सूर्य नेपालको आम्दानी एक वर्षमै साढे ३२ अर्ब, उच्च करले अवैध कारोबारको चिन्ता

काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशत अर्थात् ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा २८ अर्ब ९९ करोड रुपैयाँ, आव २०७८/७९ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ३४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँ, आव २०७३/७४ मा २४ अर्ब २२ करोड ८० लाख रुपैयाँ र आव २०७२/७३ मा २१ अर्ब ७३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत र नेपाली संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालका निजी क्षेत्रका प्रमुख उत्पादनमूलक उद्योगमध्ये एक मानिने कम्पनी हाल चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्य सामग्रीको उत्पादन र बिक्रीमा संलग्न छ । अगरबत्ती व्यवसाय विस्तारका लागि कम्पनीले पूर्ण स्वामित्वको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसै वर्ष कम्पनीले ‘मरानी’ ब्रान्डअन्तर्गत प्रिमियम महको निर्यातसमेत सुरु गरेको जनाएको छ । कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, बिजुली र चौतारीलगायतका ब्रान्ड बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर फैलिएको वितरण सञ्जालमार्फत कम्पनीले १५० भन्दा बढी ग्राहकसँग प्रत्यक्ष कारोबार गर्दै आएको जनाएको छ । कम्पनीका अध्यक्ष सञ्जीव पुरी भारतको आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् । भारतीय प्राविधिक संस्थान कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्वविद्यार्थी पुरीले उत्पादन, सञ्चालन, सूचना तथा डिजिटल प्रविधिलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीसँग करिब ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, करिब १ अर्ब २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा करिब २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ सुविधा (क्रेडिट लाइन) लिएको जनाएको छ । कम्पनीका अनुसार यसको मुख्य नाफाको स्रोत रहेको चुरोट व्यवसाय उच्च कर प्रणाली र कडा नियामकीय व्यवस्थाको दबाबमा छ । चुरोटमा करको भार निरन्तर बढ्दै जाँदा कानुनी रूपमा सञ्चालन हुने उद्योगमाथि सञ्चालनसम्बन्धी दबाब बढेको कम्पनीको भनाइ छ । नेपालमा चुरोटको खरिद क्षमता तुलनात्मक रूपमा कम रहेको र यसको माग मूल्यप्रति संवेदनशील भएकाले कर वृद्धिसँगै उपभोक्ता खैनी, गुट्खालगायत सस्ता तथा कर छली हुने धुवाँरहित सुर्तीजन्य उत्पादनतर्फ आकर्षित हुन सक्ने कम्पनीले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अन्तर्गत जारी निर्देशिकाअनुसार चुरोटको प्याकेटको कम्तीमा ९० प्रतिशत भागमा ग्राफिक स्वास्थ्य चेतावनी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ । यो विश्वमै सबैभन्दा ठूलो स्वास्थ्य चेतावनी क्षेत्रमध्ये एक हो । यस्तो व्यवस्थाका कारण कम्पनीले आफ्नो ट्रेडमार्क तथा ब्रान्ड प्रदर्शन गर्न पर्याप्त स्थान नपाउने अवस्था सिर्जना भएको सूर्य नेपालले जनाएको छ । यसले अनिवार्य स्वास्थ्य चेतावनी नबोकेका तस्करीमार्फत भित्रिने अन्तर्राष्ट्रिय चुरोट ब्रान्डहरूको कारोबार बढ्न सक्ने जोखिम पनि रहेको कम्पनीले दाबी गरेका छ । यस्ता अवैध चुरोटलाई केही उपभोक्ताले तुलनात्मक रूपमा आकर्षक विकल्पका रूपमा लिन सक्ने भएकाले वैधानिक रूपमा उत्पादन हुने स्वदेशी चुरोटको मागमा नकारात्मक असर पर्न सक्ने जनाएको छ । कम्पनीले आफ्नो होल्डिङ कम्पनी आईटीसी लिमिटेडबाट व्यवस्थापकीय अनुभव, प्राविधिक दक्षता तथा व्यावसायिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ । सन् १९१० मा स्थापना भएको आईटीसी भारतको अग्रणी बहुआयामिक कम्पनीमध्ये एक हो । कम्पनीले चुरोट, ब्रान्डेड प्याकेज्ड खाद्य सामग्री, शैक्षिक तथा स्टेशनरी सामग्री, व्यक्तिगत सरसफाइका सामग्री, सेफ्टी म्याच, अगरबत्ती, कृषि व्यवसाय, पेपरबोर्ड, कागज तथा प्याकेजिङ र सूचना प्रविधिलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईटीसीको एग्री बिजनेस डिभिजनले सूर्य नेपालको आवश्यक तम्बाकु पातको आपूर्तिमा पनि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ । व्यवसाय विविधीकरण, गुणस्तरीय उत्पादन तथा नयाँ बजार विस्तारमार्फत सूर्य नेपालले नेपालको औद्योगिक क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ ।

प्रधानमन्त्रीसँग हस्तकला व्यवसायीको छलफल, के–के भयो कुराकानी ?

काठमाडौं । सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार (आज) नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने सहमति भएको हो ।  प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिए ।  यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उनको भनाइ छ।  नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य । उनका अनुसार प्रधानमन्त्री साहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिवद्धता जनाएका छन् ।  विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिने महासंघको प्रस्तावमा पनि प्रधानमन्त्रीले सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको अध्यक्ष शाक्यले जानकारी दिए ।  उनका अनुसार प्रधानमन्त्रीसँग हस्तकला वस्तुको निर्यात प्रवर्द्धन, नगद अनुदान, भ्याटसम्बन्धी समस्या, हस्तकलाकर्मी तथा कलाकारको परिचय व्यवस्थापन, निष्क्रिय रहेको सार्क हस्तकला विकास केन्द्र सञ्चालन तथा हस्तकलाका लागि छुट्टै नीतिगत व्यवस्था आवश्यक रहेको लगायतका विषयमा छलफल भएको थियो ।  प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए ।  अध्यक्ष शाक्यका अनुसार प्रधानमन्त्रीले सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाउने तथा सार्वजनिक संरचनामा नेपाली हस्तकलाको प्रयोग बढाउन सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा बिजक मूल्यांकन अनिवार्य गर्ने व्यवसायीको सुझाव अनुसार नै काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए । अध्यक्ष शाक्यका अनुसार हालसम्म व्यवसायीहरूले स्वघोषणाको आधारमा सामाग्री निर्यात गरिरहेका छन् । प्रधानमन्त्री साहले हस्तकला सामग्री निर्यात गर्दा व्यवसायीहरूले पाउनुपर्ने सोको पाँच प्रतिशत रकमलाई पनि निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । सो रकम तीन वर्षयता रोकिएको महासंघले जनाएको छ । उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएको महासंघका अध्यक्ष शाक्यले जानकारी दिए । यसबाहेक निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौताका लागि प्रधानमन्त्री सकारात्मक रहेको अध्यक्ष शाक्यको भनाइ छ । नेपालको हस्तकला उद्योगले वार्षिक करिब २७–२८ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको महासंघले जनाएको छ ।  महासंघका अनुसार हाल ८२ प्रकारका नेपाली हस्तकला सामग्री ६० देशमा निर्यात भइरहेको छ । अनलाइन बजार विस्तार, युवा सहभागिता र सहज नीतिगत वातावरण सिर्जना गर्न सके हस्तकला क्षेत्रले निर्यात, राजस्व वृद्धि र रोजगारी सिर्जनामा अझ ठूलो योगदान पुर्‍याउन सक्ने महासंघले जनाएको छ ।  प्रधानमन्त्रीसँगको छलफलमा महासंघका अध्यक्ष शाक्यसँगै वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

हस्तकला क्षेत्र प्रवर्द्धनमा सरकार सकारात्मक, पीपीपी मोडलमा बोर्ड गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसायीहरूसँग छलफल गरेका छन् । बुधबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल भएको हो। छलफलका क्रममा प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै उनीहरूले सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । यस्तै, निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरूको मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । अहिलेसम्म महासंघले मंसिर २८ मा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेको अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासंघका पदाधिकारीको माग थियो । प्रधानमन्त्री शाहले पनि उक्त दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिए । यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्रीले आश्वस्त पारे । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वासन दिए । हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरू नै कार्यालय (कम्पनी रजिस्ट्रार) रहेकोमा त्यो आफूहरूलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राखेका थिए । सोही अनुसार काम गर्ने प्रधानमन्त्री शाहले जानकारी दिए । यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् । निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौताका लागि प्रधानमन्त्रीसँग व्यवसायीहरूले अनुरोध गरेका थिए । यसबारेमा पनि प्रधानमन्त्री सकारात्मक रहेका छन् । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।