होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

काठमाडौं । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताएका छन् ।  साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिए ।  यसै क्रममा, इरानका उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यममार्फत अनुरोध गरिरहेको जनाएको छ । इरानले फेब्रुअरी २८ देखि केही विशेष परिस्थितिका कारण उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको हो । यस निर्णयलाई क्षेत्रीय घटनाक्रमसँग सम्बन्धित रूपमा हेरिएको छ । होर्मुज जलडमरूमध्येविश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । त्यसैले यस क्षेत्रमा भइरहेका गतिविधिहरूलाई अन्तर्राष्ट्रिय समुदायले ध्यानपूर्वक नियालिरहेको छ । रासस   

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

काठमाडौं । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् ।  आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले ६ हजारभन्दा बढी अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल र बुद्धिमान प्रणालीहरू समावेश छन् । यससँगै कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण पनि प्रस्तुत गरिएका छन् । उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यन्त आवश्यक बन्दै गएको बताइएको छ, विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री निर्माणको समय एक हप्ताबाट एक घण्टामा झारेको छ भने स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल बनाउँदै सेवा गुणस्तर सुधारिएको छ । आगामी श्रमिक दिवस बिदाको अवसरमा पनि यो प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ, जहाँ सयभन्दा बढी परियोजनामार्फत प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ । रासस   

इरानीका नागरिकलाई सर्वोच्च नेता खामेनीको अपिल: ‘सैन्य शक्तिपछि अब आर्थिक लडाइँको पालो’

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना नागरिकलाई ‘आर्थिक लडाइँ’मा पनि संलग्न हुन अपिल गरेका छन् । अर्को लिखित वक्तव्य जारी गर्दै उनले सैन्य युद्धमा अद्वितीय शक्ति प्रदर्शन गरेको र अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि यस्तै भूमिका खेल्न इरानी जनतालाई आग्रह गरेका हुन् । वक्तव्यमा मोज्तबा खामेनीले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वसामु आफ्नो अद्वितीय शक्ति प्रदर्शन गरेको छ; अब यसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्छ । ’ उनले अगाडि भनेका छन्, ‘कामदारहरूलाई समर्थन गरिनुपर्छ र स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।’ हाल देशका व्यवसायीहरूले कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै खामेनीले कर्मचारीहरूलाई हटाउने काम नगर्न निर्देशन दिएका छन् ।  सर्वोच्च नेता बनेदेखि मोज्तबा खामेनी कहिल्यै सार्वजनिक रूपमा देखापरेका छैनन् । यद्यपि उनले सञ्चारमाध्यममार्फत आफ्ना लिखित वक्तव्य जारी गरिरहेका छन् ।