मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर
काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । आईसीसीको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो उद्योग–वाणिज्य संघ बनेसँगै नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । संघका अनुसार आईसीसी सदस्यतापछि नेपाली उद्योगी तथा व्यवसायीले विश्वव्यापी व्यापारिक सञ्जाल, अन्तर्राष्ट्रिय मञ्च, नीति निर्माणसम्बन्धी छलफल तथा विभिन्न व्यापार प्रवर्द्धन कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् । संघका अध्यक्ष अनुपम राठीले आईसीसी सदस्यताले नेपाली उद्योग तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गरेको बताए । उनका अनुसार यसबाट निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी प्राप्त गर्ने तथा विश्वस्तरीय व्यापारिक साझेदारी विस्तार गर्न सहयोग पुग्नेछ । आईसीसीमार्फत नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक भेटघाट, बी–टु–बी कार्यक्रम, तालिम, सेमिनार, वेबिनार तथा विभिन्न अनुसन्धानमूलक प्रतिवेदन र व्यापारसम्बन्धी सामग्रीमा पहुँच पाउने संघले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार विवाद समाधानका लागि आईसीसीका मध्यस्थता तथा विवाद समाधान सेवासमेत उपयोग गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, निर्यात वृद्धि गर्न र नेपालको व्यापारिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
२ महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन, ३३ लाख निकासा
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो । मन्त्रालयका अनुसार प्रतिवेदन औपचारिक रूपमा बुझाइए पनि परीक्षण उत्पादनको तयारी भने यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योगका मेसिन मर्मत र अन्य प्राविधिक तयारी अघि बढाइसकेको छ । सरकारले दिएको निर्देशनानुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ । सोही म्यादलाई ध्यानमा राखेर हाल तीव्र रूपमा काम अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ, जसले गर्दा प्रारम्भिक कामहरू गर्न सहज भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोलीले उद्योग स्थलमा खटिएर सरसफाइ कार्य तीव्र पारेको छ । टोलीले परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको र सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मतको काम प्रारम्भ गरेको छ । उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख रुपैयाँको लागत अनुमान पेस भएको छ । सोही अनुमानका आधारमा पूर्वाधार मन्त्रालयले संरचनाहरू मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ र हालसम्म बिजुली मर्मतको कामसमेत सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ । तत्कालका लागि परीक्षण उत्पादनकै उद्देश्यले पुराना मेसिनहरूलाई मर्मत गरेरै सञ्चालन गरिनेछ । परीक्षण उत्पादनको नतिजा र आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । सोही अनुरूप आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णयहरू गर्दै सरकार अगाडि बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । उद्योगमन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरिन् भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले बताए । त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।