाढीले गर्भवतीलाई थप ठूलो तनावमा पारेको छ ।’ महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालकी कार्यकारी निर्देशक रेखा श्रेष्ठले आफूहरूको टोलीले भ्रमण गरेका आश्रयस्थलमा एउटै दृश्य दोहोरिइरहेको बताइन् । उनका अनुसार प्रायः आश्रयस्थलमा महिला, पुरुष, बालबालिका, बिरामी र स्वस्थ व्यक्ति सबै एउटै ठाउँमा छन् । यूएनएफपीएले ४ हजार ४ सय ३० को संख्या प्रारम्भिक अनुमान मात्रै भएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य क्लस्टरसँगको समन्वयमा यो संख्या थप परिमार्जन भइरहेको छ। करिब ३ लाख १० हजार जनसंख्यालाई आधार बनाएर गरिएको यो अनुमान घर–घर पुगेर गरिएको गणना होइन । बरु, कुल जनसंख्यामा महिला गर्भवती हुने सम्भावनालाई जनसांख्यिकीय अनुपातका आधारमा हिसाब गरेर निकालिएको अनुमान हो। ‘कुनै पनि जनसंख्यामा कुनै पनि समयमा कति महिला गर्भवती हुने सम्भावना रहन्छ भन्ने मानक जनसांख्यिकीय अनुपातका आधारमा निकालेका हौं,’ नेपालका लागि यूएनएफपीएका प्रतिनिधि श्रीराम हरिदासले भने । यूएनएफपीएले घुम्ती स्वास्थ्य टोलीमार्फत गर्भपूर्व तथा प्रसवपछिको स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको छ। संस्थाले २ हजार डिग्निटी किट, ८ सय किशोरी किट र ३ सय त्रिपाल आपत्कालीन आश्रयका लागि पठाएको छ । थप ३२ वटा प्रजनन स्वास्थ्य किट परिचालनका लागि तयारी अवस्थामा छन्। तर महिलाको संख्या थाहा पाउनु र उनीहरूसमक्ष सेवा पुर्याउनुबीच आकाश–जमिनको अन्तर छ । ‘कुनै महिलालाई पहिचान गर्नु आधा काम मात्र हो,’ हरिदास भन्छन्, ‘तत्काल सहायता आवश्यक पर्दा कहाँ जाने भन्ने ती महिलालाई थाहा हुनुपर्छ । त्यहाँसम्म पुग्ने प्रभावकारी प्रणालीले पनि काम गरिरहेको हुनुपर्छ । ’
व्यावसायिक दायरा बढाउन मीनबहादुरका ३ कम्पनी, साढे १० अर्ब ऋण
काठमाडौं । मीनबहादुर गुरुङको नाम आउनेबित्तिकै धेरैको दिमागमा भाटभटेनी सुपरमार्केटको तस्बिर आउँछ । तर, गुरुङको व्यावसायिक साम्राज्य अब सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा मात्र सीमित छैन । पछिल्ला केही वर्षमा उनले लगानीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै नयाँ कम्पनीमार्फत आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएका छन् । गुरुङको लगानी तथा प्रवर्द्धनमा पछिल्लो तीन वर्षमा तीन वटा लगानी कम्पनी स्थापना भएका छन् । भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रालि, श्रीवृद्धि होल्डिङ कम्पनी प्रालि र श्रीनिवास होल्डिङ कम्पनी प्रालिमार्फत उनको लगानी जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा आतिथ्य, घरजग्गा र सेयर बजारसम्म पुगेको छ । भाटभटेनी इन्भेस्टमेन्टः सन् २०२४ जनवरीमा स्थापना भएको भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रालि मीनबहादुर गुरुङ, उनका परिवारका सदस्य तथा भाटभटेनी समूहसँग सम्बन्धित संस्थाहरूको प्रवर्द्धनमा स्थापना भएको लगानी कम्पनी हो । कम्पनीमा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर प्रालिको सबैभन्दा ठूलो २० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङ हुन् । भाटभटेनी इन्भेस्टमेन्टको लगानी जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा आतिथ्य, घरजग्गा र सूचीकृत सेयरलगायत क्षेत्रमा रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको कुल लगानीमध्ये करिब ५९ प्रतिशत हिस्सा सूचीकृत नभएका कम्पनीको सेयरमा रहेको थियो । कम्पनीले लगानी गरेका अधिकांश परियोजना अझै निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन परियोजनामा ठूलो लगानी रहेकाले तत्काल प्रतिफल प्राप्त हुने अवस्था कमजोर छ । परियोजना निर्माणमा ढिलाइ भए लगानीबाट आम्दानी सुरु हुने समय पनि पछाडि धकेलिन सक्छ । साथै, यस्ता लगानीलाई तत्काल नगदमा परिणत गर्न कठिन हुने भएकाले कम्पनीको तरलतामाथि समेत दबाब पर्न सक्छ । कम्पनीको करिब ३९ प्रतिशत लगानी सूचीकृत कम्पनीको सेयरमा रहेको छ । यस्तो लगानी आवश्यकता पर्दा बिक्री गरेर नगदमा परिणत गर्न तुलनात्मक रूपमा सहज भए पनि सेयर बजारको उतारचढावका कारण लगानीको मूल्य र आम्दानीमा अस्थिरता आउन सक्छ । कम्पनीले सूचीकृत सेयरतर्फको लगानी हाल नाममात्रको घाटामा रहेको जनाएको छ । बाँकी लगानी घरजग्गामा रहेको छ, जसबाट भाडामार्फत आम्दानी गर्ने उद्देश्य राखिएको छ । भाटभटेनी सुपरमार्केटका शाखाले प्रयोग गर्ने गरी भाडामा दिइएको जग्गाबाट कम्पनीले भाडा आम्दानी गर्दै आएको छ । यस्तो आम्दानी तुलनात्मक रूपमा स्थिर भए पनि कम्पनीको कुल आम्दानीमा यसको हिस्सा न्यून रहेको छ । स्थापना भएको आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । तर, आम्दानीसँगै ऋणको आकार पनि ठूलो छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये ३ अर्ब ४४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । श्रीवृद्धि होल्डिङः सन् २०२५ मार्चमा स्थापना भएको श्रीवृद्धि होल्डिङ कम्पनी प्रालि लगानी होल्डिङ कम्पनीका रूपमा सञ्चालनमा रहेको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौं महानगरपालिका-५ मा रहेको छ । कम्पनीले घरजग्गा विकाससँगै अन्य अल्पकालीन लगानीका गतिविधि गर्ने उद्देश्य राखेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङको ६० प्रतिशत स्वामित्व रहेको छ भने उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको सम्पूर्ण स्वामित्व गुरुङ परिवारमा रहेको छ । श्रीवृद्धिको संगठनात्मक तथा सञ्चालन प्रणाली अझै विकासकै क्रममा रहेको छ । कम्पनीमा लगानीसम्बन्धी छुट्टै जनशक्ति पनि सीमित रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीको करिब ७७ प्रतिशत बैंकिङ क्षेत्रमा केन्द्रित थियो । त्यसमध्ये करिब ४६ प्रतिशत लगानी एउटै कम्पनीको सेयरमा रहेको जनाएको छ । यसले कम्पनीलाई बैंकिङ क्षेत्रसँग सम्बन्धित जोखिमसँगै एउटै कम्पनीमा लगानी केन्द्रित हुँदाको जोखिममा समेत राखेको छ । लगानी गरिएको प्रमुख कम्पनीको वित्तीय प्रदर्शन कमजोर भएमा त्यसको प्रत्यक्ष असर श्रीवृद्धिको लगानी तथा आम्दानीमा पर्न सक्छ । श्रीवृद्धिको पुँजी संरचना पनि ऋणमा आधारित छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीले दोस्रो बजारमा सेयर खरिद गर्न बैंक कर्जाको प्रयोग गर्दै आएको छ । संस्थागत लगानीकर्ताका लागि मार्जिन प्रकृतिको कर्जामा लगाइएको सीमा खुकुलो हुनु तथा ब्याजदर तुलनात्मक रूपमा कम रहनुले सेयर बजारमा लगानी विस्तारका लागि अनुकूल वातावरण बनेको छ । तर, थप लगानी पनि ऋणबाटै गरिएको अवस्थामा निकट तथा मध्यम अवधिमा कम्पनीको ऋण-पुँजी अनुपात उच्च रहन सक्ने जोखिम रहेको जनाएको छ । श्रीवृद्धिको आम्दानी मुख्यतः लगानीबाट हुने प्रतिफलमा निर्भर छ । यसमा सेयर बिक्रीबाट हुने पुँजीगत लाभ तथा लाभांश आम्दानी प्रमुख छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २६ करोड रुपैयाँ आम्दानी गरेको छ । श्रीनिवास होल्डिङः सन् २०२५ मार्चमा स्थापना भएको श्रीनिवास होल्डिङ कम्पनी प्रालि पनि लगानी कम्पनीका रूपमा सञ्चालनमा आएको हो । कम्पनीले घरजग्गा विकाससँगै अन्य अल्पकालीन लगानीका गतिविधि गर्ने उद्देश्य राखेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङको ६० प्रतिशत स्वामित्व रहेको छ भने उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको सम्पूर्ण स्वामित्व गुरुङ परिवारमा रहेको छ । श्रीनिवासको सञ्चालन अनुभव सीमित छ र कम्पनीको संगठनात्मक तथा सञ्चालन संरचना अझै विकासकै क्रममा रहेको छ । हाल कम्पनीको सम्पूर्ण लगानी सूचीकृत सेयरमा रहेको छ । त्यसैले कम्पनीको आम्दानी, नाफा तथा समग्र वित्तीय अवस्थामाथि दोस्रो बजारको उतारचढावको प्रत्यक्ष प्रभाव पर्न सक्छ । कम्पनीको लगानी जलविद्युत् क्षेत्रमा अत्यधिक केन्द्रित रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीको करिब ७२ प्रतिशत जलविद्युत् क्षेत्रमा रहेको थियो । त्यसमध्ये करिब ६९ प्रतिशत लगानी एउटै कम्पनीको सेयरमा रहेको छ । यसले कम्पनीलाई जलविद्युत् क्षेत्रको जोखिमसँगै एउटै कम्पनीमा लगानी केन्द्रित हुँदाको उच्च जोखिममा राखेको जनाएको छ । एउटै कम्पनीको सेयर मूल्य वा वित्तीय प्रदर्शनमा ठूलो परिवर्तन आएमा त्यसको असर कम्पनीको समग्र लगानीमा प्रत्यक्ष पर्न सक्छ । यस्तो जोखिमको असर लगानीमा देखिनसमेत थालेको छ । कम्पनीको कुल लगानीमा करिब १२ प्रतिशत घाटा रहेको थियो । यस्तो घाटाको मुख्य कारण सबैभन्दा ठूलो लगानी रहेको कम्पनीको सेयरमा भएको करिब २२ प्रतिशत नोक्सानी रहेको जनाएको छ । प्रवर्तकसँगको सम्बन्धका कारण श्रीनिवास होल्डिङले सूचीकृत सेयरमा लगानी गर्न उल्लेख्य ऋण जुटाउन सकेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको कुल वित्तीय स्रोतमा बैंक कर्जाको हिस्सा करिब ५२ प्रतिशत रहेको थियो । कम्पनीले विभिन्न बैंकबाट २ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । त्यस्तै, कुल वित्तीय स्रोतको करिब ३७ प्रतिशत हिस्सा ब्याज नलाग्ने प्रवर्द्धक ऋणबाट समर्थित थियो । तीन कम्पनीका एउटै चुनौती भाटभटेनी इन्भेस्टमेन्ट, श्रीवृद्धि र श्रीनिवासको लगानी क्षेत्र फरक भए पनि तीनै कम्पनीमा केही समान जोखिम देखिन्छन् । तीनै कम्पनीको सञ्चालन इतिहास छोटो छ, लगानीबाट हुने आम्दानीमा निर्भरता उच्च छ र लगानी विस्तारमा बैंक तथा प्रवर्द्धक ऋणको प्रयोग भएको छ । भाटभटेनी इन्भेस्टमेन्टमा निर्माणाधीन परियोजनामा ठूलो लगानी, सूचीकृत नभएका कम्पनीको सेयरमा उच्च हिस्सा र उच्च ऋण मुख्य जोखिम हुन् । श्रीवृद्धिमा बैंकिङ क्षेत्रमा ७७ प्रतिशत लगानी र एउटै कम्पनीमा ४६ प्रतिशत लगानी केन्द्रित हुनु प्रमुख जोखिम हो । श्रीनिवासमा भने जलविद्युत् क्षेत्रमा ७२ प्रतिशत र एउटै कम्पनीमा ६९ प्रतिशत लगानी केन्द्रित हुनुका साथै लगानीमा देखिएको घाटाले जोखिम थप बढाएको छ । भाटभटेनी समूहसँगको सम्बन्ध भने यी कम्पनीका लागि सकारात्मक पक्ष हो । नेपालभर फैलिएको भाटभटेनी सुपरमार्केटको सञ्जाल, विभिन्न क्षेत्रमा रहेको व्यावसायिक उपस्थिति तथा मीनबहादुर गुरुङको व्यावसायिक अनुभवले यी कम्पनीलाई लगानीका अवसर र ऋणमा पहुँच विस्तार गर्न सहयोग गरेको देखिन्छ । तर, प्रवर्द्धक समूहको बलियो पृष्ठभूमि मात्रले लगानी कम्पनीको दीर्घकालीन वित्तीय सफलता सुनिश्चित गर्दैन । अन्ततः ऋणको साँवा-ब्याज तिर्न पर्याप्त नगद प्रवाह, लगानीमा जोखिमअनुसारको उचित प्रतिफल र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक हुन्छ ।
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । काेशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भूभागका धेरै स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।