७.१२ अर्बमा द ओबेरोई होटल बनाउँदै सिद्धार्थशमशेर जबरा
काठमाडौं । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्स प्रालिले काठमाडौंको रविभवनमा ७५ कोठाको विलासी होटल द ओबेरोई काठमाडौं निर्माण गरिरहेको छ । सन् २००४ जनवरीमा स्थापना भएको कम्पनीले भारतस्थित द ओबेरोई होटल्स एन्ड रिसोट्र्स लिमिटेडसँगको सहकार्यमा उक्त होटल निर्माण गरिरहेको हो । होटल निर्माणको अनुमानित लागत ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ रहेको छ । परियोजनामा ऋण र पुँजीको अनुपात ६०:४० कायम गरिएको छ । कुल परियोजना लागतमध्ये बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ ऋण लिने योजना रहेको छ भने प्रवर्द्धकको पुँजी लगानी २ अर्ब ८५ करोड रुपैयाँ रहनेछ । परियोजनाको निर्माण कार्य सन् २०२५ जुनदेखि सुरु भएको हो । २०२६ जुन मध्यसम्म प्रवर्द्धकले कुल पुँजी आवश्यकताको करिब ८४ प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ लगानी गरिसकेको छ । बाँकी करिब १६ प्रतिशत पुँजी पनि समयमै लगानी हुने कम्पनीले जनाएको छ । २०२६ जुलाई मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब ३८ प्रतिशत पुगेको छ भने निर्माणतर्फको प्रगति करिब ५७ प्रतिशत रहेको छ । व्यवस्थापनले होटलको सञ्चालन सन् २०२९ सेप्टेम्बरदेखि सुरु गर्ने लक्ष्य राखेको छ । यसअघि सञ्चालनको लक्ष्य सन् २०२९ जुन रहेकोमा संशोधन गरी सेप्टेम्बर पुर्याइएको हो । द ओबेरोई होटल्स एन्ड रिसोट्र्ससँगको सहकार्यलाई परियोजनाको प्रमुख सकारात्मक पक्षका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय पहिचान र ठूलो ग्राहक आधार रहेको विलासी होटल ब्रान्डसँगको सहकार्यले होटल सञ्चालनमा आएपछि सुरुवाती ग्राहक आकर्षण तथा अधिभोग दर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, ओबेरोई समूहका स्थापित सञ्चालन मापदण्डले होटलको बजार पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्समा सिद्धार्थशमशेर जबराको ६० प्रतिशत स्वामित्व रहेको छ । बाँकी ४० प्रतिशत स्वामित्व सूर्य इन्टरप्राइजेज प्रालि र एसआर होल्डिङ्सको समान २०-२० प्रतिशत रहेको छ । यी दुवै संस्थामा पनि जबराको मुख्य स्वामित्व रहेको छ । परियोजनाको निर्माण प्रगतिसँगै यान्त्रिक, विद्युतीय तथा प्लम्बिङसम्बन्धी कामको सम्झौता अन्तिम चरणमा पुगेको छ । उक्त सम्झौता छिट्टै टुंगिने कम्पनीले जनाएको छ । तर, प्लान्ट, मेसिनरी तथा उपकरणसम्बन्धी केही महत्वपूर्ण सम्झौता अझै अन्तिम भएका छैनन् । यी सामग्रीको ठूलो हिस्सा अमेरिकी डलरमा खरिद हुने भएकाले विदेशी विनिमय दर तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण लागत बढ्न सक्ने जोखिम कायमै रहेको छ । परियोजनाको प्रतिकोठा लागत करिब ९ करोड ५० लाख रुपैयाँ र प्रतिकोठा ऋणभार करिब ५ करोड ७० लाख रुपैयाँ रहनेछ । तुलनात्मक रूपमा उच्च प्रतिकोठा लागत र होटल क्षेत्रमा रहने उच्च सञ्चालन खर्चका कारण होटल सञ्चालनको प्रारम्भिक वर्षमा वित्तीय अवस्थामा दबाब पर्न सक्ने देखिएको छ । होटलले पूर्ण सञ्चालन स्थायित्व हासिल गर्न समय लागेमा प्रवद्र्धकबाट थप वित्तीय सहयोग आवश्यक पर्न सक्नेछ । काठमाडौंको आतिथ्य क्षेत्रमा विद्यमान तथा निर्माणाधीन नयाँ होटलका कारण प्रतिस्पर्धा पनि उच्च रहेको छ । तीमध्ये धेरै होटल अन्तर्राष्ट्रिय होटल शृङ्खलासँग आबद्ध छन् । यसले नयाँ होटलको सञ्चालन स्थायित्व हासिल गर्ने अवधि लम्ब्याउन सक्ने जोखिम रहेको छ । यद्यपि, विलासी होटलले लक्षित गर्ने विशिष्ट ग्राहक वर्गले यस्तो प्रतिस्पर्धाको प्रभाव केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार होटल तथा आतिथ्य व्यवसाय पर्यटक आगमनमा हुने मौसमी उतारचढाव र यात्राको ढाँचामा हुने परिवर्तनप्रति पनि संवेदनशील रहने गरेको छ । पर्यटक आगमन व्यापक आर्थिक अवस्था, पर्यटनसम्बन्धी नीति, भूराजनीतिक घटनाक्रम, प्राकृतिक विपत्ति तथा अन्य नियामकीय र समष्टिगत आर्थिक घटनाक्रमबाट प्रभावित हुन सक्छ । यस्ता घटनाक्रमले होटलको अधिभोग दर, कोठाको शुल्क तथा समग्र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम रहेको छ । नेपाल सरकारको पर्यटन प्रवद्र्धनसम्बन्धी नीतिगत प्रयास, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनले आतिथ्य तथा पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारत र चीनजस्ता ठूला बजारको बीचमा नेपालको भौगोलिक अवस्थिति तथा पछिल्ला वर्षमा बढ्दो अन्तर्राष्ट्रिय पर्यटक आगमनले पनि पर्यटन क्षेत्रको सम्भावनालाई बल पुर्याएको छ । ओबेरोई होटल्स एन्ड रिसोट्र्स भारतको नयाँदिल्लीमा मुख्यालय रहेको विलासी होटल समूह हो । सन् १९३४ मा स्थापना भएको समूहले ओबेरोई होटल्स एन्ड रिसोट्र्स र ट्राइडेन्ट ब्रान्डअन्तर्गत ७ देशमा ३२ वटा विलासी होटल तथा पर्यटकीय जहाज सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्सका प्रवद्र्धक सिद्धार्थशमशेर जबराको विभिन्न क्षेत्रमा व्यावसायिक संलग्नता रहेको छ । उनी सन् २०१७ को आर्थिक वर्षमा चौथोपटक सर्वाधिक व्यक्तिगत कर तिर्ने व्यक्ति बनेका थिए ।
नेपाल पर्यटनका लागि खुला छ : नाट्टाको ‘नेपाल बोलाउँदैछ’ अभियान
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शनिवार र आइतबार ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानअन्तर्गत कार्यक्रम गर्न लागेको हो । अभियानमार्फत नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिने नाट्टाले जनाएको छ । अभियानको पहिलो दिन शनिबार बिहान ८ बजे ‘नाट्टा स्वच्छ तथा हरियाली अभियान’ सञ्चालन हुनेछ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सरसफाइ गरिने नाट्टाका महासचिव राजकुमार देवकोटाले जानकारी दिए । दोस्रो दिन आइतबार बिहान ७ बजे ‘नेपाल बोलाउँदैछ–नाट्टा सम्पदा दौड’ आयोजना हुनेछ । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु हुने करिब ६ किलोमिटर दौड पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ । दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघसंस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहने उनले बताए । अभियानले नेपालको सम्पदा, संस्कृति, वातावरण र पर्यटनलाई जोड्दै नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिने उनको भनाइ छ। नाट्टाले दुवै कार्यक्रमलाई विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालका सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।
हिमालय एयरलाइन्सले हाङझाउ उडान सुरु गर्दै, सातामा दुई उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । आगामी बुधबार (असोज १४ गते) देखि हिमालय एयरलाइन्सले नयाँ रुटमा उडान गर्न लागेको हो। उक्त उडान कम्पनीका लागि कोसेढुङ्गा रहेको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (एचजीएच)बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्न लागेको हो । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि रहने कम्पनीको दावी छ । नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ । काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिनेछ । प्रारम्भिक योजनाअनुसार ऐतिहासिक काठमाडौं–हाङझाउ उडान (एच ९ २२५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी बुधबार साँझ सवा ५ बजे उडान गरी बिहीबार (असोज १५) को बिहान चीनको स्थानीय समयअनुसार १ बजेर ५ मिनेट जाँदा हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । त्यसैगरी, हाङझाउ–काठमाडौं उडानले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १५ गते (अक्टोबर १) मा स्थानीय समयअनुसार ०२ः०५ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६ः२० मा काठमाडौं अवतरण गर्नेछ । हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे । हिमालय एयरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमध्ये तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूसंयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्याएको उच्च व्यवस्थापन र क्षमताप्रति कम्पनीले उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।