सुरक्षाकर्मीको साहसलाई बालेनको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सुरक्षाकर्मीहरूको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

उनले कठिन परिस्थितिमा पनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूले लाखौं नागरिकको ज्यान रक्षा गर्न खेलेको भूमिकाको कदर गरेका हुन् । 

साथै प्रधानमन्त्री बालेनले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहका अनुसार बाढीका बेला नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा सुरक्षाकर्मीहरूले असाधारण कर्तव्यनिष्ठा प्रस्तुत गरेका थिए । 

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तटीय क्षेत्रतर्फ बढेपछि त्यहाँ तैनाथ ५२ जना सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित) ले दुईवटा भवनमा रहेका ९२३ जना कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए ।

लगत्तै त्रिशूलीको बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खाल ढाल्दै कैदीबन्दी राखिएका भवनहरूको पहिलो तलासम्म लेदो भरिदिएको थियो ।

त्यस विपद्को मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीलाई सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिन सफल भएका थिए। सो क्रममा भाग्न नपाएका कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते समेत भएका थिए ।

आफ्ना ब्यारेक र कार्यालय लेदोले पुरिएको, पहुँचमार्ग र खानेपानी संरचना ध्वस्त भएको अवस्थामा पनि खेतको आलीलाई बाटो बनाउँदै, टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने र स्थानीय बासिन्दाको समेत ज्यान जोगाउने काम सुरक्षाकर्मीहरूले गरेका थिए ।

बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जना मानिसहरूको सकुशल उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले आफ्ना सुरक्षाकर्मीहरूलाई सुरक्षित रूपमा कार्यक्षेत्रमा परिचालन गर्न मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट समन्वय भइरहेको पनि बताएका छन् ।

संकटको यस घडीमा सुरक्षाकर्मीहरूलाई काममा खटिन प्रेरित गर्ने तिनका घरपरिवार, साथै नेपाल र विदेशबाट सहयोगमा खटिएका विज्ञहरूप्रति पनि उनले कृतज्ञतासमेत व्यक्त गरेका छन् ।

 

Share News