पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरमा जोडियो

काठमाडाैं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिए । पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताए । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान सुरु गरेको छ । बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ । पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए । बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ ।

विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान, २ घण्टा एयरपोर्ट बन्द

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएको छ । प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म सो विमानस्थलमा क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको परीक्षणका लागि क्यालिब्रेसज उडान भएपछि २ घन्टासम्म विमानस्थल बन्द गर्न प्राधिकरणले नोटाम जारी गरेको छ । भैरहवामा निर्माणभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान गर्न आएको एरोथाईको विराटनगरले विमानस्थलको परीक्षण गर्न लागेको हो । सो जहाजले गौतमबुद्ध विमानस्थलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार र शुक्रबार २ दिन लगाएर परीक्षण उडान गरेको थियो ।

बन्दीपुरमा पहिलो पटक ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिए। नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ । बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ । पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रुपमा पनि प्रयोग गर्न सक्नेछन् । उनले “कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो ।’’ सम्पूर्ण घर निर्माण गर्दा करिब रु १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ । साढे दुईतल्लाको घर निर्माणमा आधुनिक तथा परम्परागत शैली अपनाइने र त्यहाँ अन्य हाउजिङमा जस्तै सबै सेवासुविधा उपलब्ध गराइनेछ । दश वटा हाउजिङमध्ये हालसम्ममा पाँच वटा बिक्री भइसकेको कम्पनीका सञ्चालक आशुतोष प्रधानले बताउनुभयो । हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गा मिलाउने र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको छ । एकैपटक सम्पूर्ण घर निर्माण गरी २०८० को वैशाख १ गतेभित्र घरधनीलाई हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । चार आना तीन पैसामा बन्ने घरको मूल्य रु एक करोड ३० लाख र अधिकतम मूल्य रु एक करोड ८० लाख निर्धारण गरिएको छ ।बढीक्षेत्रफलको जमिनमा बन्ने घरको सोहीअनुसार मूल्य तय हुने बताइएको छ । उक्त घरमा भान्सा कोठा, पूजा कोठा, एटेच बाथरुमसहितका पाँच वटा बेडरुम हुनेछन् । नमूना किचन, डाइनिङ र स्टोरका साथै व्यक्तिगत कम्पाउन्ड पनि बनाइने र हाउजिङभित्र चिल्ड्रेन पार्क, स्विमिङ पुल र सम्मेलन कक्ष, पार्किङलगायत सुविधा पनि राखिने भएको छ ।