विकासन्युज

बुद्धसिंह मार्ग : करोडौँ बजेट, तर छैन निर्माणको गति

डुम्रे  । तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ । यो सडक निर्माणका लागि  सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ । तनहुँको मध्यपहाडी तथा चितवनसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको योजनाका रूपमा रहेको बुद्धसिंह मार्गलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले नमुना आयोजनाका रूपमा प्रस्तुत गर्दै आएका छन् । यद्यपि वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले गति लिन सकेको छैन । देवघाट गाउँपालिका–२ लुङ्ग्रीङका सुन्तला किसान नवराज गुरुङले बुद्धसिंह मार्ग ग्रामीण क्षेत्रलाई बजार र सदरमुकामसँग जोड्ने मुख्य सडक भए पनि निर्माणले गति नलिँदा किसानले सास्ती भोग्नुपरेको बताए। ‘जिल्लाको सबैभन्दा विकट मानिने देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने यो मुख्य सडक हो’, उनले भने, ‘हामीले उत्पादन गरेको सुन्तला बजारसम्म पुर्‍याउने प्रमुख मार्ग पनि यही हो । अन्य विकल्प सहज छैनन् । सडकको स्तरोन्नति नहुँदा ढुवानीमा समस्या भइरहेको छ ।’ देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्र सुन्तला उत्पादनको प्रमुख केन्द्र मानिन्छ । वार्षिक रूपमा उत्पादित सुन्तला घुमाउरो र कठिन बाटो हुँदै बजारसम्म पुर्‍याउनुपर्दा लागत बढ्ने गरेको कृषकको भनाइ छ । सडकको ट्र्याक खोल्ने अभियानका अगुवा तथा व्यास नगरपालिका–१३ बेलबास निवासी यामबहादुर आलेले सडकलाई कृषि मार्गका रूपमा अघि बढाइएकाले छिट्टै विकास हुने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन नसकेको बताए । 'त्यतिबेला छिटो विकास निर्माण हुने अपेक्षासहित कृषि मार्गका रूपमा ट्र्याक खोलिएको थियो”, उनले भने, 'अहिले हेर्दा राजमार्गका रूपमा अघि बढाइएको भए सायद छिटो विकास हुन्थ्यो कि जस्तो लाग्छ ।' उनका अनुसार देवघाट र ऋषिङका विभिन्न गाउँमा उत्पादित कृषिउपज बजारसम्म ल्याउन यही मार्ग महत्वपूर्ण भए पनि आवश्यक प्राथमिकता पाउन सकेको छैन । “यस मार्गको विकास हुन सके यहाँ उत्पादित खाद्यवस्तु र फलफूलले राम्रो बजार पाउने थिए,' उनले भने, 'तर किसानको समस्या नबुझ्दा गाउँबस्ती रित्तिँदै गएका छन् । अब त यस मार्गको कुरा उठ्नेबित्तिकै पारदर्शितामै प्रश्न उठ्ने गरेको छ ।' कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट गाउँपालिकाको कूल ३१८ हेक्टर खेतीयोग्य भूमिमध्ये २६१ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिन्छ । उक्त क्षेत्रबाट वार्षिक दुई हजार ६७२ मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ । 'बुद्धसिंह मार्ग निर्माण भए कृषकलाई उत्पादन विविधीकरण र बजार पहुँच विस्तारमा ठूलो सहयोग पुग्छ”, उनले भने, “हालसम्म बजेट विनियोजन भएको सुनिन्छ, तर त्यसअनुसारको निर्माण प्रगति देखिँदैन ।' तनहुँमा कूल एक हजार ६७० हेक्टर क्षेत्रफलमध्ये ९७७ हेक्टरमा व्यावसायिक सुन्तलाखेती गरिन्छ । उक्त क्षेत्रबाट वार्षिक ११ हजार ८२२ मेट्रिकटन सुन्तला उत्पादन हुने गर्दछ । जिल्लाको दोस्रो ठूलो सुन्तला उत्पादन क्षेत्रबाट ढुवानी हुने मुख्य सडक बुद्धसिंह मार्ग भए पनि निर्माण ढिलाइ किसानका लागि चुनौती बनेको छ । ऋषिङ गाउँपालिका, बन्दीपुरको तल्लो क्षेत्र, आँबुखैरेनीका विभिन्न गाउँ र देवघाटका बस्तीमा उत्पादित कृषि वस्तु तथा तरकारी बजारसम्म ल्याउन यो सडक महत्वपूर्ण मानिन्छ । स्थानीयका अनुसार सडकको अवस्था कमजोर हुँदा बिरामीलाई समयमै अस्पताल पुर्‍याउनसमेत कठिन हुने गरेको छ । कृषिउपज बजारसम्म पुर्‍याउन नसक्दा कतिपय उत्पादन खेर जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८२र८३ मा गण्डकी प्रदेश सरकारले बुद्धसिंह मार्ग तथा यससँग सम्बन्धित सडक स्तरोन्नति र विकासका लागि रु नौ करोड ४० लाख बजेट विनियोजन गरेको छ । विभिन्न खण्डमा तीनै तहका सरकारबाट बहुवर्षीय योजनाका रूपमा बजेट विनियोजन हुँदै आएको छ । वार्षिक विकास कार्यक्रमअनुसार समानीकरण अनुदानअन्तर्गत रु एक करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत पहिलो खण्डका लागि रु पाँच करोड छुट्याएको छ । बन्दीपुर–थारुबास–पावे–हल्थुम्का–ढाँडखोला–बुद्धसिंह मार्ग स्तरोन्नतिका लागि रु ४० लाख विनियोजन गरिएको छ । आँबुखैरेनी–भाँगे–छिम्केश्वरी सडकका लागि रु एक करोड तथा आँबुखैरेनी–भाँगे–छिम्केश्वरी–हिलेखर्क–बाहनभञ्ज्याङ पर्यटन मार्गका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । विभिन्न शीर्षकमा गरी प्रदेश सरकारबाट कूल रु पाँच करोड बजेट प्राप्त भएको देखिए पनि मुख्य सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन नभएको सरोकारवालाको भनाइ छ । विगतमा सङ्घीय सरकारबाट बजेट प्राप्त हुने गरे पनि पछिल्लो समय आयोजना प्रदेश सरकार मातहत सञ्चालन भइरहेको छ । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुष्मामा पाण्डेका अनुसार बजेट अभाव नै निर्माण ढिलाइको मुख्य कारण हो । 'वार्षिक रूपमा कम्तीमा रु १८ करोडदेखि २० करोडसम्म आवश्यक पर्छ,' उनले भनिन्, 'तर पर्याप्त बजेट नहुँदा ठेकेदार कम्पनीले आवश्यक गतिमा काम गर्न सकेको छैन ।' उनका अनुसार आयोजनाको म्याद एकपटक थप भइसकेको छ । विसं २०८२ जेठमा एक आर्थिक वर्षका लागि म्याद थप गरिएको थियो भने पुनःम्याद थपको तयारी भइरहेको छ । 'गत वर्ष करिब रु ७० लाख भुक्तानी हुन बाँकी रह्यो,' उनले भनिन्, 'रु ३४ करोडको योजनामा प्रत्येक वर्ष रु दुई–दुई करोड मात्रै विनियोजन हुँदा निर्माण सम्पन्न हुन लामो समय लाग्ने देखिन्छ ।' उनले पर्याप्त बजेट विनियोजन भए अस्फाल्ट डिजाइनअनुसार निर्माण कार्य छिटो सम्पन्न गर्न सकिने बताइन्। स्थानीय सिद्धान्त थापा गर्जा मगरका अनुसार मार्गलाई प्रदेश गौरव तथा रणनीतिक सडकका रूपमा प्रस्तुत गरिए पनि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । 'कतिपय खण्डमा ट्याक खुलेको छ,' उनले भने, 'तर स्तरोन्नति, कालोपत्रे र पुल निर्माणका काम अझै अधुरा छन् । न पुल निर्माणले गति लिएको छ, न सडकले ।' बुद्धसिंह मार्गको कालोपत्र तथा स्तरोन्नति कार्यका लागि सङ्घीय र गण्डकी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत रु ३४ करोड २७ लाख ५४ हजार ५६१ लागतमा ‘मैनाचुली–सफल जेभी’सँग सम्झौता गरिएको छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न खोजिएको यो सडकले दमौलीदेखि चितवनको घुमाउनेघाटसम्मको दूरी उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ । घुमाउनेमा त्रिशूली नदीमाथि पुल निर्माण भए हाल मुग्लिङ–आँबुखैरेनी–डुम्रे हुँदै प्रयोग गरिने मार्गभन्दा करिब २५ किलोमिटर दूरी छोटिने स्थानीयको भनाइ छ । हाल दमौलीबाट घुमाउनेघाटसम्म साना सवारीसाधन सञ्चालन भइरहे पनि पुल अभावमा ठूला सवारीसाधन सीमाक्षेत्रमै रोकिन बाध्य छन् । वित्तीय व्यवस्थापनमा देखिएका चुनौती खण्डीकृत बजेट प्रणालीले बुद्धसिंह मार्गमा सार्वजनिक वित्तीय व्यवस्थापनका दृष्टिले चुनौती सिर्जना गरेको देखिन्छ । एउटै सडकका विभिन्न खण्ड फरकफरक नाममा बजेटमा समावेश हुँदा वास्तविक लगानीको एकीकृत अभिलेख राख्न कठिन भएको छ । विनियोजित रकम, खर्च र भौतिक प्रगतिको विवरण नियमित रूपमा सार्वजनिक नहुँदा नागरिकस्तरको निगरानी प्रभावकारी बन्न सकेको छैन । बहुवर्षीय योजनामा निरन्तर बजेट थपिए पनि सम्पन्न हुने स्पष्ट समयसीमा नहुँदा लागत वृद्धि हुने जोखिम पनि रहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट छुट्टाछुट्टै बजेट विनियोजन हुँदा प्राथमिकता निर्धारण र कार्यान्वयनमा दोहोरोपन देखिने गरेको सरोकारवालाको भनाइ छ । बुद्धसिंह मार्गजस्ता रणनीतिक सडक आयोजनाको वार्षिक बजेट, खर्च र प्रगति विवरण सार्वजनिक गर्ने, आयोजना सूचना प्रणाली डिजिटल बनाउने, सामाजिक परीक्षण अनिवार्य गर्ने, सार्वजनिक सुनुवाइ नियमित सञ्चालन गर्ने तथा तीनै तहबीच एकीकृत आयोजना व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको छ । काम छ, गति छैन स्थानीयवासीका अनुसार सडकका केही भागमा ट्र्याक खुले पनि कालोपत्र, स्तरोन्नति र पुल निर्माणजस्ता मुख्य संरचनाको काम अझै अपुरो छ । बर्सेनि बजेट विनियोजन भए पनि एउटै खण्डमा निरन्तर काम सम्पन्न हुन नसक्नु मुख्य समस्या बनेको छ । स्थानीय यामबहादुर आलेका अनुसार योजना बारम्बार दोहोरिने, बजेट आउने तर अन्तिम परिणाम नदेखिने अवस्था रहेको छ । 'पूर्वाधार कार्यालयमा सोध्दा काम भइरहेको जवाफ आउँछ,' उनले भने, 'तर स्थलमा पुग्दा सुरुआती चरणमै सीमित देखिन्छ । अधुरो बजेट र अधुरो कामको चक्रले आयोजना लम्बिएको छ ।' स्थानीयका अनुसार बुद्धसिंह मार्ग दक्षिणी तनहुँको आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण पूर्वाधार हो । कृषि उत्पादन, पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक एवं धार्मिक स्थलसम्म पहुँच विस्तारका लागि पनि यसको महत्व उच्च छ । देवघाट, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी र व्यास नगरपालिकाका स्थानीय यस मार्ग निर्माणबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । तर निर्माणमा भएको ढिलाइले कृषि बजार पहुँच, पर्यटन विकास र स्थानीय अर्थतन्त्रमा अपेक्षित लाभ पुग्न सकेको छैन । स्थानीय व्यवसायीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्पादन बजारसम्म छिटो पुग्ने, यातायात लागत घट्ने र आर्थिक गतिविधि विस्तार हुने सम्भावना छ । तर निर्माणले गति नलिँदा उपभोक्ता र किसान दुवै मारमा परिरहेका छन् । तनहुँको आर्थिक, कृषि र पर्यटन विकाससँग जोडिएको बुद्धसिंह मार्गमा बर्सेनि करोडौँ रुपैयाँ बजेट विनियोजन भइरहे पनि त्यसको प्रभावकारिता, वित्तीय अनुशासन र पारदर्शिताबारे नागरिक चासो बढ्दो छ । स्थानीयवासीले सडक र घुमाउनेमा त्रिशूली नदीमाथिको पुल निर्माणलाई शीघ्रता दिन दबाबमूलक अभियानसमेत सञ्चालन गरिरहेका छन् ।

‘रास्वपा आशाको विकल्प हो, युवाको ऊर्जा र सीप देश निर्माणमा प्रयोग गरौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले जनतामा बढ्दो परिवर्तनको आकांक्षालाई लोकतान्त्रिक ढंगबाट अभिव्यक्त गर्ने भूमिका निर्वाह गरेको बताएका छन् ।  अर्थमन्त्री समेत रहेका उनले रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पछिल्ला वर्षहरूमा नागरिकले राजनीतिक प्रणालीप्रति भरोसा गुमाउँदै गएको अवस्थामा रास्वपा आशाको विकल्पका रूपमा उदाएको दाबी गरे ।  उनका अनुसार जब इमानदार र सक्षम व्यक्तिहरूले राजनीति आफ्नो क्षेत्र होइन भन्ने सोच बनाउन थाले, लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वास कमजोर बन्दै गयो । उनले युवा पुस्ताको ऊर्जा, सीप र सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए । ‘हामी पुरानो पुस्तासँग लड्न आएका होइनौं, नयाँ राजनीतिक संस्कार कायम गर्न आएका हौं,’ उनले भने, ‘राजनीतिलाई व्यक्तिकेन्द्रित होइन, विधि र नीतिमा आधारित बनाउन चाहन्छौं ।’ राज्य सञ्चालन नागरिकको हितभन्दा पनि सीमित स्वार्थको केन्द्रजस्तो देखिन थालेपछि जनतामा परिवर्तनको चाहना तीव्र बनेको उनले उल्लेख गरे । त्यही चाहनालाई लोकतान्त्रिक माध्यमबाट अघि बढाउने शक्ति रास्वपा बनेको उनको भनाइ थियो ।  वाग्लेले अहिलेको महाधिवेशनलाई नेपालको राजनीतिमा नयाँ चरणको सुरुआतका रूपमा चित्रण गरे । विगतका जनआन्दोलनले मुलुकमा लोकतन्त्र, संविधान र समावेशी व्यवस्थाको आधार निर्माण गरेको उल्लेख गर्दै उनले ती उपलब्धिको सम्मान गर्नुपर्ने बताए ।  तर, अबको चुनौती लोकतन्त्र प्राप्तिमै सीमित नभई त्यसको प्रभावकारिता, पारदर्शिता र संस्थागत गुणस्तरलाई अझ सुदृढ बनाउनु रहेको उनको भनाइ छ । लोकतान्त्रिक प्रणालीलाई व्यवहारमा अझ विश्वासिलो, उत्तरदायी र जनमुखी बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनले जोड दिए ।    यस्ताे छ उनकाे भनाइ आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राजनीतिक दलका नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधि एवं यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू । आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव। हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ। हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तिब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी ।  जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी ।  विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए। संविधान आयो। समावेशिताको आधार तयार भयो। यी उपलब्धिहरूको हामी सम्मान गर्छौं । तर लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन सकेन । निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो। संविधान बन्यो, संस्थाहरू बलिया भएनन्। राज्यको आकार विस्तार भयो, राज्यको क्षमता बढेन। अधिकार बढे, तर सार्वजनिक सेवाको गुणस्तर बढेन। आर्थिक गतिविधिहरुको स्वरूप फेरिए, तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन्। यही अन्तरविरोधबाट आजको संकट पैदा भएको हो । प्रिय साथीहरू, नेपालको समस्या स्रोतको अभाव मात्र होइन। नेपालको समस्या सम्भावनाको अभाव पनि होइन। हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो। राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो ।  व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो ।  त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन।  यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ । नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ ।  साथीहरू, हामी आमूल सुधारको राजनीति मार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ। त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ। आलोचना मात्र होइन, विकल्प दिनुपर्छ। विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ । आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं। हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ। केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ। केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ। आजको महाधिवेशनको मूल प्रश्न यही हो- रास्वपाले नेपालको भविष्य कस्तो देख्छ ?  हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्स जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस् । हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्स जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस् ।  हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस् । हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्स जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस् । हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्स जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस् । यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस् । हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ, जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्स जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस् । साथीहरू, इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ। हाम्रो पुस्ताले त्यो अवसर पाएको छ। अब प्रश्न केवल यति हो( के हामी यो दुर्लभ अवसरको उपयोग गरौँलारु के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा इतिहासमा चिनिन सकौंला र ?  म विश्वस्त छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम होइन । यो नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ । यो निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हो। आउनुहोस्, निराशालाई आशामा बदलौँ,आक्रोशलाई निर्माणमा बदलौँ, र विद्रोहलाई रूपान्तरणमा बदलौँ। नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा  अगाडि बढौँ। यो लामो यात्राका प्रारम्भिक पाइला यहीं चितवनबाटै चालौँ । 

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।  नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना/ठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । 

सबै दलका नेताले घण्टी बजाएर उद्घाटन गरे रास्वपा महाधिवेशन

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेस सभापति  गगन थापा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसहित विभिन्न दलका नेताहरूले रास्वपा चुनाव चिन्न घण्टी बजार महाधिबेशन उद्घाटन गरेका छन् ।  उद्घाटन कार्यक्रममा भारी वर्षा भएको छ ।  महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । उद्घाटन सत्रमा विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ । संशोधित विधान अनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।   

वार्ताका लागि स्विट्जरल्याण्ड पुगे शहबाज सरिफ र जेडी भान्स

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ इरान–अमेरिका वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड पुगेका छन् । फिल्ड मार्शल आसिम मुनिर पनि यस भ्रमणमा सरिफसँगै रहेका छन् । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्याण्ड पुगेका थिए । अर्कोतर्फ, इरानको प्रतिनिधिमण्डल शनिबार नै यहाँ पुगिसकेको थियो । पछिल्ला केही महिनामा इरान र अमेरिकाबीच भएको बातचीतमा पाकिस्तान मुख्य मध्यस्थकर्ता रहँदै आएको छ। पाकिस्तानको विदेश मन्त्रालयले यसअघि नै अमेरिका र इरानका प्रतिनिधिहरूका साथै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि यस बैठकमा सहभागी हुने बताएको थियो । दुवै पक्षबीच सम्झौतामा यसअघि नै हस्ताक्षर भइसकेको छ । पाकिस्तानले पनि मध्यस्थकर्ताको रूपमा यस सम्झौतामा हस्ताक्षर गरेको थियो ।

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् । कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा। बिमला पौडेलको आतिथ्य रहेको थियो । सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघरसंस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ । महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ । यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ । राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् । त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ । महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ । संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ । समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ । यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ । महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।  

सानिमा रिलायन्स इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड प्राप्त गरेको छ ।  कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ को भव्य समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पु‍र्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो विशेष सम्मान प्राप्त गर्न सफल भएको हो । विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका उत्कृष्ट व्यक्तित्व र संस्थाहरू सहभागी सो समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो । तीव्र प्रतिस्पर्धा र प्रतिष्ठित संस्थाहरूमाझ सानिमा रिलायन्स लाइफले आफ्नो व्यावसायिक श्रेष्ठता प्रमाणित गर्दै यो अवार्ड आफ्नो पोल्टामा पारेको हो ।  कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको सानिमा रिलायन्स लाइफले देशभर रहेका १६८ शाखामार्फत ग्राहकहरूलाई आधुनिक र सुलभ बीमा सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीको यस सफलतामा १७ हजार भन्दा बढी आबद्ध अभिकर्ताहरूको ठुलो योगदान रहेको छ । यस प्रतिष्ठित अवार्डले कम्पनीलाई आगामी दिनहरूमा आफ्ना ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूप्रति अझ बढी जिम्मेवार बन्दै थप परिष्कृत, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न ठुलो ऊर्जा र प्रेरणा मिलेको कम्पनीले जनाएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्च र कुमारी बैंकको पर्यावरणमैत्री पाइला

काठमाडौं । वातावरणीय दिगोपना र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि लमजुङको राईनास नगरपालिकामा सफलतापूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  लुम्बिनी विश्व शान्ति मञ्चको प्रमुख अभियान १० लाख रुख रोपण तथा संरक्षण अभियान अन्तर्गत राईनास नगरपालिकाको हर्राबोट र कटहरबारीमा वृक्षारोपण गरिएको हो।  यस अभियानलाई कुमारी बैंक लिमिटेडले संस्थागत सहयोग गरेको छ । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, वातावरणीय संरक्षणवादी र बैंकिङ क्षेत्रका व्यक्तित्वहरूले रैथाने प्रजातिका बिरुवाहरू रोपेर पारिस्थितिक प्रणालीको पुन:स्थापनाका लागि ऐक्यबद्धता जनाएका छन् । वृक्षारोपण कार्यक्रममा राईनास नगरपालिकाका उपमेयर पुष्पराज खनालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा अभियानको प्रशंसा गर्दै उपमेयर खनालले स्थानीय जैविक विविधता र सामुदायिक स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउने यस्ता हरित साझेदारीका लागि नगरपालिकाको पूर्ण र निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको नेतृत्व लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं ‘१० लाख रुख रोपण तथा संरक्षण अभियान का प्रणेता बसु गौतमले गरेका थिए ।  यस्तै, कुमारी बैंक लिमिटेडका तर्फबाट बेसीशहर शाखाका शाखा प्रबन्धक  रघुनाथ लौडारी र थांतीपोखरी शाखाका शाखा प्रबन्धक विनय अधिकारी लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।  कुमारी बैंकको यो सहकार्यले बैंकको वातावरणीय, सामाजिक र सुशासन सम्बन्धी मूल्यमान्यताहरू प्रतिको संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रष्ट पारेको छ । सन् २०१९ मा सुरुवात भएदेखि नै लुम्बिनी विश्व शान्ति मञ्चले देशव्यापी रूपमा ठूलो स्तरमा वनिकरण अभियान सञ्चालन गर्दै आएको छ ।  लमजुङमा सम्पन्न यस कार्यक्रमसँगै मञ्चले नेपालभर हालसम्म जम्मा २,३१,८०० रुखहरू सफलतापूर्वक रोपिसकेको छ ।