काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आगामी मंसिर १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा सञ्चालन हुने यस मेलाको यो ११औं संस्करण हो ।
क्यालेन्डर इभेन्टको रूपमा प्रत्येक वर्ष हुँदै आएको यस मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश, र भुटानलगायत सार्क राष्ट्र तथा कोरिया, जापान लगायतका देशका क्रेता र व्यापारीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा २०० भन्दा बढी स्टलहरू रहनेछन् जहाँ स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शन गरिनेछ । यस वर्षको मेलाको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू र विद्युतीय गाडीहरू (ईभी) को छुट्टै पेभेलियन रहनेछ ।
यसका साथै हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू पनि राखिनेछन् । मेलाको मुख्य उद्देश्य नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्नुका साथै नेपाल व्यापार एकीकृत रणनीतिमा विशेष रूपमा पहिचान गरिएका अलैंची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला तथा पश्मिना, गलैंचा, कफी, नेपाली कागज तथा कागजजन्य वस्तु, तयारी पोशाक लगायतका निर्यातयोग्य वस्तुहरूको उत्पादन तथा निर्यात वृद्धि गर्न सहयोग पुर्याउनु रहेको छ ।
यसका साथै, अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया, नेपाली र चिनियाँ व्यापारीबीच प्रत्यक्ष भेटघाट तथा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानीबारे छलफल गराउने लक्ष्य राखिएको छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
महासंघकै नेतृत्वमा यस वर्ष पनि मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत रूपमा विभिन्न भागमा आयोजना हुने पत्रहरू प्राप्त भईरहेका छन् र विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाईमा निःशुल्क स्टल उपलब्ध गराइनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाइसकेको यस मेलाको नियमित आयोजनबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने दृढ विश्वास महासंघले लिएको छ ।