शिवम् एयरलाइन्सले पायो उडान अनुमति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ। एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनले भने, ‘शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको छ, अब उसले पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्नेछ।’ मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी छ। प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको उक्त एअरलाइन्सका सञ्चालकमध्येका दिनेश आचार्यले बताए। उनले भने, ‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ।’ हाल कम्पनीको चुक्ता पुँजी पर्यटन मन्त्रालयको कार्यविधिअनुसार १५ करोड रुपैयाँ रहेको बताइएको छ। कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको दुई वर्षमा तीनवटा जहाज ल्याएर उडान सञ्चालन गर्ने योजना रहेको आचार्यले जानकारी दिए। रासस
भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा
काठमाडौं । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ । यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन् । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।’ व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ । यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार उक्त विमानस्थलका लागि कूल १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी रहेको छ । यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन् । यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनका अनुसार ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् । मन्त्री आलेले नेपालमा पर्यटन प्रवद्र्धन तथा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । कोरोना महामारीका कारण सबैभन्दा धेरै मुलुकको पर्यटन क्षेत्रमा क्षति पुगेकाले यो क्षेत्रलाई थोरै भए पनि सहयोग पुगोस् भनेर सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारेको भन्दै भैरहवाबाट विदेशी पर्यटक लुम्बिनी भित्र्याउन केही सहयोग पुग्ने अपेक्षाका साथ तोकिएकै समयमा यो विमानस्थल सञ्चालनमा ल्याउन आफू लागिपरेको बताए । सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो । रासस
गृहमन्त्री खाणको प्रश्नः भैरहवा विमानस्थल ११ अर्बमा बन्ने, पोखरामा २५ अर्ब कसरी लाग्यो ?
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ सरकारको लगानीमा पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रश्न उठाएका छन् । उनले सो विमानस्थल निर्माणमा लागेको लागतमा प्रश्न उठाएका हुन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्काे भएको बताए । उनले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सानो विमानस्थलको लागत झन्डै दोब्बर भएको भन्दै लागत पारदरर्शी नभएको बताए । ‘म गृहमन्त्री छु, मैले यस्ले बनाएको राम्रो उसले बनाएको नराम्रो भन्न मिल्दैन, तर भैरहवा विमानस्थलको रनवे भन्दा कम रनवे (सानो विमानस्थ) बनाउन धेरै खर्च लागेको मैले बुझेको छु’, उनले भने, ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ? गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम नलिने उनले बताए । ‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको मेरो गाउँको भैरहवा विमानस्थल ११ अर्बमा बन्ने त्यो विमानस्थलको लागत किन २५ अर्ब किन ?’ विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान प्रति उनले बिरोध गरे । यस्ता लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको खाणले बताए । उनले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह पनि गरेका छन् । उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्क समेत गरे । एमसीसी परियोजना घरघरमा बिजुली पुर्याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे । बिजुलीको ट्रान्समिसन लाईन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद्ध नआउने उनले बताए ।