बाढी गएको १३ औं दिनमा १३ सय बढीको शव फेला
काठमाडौं । रसुवाको बाढीले बगाएर हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट बाढी बगाएर ल्याएको अवस्थामा १ हजार ३५६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार ५३० पुरुष, महिला ३२९ महिला, आशिंक अंग ४९७ र १ हजार ३४८ जनाको शव मुचुल्का भइसकेको छ । ९८ शव मृतकका आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । १ हजार २८० शवको डिएन परीक्षण गरिएको र १ हजार २९० मृतकका आफन्तको शवको डिएनए संकलन गरिएको छ । कुल २ हजार ५७० को डिएनए परीक्षण गरिएको छ । १ हजार ४४ जनाको शव जमिनमुनी राखिएको प्रहरीले जनाएको छ ।
सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।
भोटेकोशीको बाढीलाई लिएर भिडियो बनाइ खुसी मनाउने मडै पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत सामाजिक सहिष्णुतामा आघात पुर्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शनिवार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर उनले जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने किसिमको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकको रिल्समार्फत गरेका थिए । ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा भिडियो सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेपछि ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो। पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
बाढीपीडितका लागि सङ्कलित राहत सामग्रीमै लापरवाही, म्याद गुज्रिएका खाद्यान्न भेटिए
काठमाडौं । विपत्तिको समयमा बाढीपीडितका लागि सङ्कलन गरिएका राहत सामग्रीमै ठूलो लापरवाही र गैरजिम्मेवारीपन देखिएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पठाउन लागिएका खाद्यान्न न्यून गुणस्तरका तथा म्याद नाघेका भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंले राहत सङ्कलन तथा भण्डारण केन्द्रमा कडाइ गरेको छ । विभाग र डिभिजन कार्यालयको टोलीले राजधानीका पाँच मुख्य राहत सङ्कलन तथा भण्डारण स्थलमा आकस्मिक अनुगमन गर्दा केही स्थापित निकायमा समेत उपभोग्य मिति सकिएका खाद्य सामग्री भेटिएका हुन् । अनुगमनका क्रममा बुटवलस्थित गिरिधारी फुड प्रोडक्टको २१ बोरा भुजाको म्याद गुज्रिएको भेटिएपछि त्यसको बिक्री तथा वितरण रोक्दै छुट्टै ‘एक्सपायर्ड जोन’मा राख्न लगाइएको विभागले जनाएको छ । त्यस्तै, प्रहरी तालिम केन्द्र सामाखुसीमा राहतका लागि राखिएका चोकोफन र पाँच केजीका चक्की आटासमेत म्याद नाघेको अवस्थामा भेटिएको थियो। दुई दिन मात्र म्याद बाँकी रहेका ५९ प्याकेट दालमोठ पनि प्रभावित क्षेत्रमा नपठाउन निर्देशन दिइएको छ । राधास्वामी सत्सङ्ग केन्द्र, सामाखुसीमा राखिएको २५ केजीको उसिना चामलको उपभोग्य मिति सकिएको पाइएपछि तत्काल हटाइएको छ । यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा राखिएका फोर्टिफाइड चामल, मुसुरो दाल र सूर्यमुखी तेलको लेबल तथा उपभोग्य मिति भने सही र दुरुस्त अवस्थामा पाइएको विभागले जनाएको छ । त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट राहतस्वरूप प्राप्त चक्की आटा, चिया, चिनी, चामल, चना, चिउरा, नुन, तेल तथा मसलाको अवस्था पनि सन्तोषजनक पाइएको छ । विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा।बालकुमारी शर्माका अनुसार बाढीपीडितको स्वास्थ्यमा थप जोखिम नहोस् भन्ने उद्देश्यले राहत सङ्कलन केन्द्रमै पुगेर खाद्य सामग्रीको सूक्ष्म अनुगमन गरिएको हो । विभागले विपत्तिको संवेदनशील समयमा राहतको नाममा गुणस्तरहीन, अस्वस्थकर तथा म्याद गुज्रिएका खाद्य सामग्री वितरण नगर्न सबै सरोकारवालालाई सचेत गराएको छ । साथै, राहत सामग्रीको सङ्कलन, भण्डारण र वितरणमा ‘असल वितरण अभ्यास’का न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नसमेत विभागले निर्देशन दिएको छ ।
कृषि उद्यम प्रवर्द्धनका लागि राष्ट्रिय वाणिज्य बैंक र सुरक्षण कोषबीच सहकार्य
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषिकर्जा सुरक्षण योजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि काभ्रेपलाञ्चोक, जुम्ला, सुर्खेत, बाजुरा र कैलालीका ९ स्थानीय तहमा कृषिकर्जा सुरक्षण योजना सञ्चालन गरिने भएको छ । भदौ १८ गते टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा योजना सञ्चालन हुनेछ । योजनाअन्तर्गत दुई वर्षसम्म प्रत्येक स्थानीय तहमा ८ करोड रुपैयाँका दरले कुल १६ करोड रुपैयाँसम्म कृषिकर्जा लगानी गरिने व्यवस्था गरिएको छ । योजनामा प्रतिग्राहक न्यूनतम २ लाख ५० हजारदेखि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ भने कर्जाको अवधि सात वर्षसम्म रहनेछ । समझदारीपत्रअनुसार कर्जाको सुरक्षणका लागि ३० करोड रुपैयाँको सुरक्षण कोष स्थापना गरिनेछ । यसमा निक्षेप तथा कर्जा सुरक्षण कोषले १० करोड ५० लाख रुपैयाँ, ९ स्थानीय तहले प्रतितह ५० लाख रुपैयाँका दरले कुल ४ करोड ५० लाख रुपैयाँ र संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषमार्फत प्राप्त संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त कोषले १५ करोड रुपैयाँ योगदान गर्नेछ । दुवै संस्थाले योजनाले कृषि उद्यमशीलता विकास, उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रको दिगो तथा उत्थानशील विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । समझदारी कार्यक्रममा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रबन्धक विक्रान्त आचार्य, राष्ट्रिय वाणिज्य बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्वप्रकाश ज्ञवाली, उपप्रबन्धक राजन घिमिरेलगायत दुवै संस्थाका अधिकारीहरूको उपस्थिति रहेको थियो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म फैलिएका ३१६ शाखा कार्यालय र ३३५ एटिएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
महँगीले थिच्यो अभिभावकलाई, बालबालिकाको पढाइ खर्च जुटाउनै मुस्किल
काठमाडौं । सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा राजधानी दमास्कसका पुराना बजारहरूमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड लागेको छ । यद्यपि, देशको जर्जर आर्थिक अवस्था र बढ्दो महँगीका कारण आफ्ना बालबालिकाका लागि आवश्यक सामग्री जुटाउन अभिभावकहरूलाई निकै सकस भइरहेको छ । दमास्कसस्थित स्टेसनरी सामग्रीको मुख्य केन्द्र ‘अल–असरौनिया’ बजारमा भेटिएका स्थानीय बासिन्दा अबु मासाले बजारमा सामानको मूल्य अत्यधिक बढेको गुनासो गरे । उनले भने, ‘सामानहरू निकै महँगा छन् र मानिसहरूसँग पर्याप्त रकम छैन । हामीले खर्च कटौती गर्न जेठी छोरीको पुरानो झोला कान्छी छोरीलाई दिने निर्णय गरेका छौँ र केवल एउटा नयाँ झोला मात्र किन्दैछौँ ।’ अर्का स्थानीय बासिन्दा फादीका अनुसार बजार मूल्य र सर्वसाधारणको आम्दानीबीच कुनै सन्तुलन छैन । धेरैजसो मानिसहरू बजारमा सामान हेर्न आए पनि खरिद गर्ने सामर्थ्य राख्दैनन् । ‘हामी एकैपटक सबै सामग्री किन्न सक्ने अवस्थामा छैनौँ, त्यसैले केवल तत्काल आवश्यक पर्ने सामान मात्र किन्दैछौँ,’ उनले भने । बजारको वर्तमान अनुमानअनुसार, एक प्राथमिक तहका विद्यार्थीका लागि आधारभूत स्टेसनरी सेटको मूल्य १ लाखदेखि २ लाख ५० हजार सिरियाली पाउन्ड (करिब ८ देखि १९ अमेरिकी डलर) सम्म पर्दछ । सिरियामा हाल न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५६० नयाँ सिरियाली पाउन्ड (करिब १०५ डलर) रहेको छ । यस तथ्याङ्कलाई हेर्दा, एउटा बच्चाको प्रारम्भिक शैक्षिक तयारीका लागि मात्रै अभिभावकको मासिक आम्दानीको २० देखि ५० प्रतिशतसम्म खर्च हुने देखिन्छ । स्टेसनरी व्यवसायी मोहम्मद खैर जकमकजीका अनुसार, गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै सुस्त छ । ग्राहकहरूले पहिले जस्तो पूर्ण सेट खरिद नगरी केवल अत्यावश्यक सामानहरू मात्र छानीछानी लैजाने गरेका छन् । विश्व बैंकको प्रतिवेदनअनुसार सिरियामा मुद्रास्फीति (महँगी दर) सन् २०२४ को ७२.१ प्रतिशतबाट घटेर सन् २०२५ मा ११.५ प्रतिशतमा झरेको छ । मुद्रास्फीतिमा केही सुधार देखिए पनि उच्च जीवनस्तर खर्च, कमजोर श्रम बजार र पुनर्निर्माणका चुनौतीहरूले गर्दा सर्वसाधारणको क्रयशक्ति अझै न्यून छ । यसैबीच, लामो समयको द्वन्द्व र विनाशपछि सिरियाको शिक्षा प्रणाली पुनरुत्थानको प्रक्रियामा रहेको छ । शिक्षा मन्त्रालयका अनुसार सन् २०२६ मा १ हजार ३७० विद्यालयहरूको पुनर्निर्माण गरिएको छ, जबकि ६ हजारभन्दा बढी विद्यालय अझै मर्मतको पर्खाइमा छन् । मन्त्रालयले उल्लेख गरेको युनिसेफको तथ्याङ्कअनुसार, करिब २४ लाख ५० हजार सिरियाली बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित छन् । विदेशबाट करिब ५ लाख बालबालिका स्वदेश फर्किएका कारण शिक्षा प्रणालीमा थप दबाब सिर्जना भएको छ । यस्तो अवस्थामा, सीमित बजेटका बीच आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सिरियाली परिवारहरूका लागि ठूलो चुनौती बनेको छ ।
मुक्तिनाथले जानकी फाइनान्स र सिन्धु विकास बैंक गाभ्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थालाई प्राप्ति गर्ने गरी बैंकले दुवै संस्थासँग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै एकआपसमा प्राप्ति गर्ने सहमति भएको बैंकले जनाएको छ । प्राप्ति प्रक्रियाका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउने क्रममा मुक्तिनाथ विकास बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरिएको बैंकका कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए । जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरेपछि मुक्तिनाथ विकास बैंकको व्यवसायिक आकार तथा शाखा सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि प्राप्ति प्रक्रिया पूरा हुन सम्बन्धित नियामक निकायको स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
बेनी हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।