बाढी प्रभावित जिल्लाहरूमा राहत तीव्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र  धादिङमा राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र बनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको आपत्कालीन छलफलपछि महासंघ अन्तर्गतका संस्थाहरू प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय भएका हुन् । 

अहिले महासंघभित्र आवद्ध ३० वटा संस्थाहरू विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ । 

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआईएन) का अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय, कम्बल, हाइजिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको छ ।

एआईएनको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागकी संयोजक डाक्टर सम्झना विष्टले प्रारम्भिक चरणको आपत्कालीन राहतपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श लगायत अन्य पुनस्थापनाका कामहरु शुरु गरिने जानकारी दिइन् ।

विभागिय मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारसँगको निरन्तरको छलफल र परामर्श पछि सरकारको प्राथमिकता भित्र रहेर दीर्घकालीन आर्थिक पुनर्निर्माणका काम अघि बढाउने गरि अध्ययन भइरहेको उनले जानकारी दिइन् ।

सरकारले अल्पकालीन राहतका साथै दीर्घकालीन पुनस्थापनका क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका निम्ति गठन गरेका सबै उपसमितिहरूमा एआइएनलाई सदस्यको रूपमा राखिएको छ । 

विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको एआइएनमा हाल एक सय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आवद्ध छन् । –न्युज एजेन्सी नेपाल

Share News