बाढीपछिको पुन: निर्माणमा बेलायतले सहयोग गर्ने
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुन: निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सोमबार पूर्वाधार विकास मन्त्रालयमा भएको भेटवार्तामा बाढीबाट क्षतिग्रस्त सडक तथा पूर्वाधारको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज निर्माणका साथै उक्त क्षेत्रमा सञ्चालन हुने पुन: निर्माण तथा पुनर्स्थापनाका काममा आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल सरकारले अघि बढाइरहेको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ । मन्त्रालयका अनुसार उक्त सहयोगले बाढी तथा विपद्बाट प्रभावित पूर्वाधारको पुनर्निर्माणसँगै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र उत्थानशील विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न, बाँकी जिल्लामा पनि अन्तिम चरणमा
काठमाडौं । नेपाली कांग्रेसले १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत असोज ५ गतेसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो । त्यस्तै, धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडामा अधिवेशन अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । अछामका तीन, डडेल्धुराका चार, रुपन्देहीका तीन र महोत्तरीका आठ वडामा अधिवेशन हुन बाँकी रहेको छ । कांग्रेसका अनुसार धादिङ, नुवाकोट तथा असोज ५ गतेसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका वडाहरूमा असोज ६ गते मंगलबार अधिवेशन प्रक्रिया जारी रहनेछ ।
बुटवलमा जीडब्लूएमको नयाँ शोरुम, ओरा ५ र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलमा आफ्नो विद्युतीय सवारीसाधनको बिक्री तथा सेवा विस्तार गरेको छ । बुटवलको कालिकानगरमा जीडब्लूएमको नयाँ शोरुम सञ्चालनमा आएसँगै ओरा ५ ईभी एसयूभी र हाभाल जोलियन म्याक्स ईभी एसयूभी पनि सार्वजनिक गरिएको छ । भीजी इम्पेक्स प्रालि अन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहर्सा इन्टरप्राइजेजले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमबाट सवारीसाधनको बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । बुटवल तथा लुम्बिनी प्रदेशमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएपछि ग्राहकलाई सहज रूपमा बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ । जीडब्लूएम ओरा ५ मा एनईडीसी मापदण्डअनुसार ५२० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । यसमा ५ स्टार एएनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल–२ एडीएएस अर्थात् उन्नत चालक सहायता प्रणालीका फिचर उपलब्ध छन् । ओरा ५ को सुरुवाती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, हाभाल जोलियन म्याक्स ईभीमा ५८.३ किलोवाट घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको टचस्क्रिन र भीटुल सुविधा उपलब्ध छ । यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । सहर्सा इन्टरप्राइजेजका अध्यक्ष केहर सिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई सवारीसाधनको बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए । त्यस्तै, जीडब्लूएमका महाप्रबन्धक–बिक्री तथा सञ्चालन अधिरकुमार श्रेष्ठले ओरा ५ र हाभाल जोलियन म्याक्स ईभीमार्फत बुटवल तथा आसपासका ग्राहकलाई आधुनिक विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराइएको बताए । कम्पनीले दुवै मोडलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरेको छ । ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शोरुम आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ ।
अमेरिकालाई इरानको चेतावनी– ‘विश्वलाई चकित पार्ने हतियार चलाउँछौं’
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरे विश्वलाई चकित पार्ने नयाँ हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । रिभोलुसनरी गार्ड कोरका प्रवक्ता हुसेन मोहेबीले भनेका छन्, ‘अमेरिकाले हमला गरे इरानले विश्वलाई चकित पार्ने नयाँ हतियार प्रयोग गर्नेछ । इरानले यस्ता हतियार बनाएको छ र तिनको क्षमता बढाएको छ, जुन युद्धको अहिलेको चरणमा प्रयोग गरिएको छैन ।’ उनले ती हतियारलाई इरानका ‘रणनीतिक हतियार’ भन्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन् । आईआरजीसीका प्रवक्ताको यस्तो चेतावनी खातम अल–अन्बिया केन्द्रीय मुख्यालयको उक्त भनाइपछि आएको हो, जसमा अमेरिकाले केही देशको अनुमति पाएपछि पुनः कारबाही सुरु गर्न चाहेको उल्लेख गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फक्स न्युजसँग अमेरिका–इरान युद्धबारे कुराकानी गरेका थिए । त्यस क्रममा उनले अमेरिका–इरान युद्धका विषयमा निकट भविष्यमा ‘ठूलो घटना’ हुन सक्ने बताएका थिए । यसबारे निर्णय आफूले नै गर्ने उनको भनाइ थियो ।
सिंहदरबारको क्यान्टिन महँगो भयो, सिंहदरबारलाई शाकाहारी बनाउँ : सांसद सुनार
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूको महँगी र अव्यवस्थित संरचनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्यून तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना महँगो भएको भन्दै यसलाई सस्तो र मर्यादित बनाउन माग गरेका हुन् । सांसद सुनारले सिंहदरबारभित्र जताततै खुलेका क्यान्टिन र त्यहाँबाट निस्कने गन्ध तथा फोहोर व्यवस्थापनबारे प्रश्न उठाए । उनले सिंहदरबारलाई व्यवस्थित र सफा बनाउन ‘भेजिटेरियन’ (शाकाहारी) क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘सिंहदरबारभित्र फाइभ स्टार होटलको शैलीमा क्यान्टिन चलाउनु हुँदैन । यहाँका तल्लो तहका कर्मचारी र मर्यादापालकहरूका लागि ३०–३५ हजारको तलबमा दिनभरको चिया–खाजा खर्च धान्न कठिन छ ।’ राजदूत नियुक्तिको विषयमा उठेका प्रश्नहरूमा टिप्पणी गर्दै उनले मापदण्ड पालनामा जोड दिए । उनले भने, ‘विज्ञता र अनुभवका आधारमा नियुक्ति हुनुपर्छ, तर सरकारले बनाएको कार्यविधि मिच्न पाइँदैन । व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्दा पनि उसले जिम्मेवारी बहन गर्न सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण हो ।’ प्रहरीभित्रको भ्रष्टाचार र विशेषगरी म्यादी प्रहरीको जुत्ता खरिदमा भएको अनियमितताका बारेमा सोधिएको प्रश्नमा सांसद सुनारले गम्भीर अनुसन्धान भइरहेको बताए । उनले १ लाख ३० हजारभन्दा बढी म्यादी प्रहरीको जुत्ता खरिदमा बदमासी भएको प्रमाण सङ्कलन भइरहेको दाबी गरे ।
टेकुस्थित प्लास्टिक गोदाममा आगलागी
काठमाडौं । टेकुको प्लास्टिक गोदाममा आगलागी भएको छ । सोमबार (आज) साँझ काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लाष्टिक गोदाममा आगलागी भएको हो । आगलागी भएपछि दमकल, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली श्रमिकले विमानस्थलमा अध्यागमनका विचौलियालाई २३ हजार तिरेर कुवेत उडे
काठमाडौं । त्रिभुवन विमानस्थलको अध्यागमनबाट श्रम स्वीकृति नभएको एक व्यक्ति पास भएको खुलेको छ । सोमबार (आज) बिहान ७ः३५ को उडानमा कुवेत एयरलाइन्समार्फत जाने नरेश विष्टले एक व्यक्तिलाई २३ हजार तिरेर कुवेततर्फ उडेको पाइएको हो । विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले विष्टसँग श्रम स्वीकृति नभएकाले भित्र जान दिएका थिएनन् । विष्टको राहदानीमा श्रम स्वीकृति नभएपछि विमानस्थल बाहिर निस्केर उनी बसेका थिए । सोही समयमा विमानस्थल परिसरमा रहेका एक व्यक्तिले अध्यागमनलाई पैसा बुझाएमा भित्र जान पाइने बताएका थिए । विष्टले २३ हजार रुपैयाँ बुझाएमा अध्यागमनबाट पास हुने जानकारी पाए । सोही अनुसार विष्टले ती व्यक्तिलाई २३ हजार रुपैयाँ उनको क्युआरमा हाल्दिएका हुन् । विष्टका भाइसँग ती अपरिचित व्यक्तिले थप पैसा माग गरिरहेका छन् । पाँच हजार रुपैयाँ माग गरेको विष्टका भाइले विकासन्युजले बताए । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले पैसा लिएको बारेमा जानकारी प्राप्त भएको बताए । कसले लियो र किन त्यस विषयमा अनुसन्धान भइरहेको उनले बताए । पैसा लिने व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको ढकालले जानकारि दिए । ‘पैसा कसले लिएको हो, त्यस विषयमा जानकारी छैन,’ उनले भने,‘ अध्यागमनको कर्मचारीले पैसा लिएको जानकारी छैन ।’ ढकालले कुवेत जाने व्यक्तिले कुनै विचौलियालाई पैसा बुझाएको हुन सक्ने बताए ।
डेटा सेन्टरको प्राविधिक समस्याबारे अध्ययन गर्न नेप्सेलाई सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार स्थगित भएको घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारसहितको प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ । नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी दिएको थियो । उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार स्थगित गरिएको थियो । बोर्डले कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको जनाएको छ । यसैगरी, नेप्सेबाट घटनाबारे जानकारी प्राप्त हुनासाथ प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार स्थगित गर्नुपर्ने कारण पत्ता लगाउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको बोर्डले जनाएको छ । बोर्डका अनुसार निरीक्षण टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप कार्य अघि बढाइनेछ । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा धितोपत्र बजारसँग सम्बन्धित यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।