युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो
काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो । एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन । बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस
हर्मुज क्षेत्रमा फेरि तनाव
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ हरू सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिएका छन् । ती युद्धपोतहरू हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ती युद्धपोतहरू ‘विश्वस्तरीय’ भएको उल्लेख गरेका छन् । उनका अनुसार जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ । अमेरिकी सैन्य स्रोतहरूका अनुसार सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । तर, अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक रोक्दै आवश्यक प्रतिकारात्मक कारबाही गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरूमा कुनै क्षति नभएको स्पष्ट पार्दै इरानी आक्रमणकारीहरूलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरेका छन् । साथै, उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन् । उनले इरानलाई छिटो कूटनीतिक सम्झौता गर्न आग्रह गर्दै भविष्यमा थप कडा कदम चालिन सक्ने सङ्केत पनि गरेका छन् । हर्मुज जलडमरूमध्ये विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ । पछिल्लो समय यस क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय सुरक्षा तथा ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ । अमेरिकी अधिकारीहरूले आफ्नो सेनालाई सुरक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको जनाउँदै परिस्थितिलाई थप जटिल बनाउन नचाहेको पनि स्पष्ट पारेका छन् । यसैबीच, यस क्षेत्रको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको बताइएको छ ।
इरान युद्धले आगामी दिन थप कष्टकर
काठमाडौं । विश्वव्यापी व्यापारका लागि अमेरिका–इरान युद्धले ‘नयाँ चेतावनी संकेत’ सिर्जना गरेको मर्क्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिन्सेन्ट क्लर्कले दावी गरेका छन् । बिहीबार सीएनबीसीसँग कुरा गर्दै आगामी महिनाहरूमा यसको प्रभाव अझ खराब हुन सक्ने चेतावनी दिएका छन् । मस्र्कले पहिलो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गरेपछि क्लर्कले कम्पनीले अत्यधिक लागत दबाब सामना गरिरहेको र त्यो अन्ततः ग्राहकहरूमाथि सार्नुपर्ने अवस्था आएको बताए । ‘हामी अत्यधिक ऊर्जानिर्भर उद्योग हौं र यसले हामीले सामना गर्नुपर्ने बिल्कुलै नयाँ परिस्थिति सिर्जना गरेको छ,’ उनले भने, ‘यसले दोस्रो र तेस्रो त्रैमासिकमा महत्वपूर्ण प्रभाव पार्नेछ ।’ मध्यपूर्वमा युद्ध तीव्र बन्दै जाँदा तेलको मूल्य आकासिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्य बन्द रहने अनिश्चितताले तेलको मूल्य उच्च स्तरमै कायम राखेको छ । तेलको मूल्यवृद्धिले धेरै अर्थतन्त्रमा मुद्रास्फीति अझ बढ्न सक्ने चिन्ता पनि बढाएको छ । बिहीबार विश्वव्यापी मानक ब्रेन्ट क्रुड तेलको मूल्य २.२ प्रतिशतले घटेर प्रतिव्यारेल ९३.०१ डलरमा पुगेको थियो । वाशिङ्टन र तेहरानबीच शान्ति सम्झौता नजिक पुगेको आशाले बजारमा केही राहत देखिएको हो । ‘यो ऊर्जा झट्काले तेलको मूल्य प्रतिव्यारेल १०० डलर आसपास रहिरहँदासम्म हामीलाई मासिक करिब ५० करोड डलर अतिरिक्त खर्च थप्नेछ, जुन निकै ठूलो रकम हो,’ क्लर्कले सीएनबीसीसँग भने, ‘हामीले लागत घटाउन सक्ने सीमित उपाय मात्रै छन्, तर यी खर्च ग्राहकमा सार्नु अनिवार्यजस्तै भएको छ किनभने यति ठूलो लागतवृद्धि हामी आफैले मात्रै धान्न सक्दैनौं ।’ उनले यो द्वन्द्वले ढुवानी उद्योग र उपभोग क्षमता कति समयसम्म मजबुत रहन सक्छ भन्ने प्रश्न पनि उठाएको बताए। ‘यी अतिरिक्त लागत अन्ततः उपभोक्तासम्म पुग्दा उपभोक्ता तहमा माग घट्ने अवस्था आउँछ कि ? त्यसले वर्षको दोस्रो भागमा आपूर्ति शृंखलाभरि कमजोर मागको प्रभाव पार्छ कि ?’ उनले प्रश्न गरे । ‘हामी यसलाई अत्यन्त नजिकबाट हेरिरहेका छौं, किनकि यसले यो संकटले विश्वव्यापी आपूर्ति शृंखला र विशेषगरी हाम्रो उद्योगलाई कसरी असर गर्छ भन्ने सम्पूर्ण समीकरण नै परिवर्तन गर्न सक्छ,’ उनको भनाइ छ । विश्वव्यापी व्यापारको संकेतक मानिने डेनिस कम्पनी मर्क्सले वर्षको पहिलो तीन महिनामा ब्याज, कर, मूल्यह्रास तथा अमोर्टाइजेशनअघिको आधारभूत आम्दानी (ईबीआईटीडीए) १ अर्ब ७५ करोड डलर रहेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले कम हो, तर एलएसईजीले तयार पारेको अनुमानसँग भने मेल खाएको छ । कम्पनीको राजस्व वार्षिक आधारमा २.६ प्रतिशत घटेर १३ अर्ब डलरमा झरेको छ, यद्यपि यो १२.५ अर्ब डलरको अपेक्षाभन्दा बढी हो । मर्क्सका अनुसार ढुवानी दर घट्नु र बढ्दो परिमाणका कारण लागत बढ्नुले यसको ‘ओसन डिभिजन’ मा दबाब सिर्जना गरेको हो । मर्क्सको सेयर मूल्य पछिल्लो कारोबारमा २.९ प्रतिशतले घटेको देखिएको थियो । इरान युद्ध सुरु भएको करिब एक सातापछि मर्क्सले मध्यपूर्वलाई एसिया र युरोपसँग जोड्ने दुई महत्त्वपूर्ण समुद्री ढुवानी मार्ग स्थगित गरेको थियो । कम्पनीले आफ्ना कर्मचारी र जहाजको सुरक्षाका लागि यस्तो निर्णय लिइएको जनाएको थियो । यद्यपि, कम्पनीले सन् २०२६ का लागि आफ्नो वार्षिक प्रक्षेपण यथावत् राखेको छ। मर्क्सले २०२६ मा आधारभूत ईबीआईटीडीए वृद्धि ४.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म रहने अनुमान गरेको छ। कम्पनीका अनुसार नयाँ जहाज आपूर्तिका कारण उद्योगमा देखिएको अतिरिक्त क्षमता तथा यस वर्ष रातो समुद्र र हर्मुज जलडमरूमध्य कहिले पुनः खुल्ने भन्ने विभिन्न सम्भावनालाई ध्यानमा राखेर यस्तो प्रक्षेपण गरिएको हो । तर मस्र्कले आफ्नो सञ्चालन र विश्व अर्थतन्त्रमा इरान युद्धको प्रभाव दोर्होयाउँदै आपूर्ति शृंखला अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको छ। ‘भू-राजनीति अहिलेको व्यापक आर्थिक परिदृश्य तथा व्यापार र लजिस्टिक्स वातावरणलाई आकार दिने प्रमुख शक्ति बनेको छ,’ कम्पनीले आफ्नो आम्दानी प्रतिवेदनमा उल्लेख गरेको छ । साथै इरान युद्धले ‘अनिश्चितताको थप तह’ सिर्जना गरेको पनि कम्पनीले जनाएको छ । फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएयता व्यावसायिक समुद्री ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्दजस्तै बनेको छ । ‘हाल इरान र लेबनान दुवैमा नाजुक युद्धविराम कायम छन्, वार्ता सुस्त गतिमा अघि बढिरहेको छ र हर्मुज जलडमरूमध्यको यातायात लगभग ठप्प अवस्थामा छ । यस द्वन्द्वले बजार मनोबलमा पहिल्यै असर पारिसकेको छ । उपभोक्ता विश्वास कमजोर भएको छ,’ मर्क्सले बिहीबार जनाएको छ । कम्पनीका अनुसार यदि सन् २०२६ भर तेलको मूल्य प्रतिव्यारेल ९० देखि १०० डलरकै बीचमा रह्यो र द्वन्द्व चाँडै समाधान भयो भने पनि विश्वव्यापी कन्टेनर माग २ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर कम्पनीले जोखिमको सन्तुलन ‘नकारात्मक दिशातर्फ’ रहेको र अझ खराब परिणामको सम्भावना नकार्न नसकिने पनि जनाएको छ । ‘हर्मुज जलडमरूमध्यमा ऊर्जा र ढुवानी अवरोधले विश्वव्यापी आपूर्ति शृंखलालाई तीव्र रूपमा पुनःआकार दिइरहेको छ,’ कम्पनीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘हालै अमेरिकी आयातमा लगाइएका शुल्कपछि यो द्वन्द्वले आपूर्ति शृंखला अझ लचिलो बनाउन नयाँ उपकरण र भविष्यका अवरोध कम गर्ने रणनीति विकास गर्न अर्को चेतावनी संकेत दिएको छ ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)