विकासन्युज

महासचिवलाई बैठक चलाउन नदिएपछि ओलीसँग कृष्णगोपालको भनाभन, गरे बैठक बहिष्कार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत केन्द्रीय कमिटी बैठक सञ्चालन गरेको भन्दै नेता कृष्णगोपाल श्रेष्ठले बैठक बहिष्कार गरेका छन् । सोमबार (आज) ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिएर अध्यक्ष ओली आफैले बैठक अघि बढाएपछि श्रेष्ठले आपत्ति जनाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले ओलीको कदमको विरोध गर्दै करिब एक घण्टा उभिएर असहमति जनाएका थिए । उनले अध्यक्ष ओलीलाई पार्टी विधानअनुसार बैठक सञ्चालन गर्न आग्रह गर्दै विधान पढ्न समेत भनेका थिए । त्यसक्रममा ओली र श्रेष्ठबीच भनाभनसमेत भएको ती नेताले बताए । असहमति जनाएका श्रेष्ठ केही समयपछि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा ओलीले आफै बैठक सुरु गर्नुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गर्दै प्रतिवेदनसमेत पेश गरेका थिए ।  महासचिवले बैठक सञ्चालन गर्ने पार्टीको अभ्यासविपरीत अध्यक्ष आफैले बैठक अघि बढाएको भन्दै श्रेष्ठले आपत्ति जनाएको एक नेताले जानकारी  दिए ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको विजेता

काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । सिद्धार्थ प्रिमियर भने उपविजेतामा सीमित भएको छ । सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीको उत्कृष्ट प्रदर्शन र रोमाञ्चक खेलका कारण प्रतियोगिता आकर्षक बनेको आयोजकले जनाएको छ । प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा मोबाइल एप पार्टनरको सहकार्यमा लाइभ स्कोर, खेलको नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो । बीमा क्षेत्रका कम्पनीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्सले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताले बीमा क्षेत्रमा खेलकुदमार्फत आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको छ ।

बस आगजनी भएको विषयमा छानबिन समिति गठन,  आजैदेखि काम थालनी

काठमाडौं  । त्रिपुरेश्वरमा बस आगजनी भएको विषयलाई लिएर प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेस बस्नेतको संयोजकमा छानबिन समिति गठन गरिएको हो । कार्यालयका प्रवक्ता गोविन्द थपलियाले काठमाडौंमा रहेका प्रहरी मातहतका कर्मचारीको संलग्नतामा समिति गठन गरिएको बताए ।  उनका अनुसार काठमाडौं प्रहरी परिसर, ट्राफिक कार्यालय, काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधिसहित समिति बनाइएको छ । ‘समितिले आजदेखि काम थालिसकेको छ,’ उनले भने, ‘चाँडो भन्दा चाँडोभन्दा समितिले काम गरेर सकाउनेछ ।’ समितिले अब बसमा आगजनी किन र कसरी भयो भन्ने विषयमा अध्ययन गर्ने उनले जानकारी दिए । अध्ययनपश्चात समितिले प्रतिवेदन बुझाउने थपलियाले बताए । सोमबार  त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका थिए ।   बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् । हाल उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।  उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।   सामाजिक सञ्जालमा चालक र ट्राफिक प्रहरीको विवाद भएको भिडियो अहिले भाइरल भइरहेको छ । किर्तिपुरस्थिति बर्न अस्पतालका चिकित्सक शंकरमान राईले चालक लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । ' शरीरको ९० प्रतिशत  भाग गहिरो भएर जलेको छ,’ उनले भने,’ उहाँको अवस्था चिन्ताजनक छ ।'

सुरु भयो यामाहा ‘ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकको अवसर

काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट–द बिगेस्ट एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । असोज १० गतेसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा सुरु भएको मेला ६ दिनसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, डिलर प्रतिनिधि तथा यामाहाप्रेमीहरूको सहभागिता रहेको थियो । मेलामा ग्राहकले यामाहाका विभिन्न स्कुटर तथा मोटरसाइकल अवलोकन र टेस्ट राइड गर्न सक्नेछन् । साथै, पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरेर नयाँ यामाहा खरिद गर्ने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । पुराना सवारीसाधनको मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिएको छ । ‘चंगा चेट’ अभियानअन्तर्गत योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक पाउने अवसरसमेत रहेको कम्पनीले जनाएको छ । ग्राहकलाई सवारीसाधन खरिदमा सहजता प्रदान गर्न नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ। यस्तै, ४० महिनासम्मको कम ईएमआई योजना पनि सञ्चालनमा रहेको छ । मेलामा टेस्ट राइडसँगै विभिन्न डोर प्राइज, निःशुल्क एसेसरिज तथा हाइटेक ग्याजेट जित्ने अवसर पनि रहेको छ । राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट तथा अन्तरक्रियाका कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत ग्राहकलाई पुरानो सवारीसाधन एक्सचेन्जदेखि नयाँ यामाहा खरिद गरी घर फर्किने अवस्थासम्मको प्रक्रिया सहज र लाभदायक बनाउने उद्देश्य रहेको बताए । यामाहा ‘ब्लू फेस्ट’ असोज १० गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने अध्यक्ष सिटौलाको दावी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातायात भाडा पनि नबढ्ने बताएका छन् । यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपालमा सरकारले चाडवर्पको समयमा मूल्य बढाउन नहुने बताएका हुन् ।  उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न नहुने बताए ।  राज्यले पेट्रोलियम पदार्थमा थप घाटा बेहोर्नुपर्ने अवस्था आएपनि कम्तीमा एक महिनासम्म मूल्यवृद्धिको भार उपभोक्तामाथि नथोपर्न उनले सरकारसँग आग्रह गरे ।  उनले भने, ‘आजको मितिबाट पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय क्षेत्रबाट बढेर आयो भने पनि नेपाल सरकारले बढाउन भएन, पेट्रोलियम पदार्थको मूल्यलाई जतिसुकै घाटा पर्छ, राज्यले एक महिना सहनुपर्छ । तर मूल्य बढेर नआओस् भनी कामना गर्छु । पेट्रोलियम पदार्थको मूल्य अब बढ्नु हुँदैन । पेट्रोलियम पदार्थको कुनैपनि किसिमको मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ ।’ सिटौलाले सरकारले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टर र सम्बन्धित व्यक्तिको नियमित अनुगमन आवश्यक रहेको बताए ।   बस, मिनीबस, माइक्रोबसलगायत सवारीसाधनको वर्गअनुसार सरकारले तोकेको भाडा नै लागू हुनुपर्नेमा उनले जोड दिए ।  उनले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन पनि आग्रह गरे । अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाए ।  प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ ।  उनले तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न सरकारसँग मागसमेत राखे ।  उनले अग्रिम टिकट बुकिङ खोल्ने मिति तोक्न हतार नभएको पनि बताए । सबै तयारी गरेर असोज १५ भित्र टिकट बुकिङको मिति घोषणा गर्ने उनको भनाइ छ ।

रोयल इन्फिल्ड नेपालको ‘वन राइड’ सम्पन्न, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । एकैदिन देशका विभिन्न स्थानमा आयोजित राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ । काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभर रहेका रोयल इन्फिल्डका २२ वटा आधिकारिक डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमकै अवसरमा रोयल इन्फिल्ड नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले एसोसिएसनका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्रै सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोडेर अघि बढाउने उद्देश्य रहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कम्पनीका अनुसार ‘वन राइड’ को उद्देश्य देशभर रहेका रोयल इन्फिल्ड राइडर र राइडर समुदायलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदान–प्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो । रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर समुदायलाई मोटरसाइकल र राइडिङसँगै सामाजिक गतिविधिमा पनि जोड्दै आएको जनाएको छ । ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ ।

नेशनल लाइफको चेयरपर्सन क्लब सम्पन्न, ५६५ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट अभिकर्तालाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सञ्चालन गरेको हो । कार्यक्रममा लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।    कार्यक्रमको सुरुआत भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै र घाइते तथा बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एक मिनेट मौनधारण गरेर गरिएको थियो । चेयरपर्सन प्रेमराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले अभिकर्ता कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सीप, क्षमता र नेतृत्व विकासका लागि कम्पनीले निरन्तर लगानी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।   प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलताको परिणाम भएको बताए । उनले नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यवसायिक प्रतिबद्धतासहित अघि बढ्दै अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिइएको बताए ।   कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै नेपालभरबाट आफ्नो कोड र सञ्जालमा उत्कृष्ट व्यवसाय गर्ने प्रथम, द्वितीय र तृतीय अभिकर्तालाई सम्मान गरिएको थियो । यस्तै, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तालाई पनि विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।  कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमा क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको माध्यम बनाउन सकिने जोखिम भएकाले शंकास्पद कारोबारको निगरानी र कानुनी व्यवस्था पालना गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए । प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) लाई बीमा व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्नेबारे प्रयोगात्मक उदाहरणसहित प्रशिक्षण दिएका थिए । उनले ग्राहकसँग सम्पर्क, सामग्री निर्माण, व्यवसायिक योजना र सूचना व्यवस्थापनमा एआईको उपयोग गर्न सकिने बताए । त्यसैगरी प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा बीमा व्यवसाय विस्तारका लागि डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गर्दा कानुन तथा नियामकीय व्यवस्था पालना गरी सत्यतथ्य र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।   सम्मानित अभिकर्ताले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यवसायिक प्रदर्शन आवश्यक पर्ने भन्दै कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । वर्षभरको मेहनतको कदरस्वरूप प्राप्त सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको उनीहरूको भनाइ थियो ।

भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा विपद्को समग्र कारण र प्रभाव अध्ययन गर्न प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने सभामुख डोलप्रसाद अर्यालको प्रस्ताव सोमबार बसेको प्रतिनिधि सभा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । समिति गठनको प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले तत्कालीन जनधनको क्षतिसँगै बस्ती, पूर्वाधार र नदी किनारको समग्र जीवन प्रणालीमा गम्भीर प्रभाव पारेकाले यसलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिनुपर्ने बताए । समितिले विपद्को तत्कालीन कारणसँगै बाढीलाई तीव्र बनाउने प्राकृतिक तथा मानवीय कारकको अध्ययन गर्नेछ । विशेषगरी हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन, हिमनदीको अवस्था र त्यसको तल्लो तटीय क्षेत्रमा परेको जोखिमबारे वैज्ञानिक अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ । त्यस्तै, भोटेकोशी–त्रिशूली क्षेत्रमा भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको प्रभावकारिता, विपद् पूर्वतयारी तथा जोखिमयुक्त क्षेत्रमा बस्ती विकाससम्बन्धी नीतिगत सुधारका लागि समितिले सुझाव दिनेछ । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न, जलवायु न्याय तथा कार्बन उत्सर्जनबाट नेपालमाथि परेको असरका विषयमा समेत समितिले अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिन सक्नेछ । समितिमा डा. अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिड्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य छन् । समितिको कार्यावधि पहिलो बैठक बसेको मितिदेखि तीन महिनाको हुनेछ । उक्त अवधिभित्र अध्ययन पूरा गरी संसद्मा प्रतिवेदन पेस गर्नुपर्नेछ । कार्यादेशअनुसार समितिले आवश्यकताअनुसार विज्ञसँग परामर्श, स्थलगत अध्ययन तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्न सक्नेछ । अध्ययनका क्रममा आवश्यक देखिएमा समितिले आफ्नो मुख्य प्रतिवेदनअघि अल्पकालीन वा अन्तरिम प्रतिवेदनसमेत संसद्मा पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।