कार बेचेर घडीको व्यवसाय सुरु, अहिले ४० करोड कारोबार

काठमाडौं । यदि कपडा र गहना आफ्नो रुचिअनुसार बनाउन सकिन्छ भने घडी किन बनाउन नसकिने ? यही सोच र घडीप्रतिको गहिरो रुचिले भारतको जयपुरका गौरव मेहतालाई अनौठो व्यवसाय सुरु गर्ने प्रेरणा दियो ।  उनले सन् २०१३ मा जयपुर वाच कम्पनी स्थापना गरे । कम्पनीले पुराना सिक्का, हुलाक टिकट, चित्रकला तथा विशेष डिजाइन प्रयोग गरेर आफूले चाहेजस्तो घडी तयार गर्छ । सुरुवाती चरणमा भने यो व्यवसायमा निकै चुनौती थिए । भारतमा त्यतिबेला महँगा घडीको बजारमा विदेशी कम्पनीहरूको दबदबा थियो । भारतीय घडी विदेशी ब्रान्डजत्तिकै राम्रो हुँदैनन् भन्ने धारणा पनि मानिसहरूमा थियो । तर पनि गौरवले गरेरै छाड्छु भन्ने अठोट लिए । गौरवले सन् २०१३ मा कम्पनी सुरु गर्न करिब ३० लाख भारु लगानी गरे । त्यसका लागि उनले आफ्नो बीएमडब्ल्यू कार बेचे र साथीहरूबाट समेत पैसा सापटी लिए । सुरुवातमा उनले घडी बनाउने कला बुझ्न निकै अध्ययन तथा अनुसन्धान गरे । यस क्रममा उनले पुराना सिक्काका विशेषज्ञ तथा घडी निर्मातासँग काम गरे । सन् २०१३ मा गौरवले जयपुर वाच कम्पनीको फेसबुक पेज बनाएर सशुल्क विज्ञापन सुरु गरे । दिल्लीका एक ग्राहकले घडी नहेरी नै उनका तीनवटा घडी खरिद गरे । यसबाट गौरवलाई निकै हौसला मिल्यो । त्यसपछि मुम्बईको एउटा ठूलो कलेक्टिबल्स स्टोरले उनका घडी बिक्री गर्न थाल्यो । करिब २३ हजार भारु मूल्य पर्ने पहिलो कलेक्सन दुई महिनामै बिक्री भयो । त्यसपछि उनले ताज र ओबेराय समूहका केही होटलमा समेत घडी बिक्री गर्न थाले । सन् २०१५ मा उनले बेंगलुरुमा उत्पादन इकाइ स्थापना गर्न करिब १ करोड २० लाख भारु लगानी गरे । कम्पनी सन् २०१७ मा नाफा–नोक्सान बराबरी अर्थात् ब्रेक–इभन अवस्थामा पुग्यो । जयपुर वाच कम्पनीका घडीको सबैभन्दा ठूलो विशेषता तिनको अनौठो डिजाइन हो । घडीका डायलमा पुराना सिक्का, हातले बनाइएका चित्र, हुलाक टिकट, देवी–देवताका तस्बिर, क्यालिग्राफी तथा बहुमूल्य पत्थर प्रयोग गरिन्छ । कम्पनीका घडीहरू करिब १५ हजारदेखि २४ लाख भारुसम्म मूल्यमा बिक्री भएका छन् । २४ लाख भारुको एउटा विशेष घडी ग्राहकका लागि बनाइएको थियो, जसमा सुन र हिराबाट फूलजस्तो डिजाइन तयार गरिएको थियो । कम्पनीले बेलायतका राजा जर्ज छैटौंका पुराना सिक्का प्रयोग गरेर ३५ वटा घडीको कलेक्सन समेत बनाएको छ । त्यस्तै जयपुरका महाराजा सवाई मानसिंह द्वितीयका पुराना सिक्का प्रयोग गरेर ५० वटा घडीको कलेक्सन तयार गरिएको छ । प्रधानमन्त्री मोदीले पनि किने घडी गौरवको व्यवसायमा अर्को ठूलो मोड सन् २०२५ को अन्त्यतिर आयो । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा जयपुर वाच कम्पनीको घडी देखिएको जानकारी भयो। सुरुमा उनले यो कुरामा विश्वास गरेनन् । पछि उनको टोलीले प्रधानमन्त्रीका आधिकारिक तस्बिरहरू जाँच गर्दा उक्त घडी वास्तवमै आफ्नै कम्पनीको भएको पुष्टि भयो । अझ रोचक कुरा त्यसका लागि कुनै सशुल्क अभियान, सेलिब्रिटी समर्थन वा पीआर अभियान चलाइएको थिएन । त्यसपछि कम्पनीको अनलाइन माग तीव्र रूपमा बढ्यो। पहिलोपटक कम्पनीको कारोबारमा अनलाइन बिक्रीले अफलाइन खुद्रा व्यापारलाई उछिन्यो । हाल कम्पनीको करिब ७० प्रतिशत कारोबार अनलाइन बिक्रीबाट आउने गरेको छ । कम्पनीले स्विट्जरल्यान्ड र जापानसहित ४० भन्दा बढी देशबाट अर्डर प्राप्त गरिरहेको छ । रिपोर्टअनुसार कम्पनीले गत वर्ष करिब २५ करोड भारु (४० करोड रुपैयाँ) को कारोबार गरेको थियो । चालु वर्षमा भने कारोबारलाई ७५ देखि ८० करोड भारु (१ अर्ब २० करोडदेखि १ अर्ब २८ करोड रुपैयाँ) सम्म पु‍र्याउने लक्ष्य राखिएको छ ।

ट्रम्पको १५ बुँदे शान्ति योजना नेतन्याहुद्वारा अस्वीकार, गाजा शान्ति प्रयास थप जटिल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको गाजासम्बन्धी १५ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्‍याएका हुन् ।  ट्रम्पको ‘बोर्ड अफ पिस’ मार्फत ल्याइएको प्रस्तावमा हमासले हतियार त्याग्नेसँगै गाजाबाट इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने र त्यसपछि अन्तर्राष्ट्रिय स्थिरीकरण बल तथा नयाँ प्यालेस्टिनी प्रहरीमार्फत सुरक्षा व्यवस्थापन गर्ने उल्लेख छ ।  तर इजरायलले सेना फिर्ती र हमासको निःशस्त्रीकरणलाई समानान्तर रूपमा लैजान नसकिने स्पष्ट पारेको छ । नेतन्याहुका अनुसार हमासले हतियार बुझाएको पूर्ण सुनिश्चितता भएपछि मात्र सेना फिर्ता हुनेछ । अर्कोतर्फ, हमासले भने अमेरिकी मध्यस्थतामा आएको योजनाप्रति केही लचकता देखाएको थियोे । गाजाको प्रशासन नयाँ ढाँचामा चलाउन र अमेरिकी निगरानीमा हतियारसम्बन्धी छलफल गर्न तयार रहे पनि ‘निःशस्त्रीकरण’ को परिभाषा र कार्यान्वयनलाई लिएर अझै गम्भीर मतभेद कायम छ । यसैबीच, गाजामा युद्धविरामपछिको अवस्थामा पनि मानवीय क्षति रोकिन सकेको छैन । रोयटर्सका अनुसार युद्धविराम घोषणा भएयता मात्रै इजरायली कारबाहीमा १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्लेषकहरूका अनुसार नेतन्याहुको यो पछिल्लो निर्णयले ट्रम्प प्रशासन र इजरायलबीचको सम्बन्ध तथा गाजाको भावी रणनीतिका विषयमा मतभेद बढाउने सङ्केत गरेको छ ।  दुवै पक्षबीच मुख्य बुँदामै सहमति जुट्न नसकेपछि गाजामा दीर्घकालीन शान्ति, पुनर्निर्माण र सुरक्षा व्यवस्थापनको प्रयास पुनः अनिश्चित बनेको छ ।

इरानका राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीबीच के भयो कुराकानी ?

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो राष्ट्रपति कार्यकालको तेस्रो वर्षको सुरुवातमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन् । इरानका सर्वोच्च नेताको वेबसाइटले उक्त भेटवार्ताबारे जानकारी दिएको हो । बीबीसी फारसीले सरकारी रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार भेटवार्तामा देशका वर्तमान समस्या र जनताको दैनिक आवश्यकताहरू पूरा गर्ने विषयमा छलफल भएको थियो ।  साथै युद्धको वर्तमान अवस्था र आगामी दिनमा आइपर्न सक्ने चुनौतीबारे पनि कुराकानी भएको थियो । भेटवार्ताका क्रममा सैन्य क्षेत्रमा भइरहेको परिवर्तन, देशको वित्तीय तथा विदेशी मुद्रा स्रोत परिचालन, खर्च व्यवस्थापन र ऊर्जासँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।  यसका साथै अन्य देशसँगको आर्थिक सम्बन्धबारे समेत विचार–विमर्श भएको जनाइएको छ । मोज्तबा खामेनीलाई इरानको तेस्रो सर्वोच्च नेता चयन गरिएपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै नयाँ तस्बिर वा आवाजसमेत सार्वजनिक गरिएको छैन । यसअघि राष्ट्रपति पेजेस्कियानले मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि आफूले उनीसँग भेट गरिसकेको बताएका थिए । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेको विषय सार्वजनिक भएको यो पहिलोपटक हो ।