मिश्रमा रेल दुर्घटना हुँदा ७ को मृत्यु, १०० बढी घाइते

इजिप्ट । मिश्रको गिजा सहरनजिकै आइतबार भएको रेल दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

देशको रेल प्राधिकरणका अनुसार गिजा हुँदै कायरोबाट दक्षिणतर्फ गइरहेका दुई रेल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा रेलका कैयौं डिब्बा लिकबाट खसेर भिरालो ठाउँमा पुगेका थिए । घटनास्थलका तस्बिरमा पल्टिएका रेलका डिब्बाभित्र घाइते यात्रुको खोजी गरिरहेको देखिन्छ ।

दुर्घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरी राहत र उद्धार कार्य सुरु गरिएको थियो ।

मिश्रका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न र लापरबाही गरेको पाइएमा दोषीमाथि कारबाही गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् ।

सरकारी अभियोजन कार्यालयले दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ ।

सरकारका अनुसार घाइतेको संख्या ठूलो भएकाले घटनास्थल आसपासका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ । 

Share News