३ दिनमा काठमाडौं भित्रियो ८७ हजारभन्दा सिलिण्डर, ग्यास अभाव कायमै
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौं भित्र्याइएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौं ल्याइएको हो । यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ । यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौं भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ । अहिले पनि ग्यास अभाव भने कायमै छ । सहजै ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
‘विपदमा १५–१६ हेलिकोप्टर निरन्तर परिचालन, थप २० वटा स्ट्यान्डबाईमा छन्’
भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले १ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन छन् । बाढीपहिरोले सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार र राहतमा चुनौती थपिएको छ । यस्तो अवस्थामा उद्धार, राहत तथा आवतजावतका लागि हेलिकप्टरको भूमिका महत्त्वपूर्ण बनेको छ । विपद्को समयमा हेलिकप्टरले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशीसँग विकासन्युजकर्मी बविता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश : विपद्को समयमा निजी वायुसेवा तथा हेलिकोप्टर कम्पनीहरू उद्धार र राहतमा कत्तिको सक्रिय छन् ? अहिले हामीले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई हेलिकोप्टर उपलब्ध गराइरहेका छौं । दैनिक रूपमा उहाँहरूको माग आउँछ र सोहीअनुसार हेलिकप्टरको व्यवस्था गरिरहेका छौं । अहिले विशेषगरी शव व्यवस्थापन, उद्धार र राहतका लागि हेलिकप्टर प्रयोग भइरहेको छ । टनेल क्षेत्रमा पनि उद्धारका लागि हेलिकोप्टर परिचालन भइरहेको छ । अहिले कति संख्यामा हेलिकप्टर सक्रिय छन् ? अहिले निजी क्षेत्रका करिब ११ वटा हेलिकप्टर सक्रिय रूपमा प्रयोग भइरहेका छन् । अन्य हेलिकप्टर पनि तयारी अवस्थामा छन् । प्रभावित क्षेत्रमा अझै हवाई उद्धारको आवश्यकता कति छ ? हेलिकप्टर पर्याप्त मात्रामा छन् त ? अहिले उद्धार तथा राहतका लागि रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत काम भइरहेको छ । नेपाल सरकारको विपद् प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर सेन्टरले आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिरहेको छ । विभिन्न माध्यमबाट आएका उद्धारका अनुरोधलाई मूल्याङ्कन गरेर दोहोरो नपर्ने गरी पालैपालो हेलिकप्टर उडाउने व्यवस्था गरिएको छ । प्रत्येक कम्पनीको कम्तीमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । हामीले ‘डेडिकेटेड वे’ मार्फत हरेक बिहान मागअनुसार ११–१२ वटा हेलिकोप्टर कम्पनीबाट एक–एकवटा हेलिकप्टर छुट्याएर उपलब्ध गराउँदै आएका छौं । माग बढेको अवस्थामा थप हेलिकप्टर उपलब्ध गराउन अन्य हेलिकप्टर पनि स्ट्यान्डबाइमा राखेका छौं । हेलिकप्टरको अभाव नहुनुपर्ने हो । किनभने अहिले निजी क्षेत्रमा ३६ वटा हेलिकोप्टर छन्, जसमध्ये दुई–तीनवटा मर्मतमा होलान् । करिब ३२ वटा हेलिकोप्टर सञ्चालनमा छन् । समस्या हेलिकप्टर नपुगेर भन्दा पनि उद्धारको आवश्यकता र सूचना सम्बन्धित निकायसम्म समयमै नपुग्दा हुन सक्छ । सञ्चार सञ्जाल पनि राम्रो नभएकाले माग आएर मात्रै स्वतः हेलिकप्टर पुग्ने अवस्था हुँदैन । हामीले १५/१६ वटा हेलिकप्टर अनवरत रूपमा परिचालन गरिरहेका छौं । बाँकी २० वटा हेलिकप्टर पनि हामीले माग आउँदा परिचालन गर्ने भनेर यही काठमाडौमा स्ट्यान्डबाइमा राखेका छौं । अझ अहिले चार्टर फ्लाइट पनि खुला गरेका छैनौं । विपद् प्रभावित क्षेत्रबाहेक अन्य ठाउँबाट उद्धारको माग आएमा पनि पहिले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई जानकारी गराउँछाैं । उनीहरूको स्वीकृतिपछि मात्रै उडान गर्ने गरेका छौं । त्यसैले अहिले हेलिकप्टरको अभाव छ जस्तो मलाई लाग्दैन । अहिले उद्धार तथा राहतमा खटिएका निजी हेलिकप्टरले छुट्टै शुल्क लिने व्यवस्था छ ? अहिले आरसीसीबाट आएका साइटहरूमा हुने सबै उडान सरकारले नै व्यवस्थापन गरिरहेको छ । भुक्तानीको पक्ष पनि सरकारकै हो । त्यसबाहेक राहतका लागि कसैले आफ्नै हिसाबले उडान गर्नुपरेमा पनि हामीले सरकारलाई जानकारी गराएर गर्ने गरेका छौं । तर प्रभावित क्षेत्र भूगोल र एरिया स्पेसका हिसाबले सानो भएकाले धेरै उडान गर्दा उद्धार कार्यमै समस्या हुन सक्छ । त्यसैले त्यस्ता उडानहरू कमै गरिरहेका छौं । अन्य व्यक्तिले भुक्तानी गर्ने सर्तमा पनि हामीले खासै त्यतातिर उडान गरेका छैनौं । हाम्रो पहिलो प्राथमिकता सरकारको आरसीसीअन्तर्गत रेस्क्यु कोअर्डिनेसनकै कामलाई दिइरहेका छौं । कुनै कुनै फाटफुट रूपमा एक–दुईवटा हेलिकप्टर कम्पनीले त्यस्तो काम गरिरहेका छन् । नेपाल सरकारको प्राथमिकताभन्दा छुट्टै, कसैले आफ्नै इच्छाले प्रभावित क्षेत्रमा गएर अवस्था बुझ्ने वा खोजी गर्ने काम पनि हुन सक्छ । उद्धार अपरिहार्य नभए पनि कसैको मन शान्तिका लागि एकपटक गएर हेर्ने क्रममा खोजी कार्यमा सहयोग पुग्न सक्छ । त्यो काममा पनि हेलिकप्टर प्रयोग भइरहेको छ । अर्को राहत वितरणसम्बन्धी काममा । व्यक्तिगत रूपमा लगिएको राहतले मात्रै पर्याप्त हुँदैन । तर व्यक्तिगत पहलमा राहत पुर्याउन चाहनेहरू पनि हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूले खर्च आफै बेहोर्ने गरी अनुरोध गरेमा हामीले आरसीसीसँग समन्वय गर्छौं । त्यहाँको फ्लाइट मुभमेन्टमा असर नपर्ने र उद्धार तथा राहतको काम प्रभावित नहुने अवस्था भए आरसीसीले अनुमति दिन्छ । त्यसपछि हामी त्यस्ता उडान पनि सञ्चालन गर्छौं । विपद्को समयमा उद्धार समन्वयमा कुनै प्रशासनिक समस्या वा चुनौती भोग्नुपरेको छ ? जटिलता धेरै छ । प्राविधिक चुनौती पनि छन् । सानो एयर स्पेसमा धेरै हेलिकप्टर उडाउनुपरेकाले पाइलटहरूलाई पनि केही तनाव हुन्छ । उद्धारको काम आफैमा संवेदनशील हुने भएकाले थप सावधानी अपनाउनुपर्छ । एयर ट्राफिक पनि बढी छ । त्यसमाथि अहिले बाढी प्रभावित क्षेत्रमा शवहरू कुहिन थालेकाले त्यसले पनि चुनौती थपेको छ। हामीलाई सबैभन्दा चिन्ता प्रभावित क्षेत्रमा खटिएका साथीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्छ कि भन्ने हो । उहाँहरूले त्यस्तो कठिन अवस्था सामना गर्दै पनि निरन्तर काम गरिरहनुभएको छ । त्यसका लागि धन्यवाद दिनुपर्छ । त्यहाँ खानेकुरा र सरसफाइको अवस्था पनि निकै कठिन छ । दुर्गन्धित वातावरणका कारण खाना खानसमेत समस्या भइरहेको छ । बिहान प्रभावित क्षेत्रमा गएका कर्मचारीहरू बेलुकासम्म आइपुग्दा निकै थकित र कमजोर भएर फर्किने अवस्था छ । विशेषगरी स्यानिटेसनको अवस्था झनै चुनौतीपूर्ण छ । तर पनि यो विपत्तिको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सक्दो काम गरिरहेका छन् । अहिले भौगोलिक अवस्था नै परिवर्तन भएको छ । बाढीग्रस्त क्षेत्रमा ल्याण्ड गर्दाअहिले धेरै जसो बाढी ग्रस्त क्षेत्र भएकाले त्यो पनि अन्दाज गर्दै उडान गर्नुपरेको छ । ग्राउन्डमा खटिएका साथीहरूलाई झनै गाह्रो छ । विपद्ग्रस्त क्षेत्र, मानिसको मृत्यु भएको ठाउँ र त्यहाँको अवस्था देख्दा नै विक्षिप्त बनाउने खालको छ । यस्तो अवस्थामा बिहानदेखि बेलुकासम्म निरन्तर खटिनुपर्दा उहाँहरूलाई निकै कठिन भइरहेको छ । लगातार उद्धार उडान गर्दा हेलिकोप्टर कम्पनीहरूलाई आर्थिक भार कत्तिको पर्छ ? अहिलेको यो विपद्को घडीमा हामीले आर्थिक पक्षलाई हेरेका छैनौं । आर्थिक भार त पर्छ नै । हामीले पनि तत्कालै नगद प्रवाह व्यवस्थापन गर्नुपर्ने हुन्छ । इन्धनकै पैसा १५–१५ दिनमा तिर्नुपर्छ । त्यो बिल हामीले भुक्तानी गर्न सकेनौं भने भोलिपल्टदेखि इन्धन नै नपाउने अवस्था हुन्छ। प्रत्येक उडानसँगै जहाजका केही कम्पोनेन्ट बिग्रने र पार्टपुर्जा रिप्लेस गर्नुपर्ने हुन्छ । पार्टपुर्जाले यो विपद्को समय हो भनेर बुझ्दैन, समयमै रिप्लेस गर्नैपर्छ । त्यसले गर्दा आर्थिक दबाब त पर्छ नै । अहिले पाँच–सात दिनदेखि लगातार उडान भइरहेकाले सबैको मर्मतसम्भारको साइकल पनि आइरहेको छ । तर अहिले हामी आर्थिक दवावभन्दा माथि उठेर काम गरिरहेका छौं । अहिलेको विपद्को समयमा संघको धारणा के छ ? अहिलेको समय देशकै लागि चुनौतीपूर्ण अवस्था हो । सबै मिलेर विपदमा परेका नागरिकको कसरी उद्धार गर्न सकिन्छ र आ–आफ्नो ठाउँबाट कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । टिमुरे, स्याफ्रुबेँसीलगायतका ठाउँमा हामीले नियमित रूपमा काम गर्दै आएका छौं । त्यहाँका साथीभाइ नै पीडित हुँदा हामीलाई पनि दुःख लाग्छ । त्यसैले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं भन्ने मेरो अनुरोध पनि छ ।
गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै
काठमाडौं । गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ । गुल्मीमा पुस्तौंदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उद्योगका सञ्चालक इन्दिरा भण्डारीले जानकारी दिइन् । गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् । उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ । रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हंसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । ‘गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौं,’ उनले भनिन् । विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय सहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् । दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ । भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसायमात्र नभई गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुर्याउने प्रयास पनि हो । गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहित देखिएका छन् । स्थानीय उपभोक्ता घना भुसालले गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्नसक्ने बताइन् ।
गगन र शेखरबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र सभापति गगनकुमार थापाबीच आइतबार (आज) भेटवार्ता भएको छ । दुई नेताबीच आज अपरान्ह १२ः३० बजे सुरु भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेटका क्रममा नेता कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसभित्रको एकताका लागि आफू आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको कोइरालाले स्पष्ट पारेको थपलियाले बताए । उनले पार्टीभित्रका मतभेद र असमझदारीलाई संवादमार्फत समाधान गर्दै कांग्रेसलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएको थपलियाले जानकारी दिए ।उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा दुवै नेता सकारात्मक देखिएका छन् । यसैगरी, भेटमा यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो । दुई नेताबीच रसुवासहित नुवाकोट र धादिङको पछिल्लो अवस्था, बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाका विषयमा समेत कुराकानी भएको थियो । कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका बीच भएको शेखर–गगन भेटवार्तालाई पार्टीभित्रको असमझदारी कम गर्दै एकताको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीब्रता दिइएको छ । गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो । सडक विभागका अनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीद्वारा भइरहेको छ । नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ । मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ । देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ । सडक मर्मत सम्पन्न भई यातायात पुनः सुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा, केही समयमै यातायात सुचारु हुने
काठमाडौं । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तीव्र रूपमा काम भइरहेको छ । राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ । पहिरो पन्छाउने क्रममा सडक छेउमा रहेका विद्युतीय पोलहरूलाई सुरक्षित राख्दै विशेष सावधानीका साथ कार्य अघि बढाइएको छ । विद्युतीय पूर्वाधारमा क्षति नपुगोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले सतर्कता अपनाउँदै पहिरो हटाउने कामलाई प्राथमिकता दिएको हो । संवद्ध अधिकारीहरूका अनुसार हाल सडकको ट्र्याक खोल्ने कार्य लगभग सम्पन्न भइसकेको छ । यदि प्राकृतिक रूपमा थप पहिरो नखसेको खण्डमा केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सुचारु हुने बताइएको छ । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन र यात्रुहरू सडक खुल्ने प्रतीक्षामा रहेका छन् । –न्युज एजेन्सी नेपाल
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन् । मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
मृतकको संख्या १ हजार ३ सय ४९ पुग्यो, ५ हजार बढी बेपत्ता
काठमाडौ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १९ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीपहिरोमा परी रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२० र चितवनमा ३६२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । यस्तै, विभिन्न जिल्लाबाट करिब ४ हजार १९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवा र नुवाकोटमा मात्रै ठूलो संख्यामा नेपाली नागरिक सम्पर्कविहीन रहेको तथा विदेशी नागरिक र सुरक्षाकर्मीरकर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । हालसम्म १३ हजार ९०४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ६७४ जनाको उद्धार गरेका छन् । उद्धारका क्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत १७३ पटक उडान गरेको छ भने काठमाडौंका विभिन्न क्षेत्रबाट निजी क्षेत्रमार्फत पनि १२९ वटा उडान भएको विवरणमा उल्लेख छ । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०४ रहेको छ । बाढीपहिरोबाट घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनामार्फत ३ हजार २९७ जना तथा सशस्त्र प्रहरीबाट २ हजार ४६२ जनाले स्वास्थ्य उपचार पाएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६५२ जना राखिएको प्राधिकरणले जनाएको छ। सुरक्षातर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै, काठमाडौंस्थित विभिन्न स्थानबाट ५३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत पनि राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्तिलाई समेत प्राथमिकता दिइएको छ । हाल डिजेल ४७ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको विवरणमा उल्लेख छ ।