काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो राष्ट्रपति कार्यकालको तेस्रो वर्षको सुरुवातमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन् ।
इरानका सर्वोच्च नेताको वेबसाइटले उक्त भेटवार्ताबारे जानकारी दिएको हो ।
बीबीसी फारसीले सरकारी रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार भेटवार्तामा देशका वर्तमान समस्या र जनताको दैनिक आवश्यकताहरू पूरा गर्ने विषयमा छलफल भएको थियो ।
साथै युद्धको वर्तमान अवस्था र आगामी दिनमा आइपर्न सक्ने चुनौतीबारे पनि कुराकानी भएको थियो ।
भेटवार्ताका क्रममा सैन्य क्षेत्रमा भइरहेको परिवर्तन, देशको वित्तीय तथा विदेशी मुद्रा स्रोत परिचालन, खर्च व्यवस्थापन र ऊर्जासँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।
यसका साथै अन्य देशसँगको आर्थिक सम्बन्धबारे समेत विचार–विमर्श भएको जनाइएको छ ।
मोज्तबा खामेनीलाई इरानको तेस्रो सर्वोच्च नेता चयन गरिएपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै नयाँ तस्बिर वा आवाजसमेत सार्वजनिक गरिएको छैन ।
यसअघि राष्ट्रपति पेजेस्कियानले मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि आफूले उनीसँग भेट गरिसकेको बताएका थिए ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेको विषय सार्वजनिक भएको यो पहिलोपटक हो ।