चीनको पूर्वी क्षेत्रमा ‘डल्फिन आँधी, १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । चीनको पूर्वी क्षेत्रमा ‘डल्फिन’ नामक आँधी प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण राजधानी साङ्घाईसहित विभिन्न क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ ।

मौसम विभागका अनुसार डोल्फिन आँधीले आइतबार साँझ करिब ५ः३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलोपटक स्थल प्रवेश गरेको थियो । 

त्यसबेला आँधीको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो । त्यसको करिब एक घण्टापछि आँधीले वेनझोउ सहरमा दोस्रोपटक स्थल प्रवेश गरेको थियो ।

आँधीका कारण साङ्घाईमा मात्रै करिब १ हजार ४०० उडान रद्द गर्नुपरेको छ । यसबाट ठूलो संख्यामा यात्रु प्रभावित भएका छन् ।

चिनियाँ अधिकारीहरूले डोल्फिन आँधीलाई लिएर यसअघि उच्चतम तहको रेड अलर्ट जारी गरेका थिए । तर, सोमबार बिहान आँधीको तीव्रता घटेपछि चेतावनीको स्तर पनि कम गरिएको छ ।

मौसम विभागका अनुसार आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै चेतावनी जारी गरेका छन् ।

शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु र झेजियाङ प्रान्तसँगै साङ्घाईमा सोमबार पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Share News