निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको बताए । उनले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्नेगरी अगाडी बढ्न शुभकामना दिए । कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताए । आगामी दिनमा पनि देशलाई विश्माझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको उनले उल्लेख गरे । पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व किर्तिमान कायम राखेका छन् । उनकाे १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।

पोखराकेन्द्रीत उडान गर्न बुद्धले थप्यो नयाँ जहाज, थप ३ जहाज आउँदै

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले नयाँ जहाज थप गरेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्नका लागि बुद्धले नयाँ जहाज थप गरेको हो । ७२ सिट क्षमताको एटीआर जहाज बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ जहाज थप भएसँगै बुद्धसँग १६ वटा जहाज भएको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुने बुद्धले जनाएको छ । यस्तै, बुद्धले गत जनवरीदेखि नै अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्ध एयरले विज्ञिप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्नेछ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने तयारी भएको जनाए । उनका अनुसार बुद्धले पछिल्लोे समय पोखराबाट देशका विभिन्न गन्तव्यसँग सिधा उडान गर्दै आएको छ ।

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान सुरु

काठमाडाैं । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले आज (बुधबार)बाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेको समेत बताए । प्रमुख कार्यकारी अधिकृत रिमालले भने, ‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिवद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ ।’ त्यस्तै तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । उनले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । अबका दिनमा सो विमानस्थलमा आईतबार र बिहीबार दुई दिनको लागि उडान तालिका बनाएको पनि जानकारी दिए । पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी थिए ।