गृहमन्त्री गुरुङको पहलमा चुमनुब्री-४ मा बाढीपीडितका लागि राहत पठाइँदै

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन पहल गरेका छन् । 

आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाएका हुन् । 

नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ । छेवाङ दोर्जेको घरसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ ।

बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ । बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी दुवै विद्युत् प्रणालीमा क्षति पुगेको छ ।

चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ । हालसम्म मानवीय क्षति भएको छैन ।

प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ ।  

Share News