नागरिक उड्डयन प्राधिकरणले देशभरका खाली जग्गामा होटल र विजनेस कम्प्लेक्स बनाउने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो स्वामित्वमा रहेको देशभरको जग्गा होटल तथा विजनेस कम्प्लेक्स बनाउन भाडामा दिने भएको छ । क्यानसँग देशभर १६४ विघाभन्दा बढी खाली जमिन छ । क्यानले काठमाडौं सिनामंगल सहित विभिन्न चार विमानस्थलका जग्गा भाडामा लगाउने तयारी थालेको हो । विमानस्थल वरपर रहेका जग्गाहरु पछिल्लो समय प्रयोगविहीन हुन थालेको भन्दै क्यानले जग्गा भाडामा दिने तयारी गरेको हो । क्यानमा महानिर्देशकका रुपमा इन्जिनियर प्रदीप अधिकारीले पदभार सम्हाले लगतै खाली रहेको जग्गा भाडामा दिने तयारी थालेका हुन । उनले धेरै जग्गा खाली रहेका तराईका विमानस्थलको जग्गाको अध्ययन गर्न समिति गठन गरेका थिए । क्यानका निर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन भएको थियो । उक्त समितिले काठमाडौंको सिनामंगल, विराटनगर, भैरहवा र पोखरा विमानस्थलका नजिकै रहेका खाली जग्गा भाडामा लगाउन सक्ने प्रतिवेदन बुझाइसकेको छ । सो समितिले चार विमानस्थलमा रहेका करिब १६४ विघा जग्गा भाडामा दिन सकिने प्रतिवेदन बुझाएपछि दिने तयारी सुरु भएको हो । सिनामंगलमा रहेको ९१ रोपनी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थको ३० रोपनी, भैरहवा विमानस्थलको १५० विघा र विराटनगर विमानस्थलका दुई स्थानमा रहेका ५ विघा जग्गा भाडामा लगाउन सकिने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जग्गा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५० विघा जग्गामा व्यवसायिक जडीबुटी खेती, हाइ–इण्ड पाँचतारे होटल लगायत संचालनको सम्भावना बनाउन सकिने उल्लेख छ । यस्तैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पार्किङसम्म रहेको ३० रोपनी जग्गा भाडामा लगाउन सकिने उल्लेख छ । पोखरा विमानस्थलको जग्गा भिरालो स्थानमा रहेको भन्दै समितिले ‘अम्ब्रेला स्ट्रिट’ संचालनमा ल्याउन सकिने जनाएको छ । विराटनगर विमानस्थलको सुनसरीको इटहरीमा रहेको तीन बिघा जग्गामा होटल र सपिङ सेन्टर तथा विराटनगर (मोरङ) को नोबेल मेडिकल कलेजनजिकै रहेको २ बिघा जग्गामा बिजनेस कम्प्लेक्स संचालनको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यो खालको व्यवसाय सञ्चालन गर्न उपयुक्त हुने उल्लेख गरिए तापनि काठमाडौं बाहेकका विमानस्थलमा खुला बोलपत्र आह्वान गरिने निरौलाले बताए । ‘हामीले यो खालको उपयुक्त हुन्छ भनेर सुझाव दिएका हौं, काठमाडौंमा पहिला नै तोकिएका कारण हामीले अन्य कुरा उल्लेख गरेनौं, अन्यमा खुला बोलपत्र आह्वान गरी आएका निवेदनका आधारमा प्रक्रिया अनुसार नै कम्पनी छनोट हुन्छ’, उनले भने । सिनामंगलमा पहिला नै निर्णय सिनामंगलमा रहेको ९१ रोपनी जमिनमा (हाल आयोजना निर्देशनालयको कार्यालय छेउमा सशस्त्र प्रहरी बल विपद् उद्धार गण बसेको) यसअघि नै पाँचतारे होटल बनाउने निर्णय भएको थियो । २०७२ पुस २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि आवश्यक पर्ने जग्गा र उपयोगको सम्बन्धमा आर्थिक तथा पूर्वाधार समितिको निर्णय अनुसार २०७२ को माघ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिनामंगलमा रहेको जग्गामा पाँचतारे होटल सञ्चालनको तयारी गर्न क्यानलाई अनुमति दिएको थियो । ‘अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने सुरक्षा लगायतका भौतिक पूर्वाधार विकास गर्न बाधा नपर्ने गरी निर्माण स्वामित्वकरण–सञ्चालन र हस्तान्तरण प्रणालीमा पाँचतारे होटल, एकिकृत पर्यटन प्रवद्र्धन गर्न स्तरीय मनोरञ्जनात्मक पर्यटकीय पूर्वाधार स्थल (सांस्कृतिक हल, सिनेमा थिएटर, विविध नेपाली परिकारसहितको फुकोर्ट, उपहार बिक्री कक्ष, फन पार्क, हरियाली उद्यम, एंव भूमिगत ट्याक्सी–बस पार्क) आदि सहितको विस्तृत परियोजना प्रतिवेदन तयारी प्रतिस्पर्धाका माध्यमबाट प्राधिकरणलाई अधिकतम लाभ हुने गरी जग्गा लिजमा प्रदान गर्न क्यानलाई स्वीकृत दिने’, मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो । ६ वर्षअघि नै मन्त्रिपरिषद्को बैठकले नै सिनामंगलमा रहेको जग्गामा पाँचतारे होटल सहितका पूर्वाधार बनाउन दिने निर्णयका आधारमा समितिले सोही कुरा उल्लेख गरेको अध्ययन समितिका संयोजक निरौलाले बताए । यसअघि कति वर्ष लिजनमा दिने भन्ने विषय टुंगोमा नलाग्दा निर्णय कार्यान्वयनमा आउन नसकेको पाइएपछि पुनः सोही कुरा प्रतिवेदनमा उल्लेख गरिएको उनको भनाई छ । यसअघिको निर्णयका आधारमा समितिले २५ वर्षदेखि ३० वर्षको अवधिका लागि सो जग्गा लिजनमा दिन उपयुक्त हुने जनाएकोे छ । निरौलाले ३० वर्षसम्म भाडामा दिन सक्ने प्रावधान सहित नयाँ व्यवस्था लागू गर्न खोजिएको बताए । उनका अनुसार वार्षिक रुपमा जग्गाको मूल्य अनुसारको भाडामा बृद्धिसँगै कम्पनीहरुले गर्ने सेल्स (बिक्री) को केही प्रतिशत रकम बुझाउनु पर्नेछ भने सम्झौता अवधि सकिएपछि जग्गामा बनेको संरचना सम्बन्धित निकायको स्वामित्वमा आउनेछ । प्राधिकरण पूर्वाधार संरचना नियमावली २०६६ लाई आधार बनाएर समितिले नयाँ अवधारण डिएफओेटी (डिजाइन फाइनान्स अपरेण्ट ट्रान्सपोर्ट) अनुसार पीपीए मोडलमा जग्गा भाडामा लगाउन सक्ने प्रतिवेदनमा उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटसँगै रहेको जग्गा सोही अवधारणा अनुसार भाडामा दिइएको छ । ३० वर्षको लागि लिजमा दिइएको जग्गामा बनेको संरचनामा सञ्चालित व्यवसायबाट पहिलो १० वर्षमा बिक्रीको ५, दोस्रो १० वर्षमा १५ र अन्तिम १० वर्षमा २५ प्रतिशत रकम भाडामा लिने कम्पनीले क्यानलाई बुझाउने शर्त छ । र, भाडामा जग्गा लिने कम्पनीले क्यानलाई भाडा पनि बुझाइरहेको छ । निरौलाले अहिले क्यान आफैले होटल बनाएर भाडामा दिन सक्ने अवस्था नभएको भन्दै खुला बोलपत्र आह्वान गरेर कम्पनी छनोट गरिने बताए । ‘हामी आफैले होटल बनाउने होइन, अहिले यतिकै खाली रहेको जग्गाको प्रयोग गरी क्यानले केही आम्दानी गर्नमात्र खोजेको हो, हामीले सरकारी जग्गाको संरक्षणसँगै केही आम्दानी होस भन्ने उद्देश्य मात्र राखेका हौं,’ निरौलाले भने । चार विमानस्थलको जग्गा भाडामा दिने निर्णय क्यान बोर्ड बैठकले पारित गर्नुपर्नेछ । त्यसपछि सो निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्नेछ ।
आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा फ्रिमा देश घुम्ने माैका
काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नि:शुल्क हवाई टिकट जित्ने माैका पाउनेछने । फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म ग्राहकहरुले नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि नि:शुल्क उडान टिकट पाउनेछन् । नि:शूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको आइएमई पेले जनाएकाे छ । अफर अवधिभरी ४ जना भाग्यशाली विजेताहरु छानिनेछन् जसमध्ये हरेक विजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरुले उल्लेखित गन्तव्य मध्ये एउटा रोज्न पाउने कम्पनीले जनाएकाे छ ।
यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल’
भैरहवा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल । राष्ट्रिय गौरवका अन्य आयोजना समस्याग्रस्त बनिरहेका बेला गौतमबुद्ध विमानस्थको निर्माण प्रगति अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुगेको हो । रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न गरेको यो विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । उनले समस्याग्रस्त अवस्थामा रहेको आयोजनाले निर्माण सम्पन्न मात्रै भनई नागरिक उड्डयन इतिहासमा उदाहरणीय बनेको बताए । उनले भने, ‘रुग्ण अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कसरी सफल भयो । नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा ‘भर्जिन रनवे’ मा जहाज अवतरण भयो । यो नेपालको एभिएशनमा अर्को उदाहरण हो । आश मारिसकेको परियोजना कसरी सफल भयो भन्ने दरिलो उदाहरण पनि बनेको छ ।’ सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन निर्माण पनि छिट्टै सुरु गरिनेछ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौं विमानस्थलकै क्षमताको हुनेछ । जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध विमानस्थबाट नारायणी पश्चिम जिल्लाका नागरिकलाई बढी लाभ लिन सक्नेछन् । काठमाडौं विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतमबुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्शन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गरे । बौद्धमार्गीको हब विमानस्थल नेपालको पर्यटन प्रवद्र्धनका निम्ति गौतमबुद्ध विमानस्थलको निकै महत्व रहने बताइन्छ । सगरमाथा र गौतमबुद्धको देश भनेर चिनाउन पनि यो विमानस्थलको महत्वपूर्ण भूमिका हुने महानिर्देशक अधिकारीको भनाइ छ । गौतमबुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलङ्का, म्यानमार, कम्बोडियालगायत मुलुकबाट सिधा हवाई उडान हुने विश्वास लिइएको छ । गौतमबुद्ध विमानस्थलमा हालकै हवाई रुटमार्फत उडान गरिनेछ । हाल सिमराबाट ‘हवाई इन्ट्री रुट’ रहेको छ । थप रुटका लागि नेपालले भारतसँग पहल गरिरहेको छ । प्रसिद्ध लुम्बिनी क्षेत्र नजिकै रहेकाले लुम्बिनीको प्रवद्र्धनमा पनि यो विमानस्थले टेवा पुग्छ । विश्वभरका बौद्धमार्गी सम्बन्धित मुलुकबाट सिधै लुम्बिनी पुग्ने भएकाले पनि यो विमानस्थलको महत्व रहेको महानिर्देशक अधिकारीको भनाइ छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । गौतमबुद्ध विमानस्थल पनि अहिलेको अवस्थामा करिब २० लाख मात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ । अन्तरराष्ट्रिय विमानस्थलका लागि चाहिने आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भएको र भन्सार, अध्यागमनलगायत तयारी गरेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । क्यालिब्रेशनको प्रारम्भिक प्रतिवेदन सकारात्मक गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो । उडानमा रहेको जहाजको उचाइ, दूरी, मार्ग तथा उडान र अवतरण गर्दा धावनमार्गमा जडित बत्ती (लाइट), सञ्चारसँग सम्बन्धित उपकरणको परीक्षण भएको विमानस्थलले जनाएको छ । क्यालिब्रेशन फ्लाइट किन गरिन्छ ? गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन निर्माण गरिसकेपछि सञ्चालनमा ल्याउँदा सुरक्षित हवाई उडानको प्रत्याभूत गराउनुपर्ने हुन्छ । हवाई जहाजलाई कसरी सुरक्षित उडान अवतरण गराउन सक्छौँ, सप्लाइ आइसिपी सिएनएस एटिएम जिरो टू (सी–कम्युनिकेशन, एअरक्राफ्टमा भएका पाइलट र ग्राउन्डमा भएको टावरबीचको कम्युनिकेशन र नेभिगेशन (पथप्रदर्शक गर्ने) यन्त्र हो । मौसमी उपकरण पनि जडान गरिएको छ । विमानस्थलमा अत्याधुनिक उपकरणका रुपमा आइएलएस प्रणाली जडान गरिएको छ । जसले मौसम खराबीको अवस्थामा पनि जहाजलाई सजिले अवतरण गराउन सकिन्छ । भविष्यमा यसलाई अझ विस्तृत बनाइने विमानस्थलको योजना छ । क्यालिब्रेशन उडान विशेष प्रकृतिको जहाजबाट गरिन्छ । ग्राउन्डमा इन्जिनियरले जडान गरेका उपकरणहरुलाई अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरुप छन् कि छैनन् । सञ्चार प्रक्रिया ठीक ढङ्गले भइरहेको छ कि छैन । विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउँदा अन्तरराष्ट्रिय स्तरको मापदण्डअनुरुप छ कि छैन भनेर क्यालिब्रेशन उडान गरिएको आइसिपी टू का आयोजनाका प्रमुख इन्जिनीयर प्रवीण न्यौपानेले जानकारी दिए । उनले प्रारम्भिक प्रतिवेदन सन्तोषजनक पाइएको बताए । अन्तिम रिपोर्ट आएपछि सम्पूर्ण जानकारी प्राप्त हुनेछ । विमानस्थलको दुई चरण आइसिपी ‘वान’ (भौतिक संरचनाः निर्माण धावनमार्ग र टर्मिनल भवन) तथा आइसिवी ‘टू’ (सञ्चार उपकरण जडानः यान्त्रिक उपकरण) अन्तर्गतको काम सम्पन्न भएको हो । आइसिपी टूको ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक परीक्षण उडान गरेको थियो । आइसिपी टू आयोजना प्रमुख न्यौपानेका अनुसार उडान प्रतिवेदन सकेसम्म दुई साताभित्रै उपलब्ध गराउन आग्रह गरिएको छ । नेपाल एयरलाइन्सले परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्ने जनाइएको छ । निगमको वाइड बडी ‘ए’ ३३० जहाजले परीक्षण उडान गरिनेछ । आइकाओको सर्टिफिकेशन सकेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । वैशाख १ गते ‘नयाँ वर्षमा नयाँ विमानस्थल’ थिमसहित विमानस्थलमा परीक्षण उडान हुने र जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । रासस