व्यवसायी त्रसित छन्, वातावरण सुधार्न सरकारसँग महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो । कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन वस्तुगत संघहरूलाई आग्रह गरे । 'सबै वस्तुगत समितिका समस्याहरु महासंघका साझा समस्याहरु हुन् । महासंघ यी समसयाहरु सरकार संग राख्न र समाधानको लागि पहल गर्न सदैव तयार छ,' उनले भने । अध्यक्षा श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित अवस्थामा रहेको, व्यवसायिक वातावरण बिग्रिरहेको, बजारमा माग नभएको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सरकासंग आग्रह गरे । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले संघहरूले आफ्ना क्षेत्रका समस्या तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए । त्यसैगरी महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघहरूका समस्या समाधानमा महासंघले सहजीकरणको भूमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्नेमा जोड दिए । वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै संघहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योग व्यवसायका साझा समस्या पहिचान गरी समाधानका लागि महासंघमार्फत पहल गरिने बताए । महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताए । उनले वस्तुगत संघहरूले आफ्ना क्षेत्रका समस्या र सुधारका विषय महासंघसँग निरन्तर समन्वय गर्नुपर्ने धारणा राखे । वस्तुगत परिषद्का उपसभापति भक्तबहादुर हमालले धन्यवाद ज्ञापन गर्दै वस्तुगत संघहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारी, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवर, नेपाल ईटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद, नेपाल होस्टल एशोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भीमबहादुर गोले तामाङ तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले आ–आफ्नो क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए । उनीहरूले औषधी उद्योग, गलैंचा तथा निर्यात, कुरियर सेवा, डेरी, घरजग्गा तथा आवास, इँटा उद्योग, होस्टल व्यवसाय, पर्यटक यातायात र रुद्राक्ष व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका अध्यक्ष, वस्तुगत परिषद्का सभापति तथा पदाधिकारीहरूले खादा लगाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
अर्घाखाँची सिमेन्टको आम्दानी ९ महिनामै साढे ५ अर्ब, निर्यात हिस्सा १२ प्रतिशत
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सिमेन्टको बिक्री मूल्यमा भएको सुधार र भारत निर्यात बढेकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ८७ करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा कुल आम्दानीको करिब १२ प्रतिशत निर्यातबाट आर्जन गरेको थियो । तर, इण्डियन स्ट्याण्डर्ड ब्युरोको प्रमाणपत्र नवीकरणमा भएको ढिलाइलगायत नियामकीय अवरोधका कारण आर्थिक वर्ष २०८१/८२ मा निर्यात आम्दानी घटेर कुल आम्दानीको करिब ५ प्रतिशतमा सीमित भएको थियो । यद्यपि, गत वर्षको ९ महिनामा कम्पनीको निर्यात आम्दानी पुनः कुल आम्दानीको करिब १२ प्रतिशत पुगेको जनाएको छ । अर्घाखाँची सिमेन्ट लिमिटेड सन् १९९८ जुलाईमा डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको कम्पनी हो । सन् २०११ जुनमा कम्पनीको नाम परिवर्तन गरी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेड राखिएको थियो । पछि कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भई सन् २०२१ जुलाईमा अर्घाखाँची सिमेन्ट लिमिटेड नाम कायम गरिएको हो । कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता वार्षिक करिब १० लाख मेट्रिक टन तथा ग्राइन्डिङ युनिटको उत्पादन क्षमता वार्षिक करिब ८ लाख मेट्रिक टन रहेको छ । कम्पनीको सेयर तीनवटा व्यावसायिक समूह र एउटा भारतीय कम्पनीको स्वामित्वमा रहेको छ । कम्पनीको ३५ प्रतिशत सेयर सिद्धार्थ समूह, ३० प्रतिशत मुरारका समूह र १७.५ प्रतिशत केडिया समूहको स्वामित्वमा छ । बाँकी १७.५ प्रतिशत सेयर भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको रहेको छ । यी सेयरहरू तीनवटा व्यावसायिक समूहसँग आबद्ध १६ जना व्यक्तिको स्वामित्वमा समेत रहेका छन् । कम्पनीको कारखाना रुपन्देही जिल्लाको मैनहियामा रहेको छ । कम्पनीले हाल ‘अर्घाखाँची सिमेन्ट’ ब्रान्डअन्तर्गत साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको खुद चालु पुँजी र सञ्चालन आम्दानीबीचको अनुपात गत वर्षको ९ महिनासम्म करिब ५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात करिब ५० प्रतिशत थियो । यसले कम्पनीको सञ्चालनका लागि चालु पुँजीमा निर्भरता अझै उच्च रहेको देखाउँछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कम्पनीले करिब १०३ प्रतिशत बराबर लाभांश वितरण गरेको थियो । तर, गत वर्षको ९ महिनासम्म घोषित लाभांशको करिब ४८ प्रतिशत भुक्तानी हुन बाँकी रहेको जनाएको छ । उच्च लाभांश वितरण तथा भुक्तानीमा भएको ढिलाइले कम्पनीको तरलता अवस्थामा थप दबाब सिर्जना गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २७ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७९ करोड ७० लाख रुपैयाँ गरी कुल ४ अर्ब ७ करोड ६० लाख रुपैयाँ ऋण लिएको छ ।
६४.६७ अर्ब आम्दानीमा ६.७६ अर्ब नाफा, ३ कम्पनी घाटामा
काठमाडौं । पुँजी बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ कम्पनीमध्ये १७ वटाले कुल ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७४.१८ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा यी १७ कम्पनीले ३ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा युनिलिभर नेपालले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । सबैभन्दा बढी नाफा वृद्धि भने सोनापुर मिनिरल्स एन्ड आयलको भएको छ । कम्पनीको नाफा ६१३.५३ प्रतिशतले बढेर ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफा २८.१३ प्रतिशतले बढेर १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेपाल ल्युब आयलको नाफा २३.०२ प्रतिशतले वृद्धि भएर ५ करोड ५० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको नाफा १२.१९ प्रतिशतले बढेर १ करोड ७८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको नाफा ४.३० प्रतिशतले बढेर २२ लाख १३० रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको नाफा १.०८ प्रतिशतले वृद्धि भएर ६ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा युनिलिभर नेपालसहित पाँच कम्पनीको नाफा घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१३ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको नाफा ५९ प्रतिशतले घटेर ३ करोड ९९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । सर्वोत्तम पेन्ट्सको नाफा ११.३१ प्रतिशतले घटेर १ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टको नाफा १.७१ प्रतिशतले घटेर ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष घाटामा रहेका बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) भने गत वर्ष नाफामा फर्किएका छन् । अघिल्लो वर्ष ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (तराई)ले गत वर्ष ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, अघिल्लो वर्ष ४० करोड १ लाख ७० हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (बालाजु)ले गत वर्ष ८७ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा छन् । गत आर्थिक वर्षमा घोराही सिमेन्ट इन्डस्ट्रिजले ३० करोड ८० लाख ७२ हजार रुपैयाँ, सागर डिस्टिलरीले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ र ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेका छन् । ६४.६७ अर्बको कारोबार सार्वजनिक वित्तीय विवरणअनुसार उत्पादन तथा प्रशोधन समूहका १७ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२२ प्रतिशत अर्थात् १२ अर्ब ५२ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ७७ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी सञ्चालन आम्दानी वृद्धि सागर डिस्टिलरीको भएको छ । कम्पनीको आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयलको सञ्चालन आम्दानी ६९.९९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आम्दानी ५१ प्रतिशतले बढेर २१ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सर्वोत्तम पेन्ट्सको सञ्चालन आम्दानी ४८.२८ प्रतिशतले वृद्धि भएर २१ करोड ३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सञ्चालन आम्दानी २८.६४ प्रतिशतले बढेर १ अर्ब ८० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको आम्दानी २१.४९ प्रतिशतले वृद्धि भएर १७ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने नेपाल ल्युब आयलको सञ्चालन आम्दानी १७.१० प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सञ्चालन आम्दानी १५.९० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई)को आम्दानी १५.२८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टको आम्दानी १०.३९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको सञ्चालन आम्दानी ७.४९ प्रतिशतले बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अधिकांश कम्पनीको सञ्चालन आम्दानी बढेको देखिए पनि पाँच कम्पनीको आम्दानी घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सञ्चालन आम्दानी ८५.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ९६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । बोटलर्स नेपाल (बालाजु)को आम्दानी ८२.६३ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी १०.८६ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने युनिलिभर नेपालको सञ्चालन आम्दानी ४.०२ प्रतिशतले घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।