काठमाडौं । वायुसेवा सञ्चालकहरूले नेपाल आयल निगमले हवाई इन्धनमा धेरै नाफा राखेर मूल्य बढाएको बताएका छन् । निगमले बिहीबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको थियो ।
निगमले नाफा धेरै राखेर हवाई इन्धनको मूल्य बढाएको भन्दै वायुसेवा सञ्चालकहरुले विरोध जनाएका हुन् । निजी वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संंघले शुक्रबार निगमका कार्यकारी निर्देशकलाई पत्र पठाउँदै हवाई इन्धनको मूल्य घटाउन आग्रह गरेका हुन् ।
‘यसअघि हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ भन्दा धेरै नाफा नराख्ने सहमति भएको थियो, तर अहिले निगमले प्रतिलिटर २३ रुपैयाँ पु¥याएको छ । यो पूर्वसहमति विपरीत छ । नाफा धेरै लिएर यात्रुको ढाड सेक्ने काम कसैले पनि नगरौँ’ निगमलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
निगमले यसअघिको सहमति अनुसार हवाई इन्धनमा १० रुपैयाँभन्दा बढी नाफा नलिने आग्रह गर्दै मूल्य समायोजन गर्न अनुरोध गरेको छ । संघले अनुरोध वेवास्ता भए संघले हवाई इन्धन खरिद गर्न बन्द गरी अत्यधिक व्यवभारका कारण उडान नै बन्द गर्नु बाध्य हुने जनाएको छ ।
वायुसेवा सञ्चालक संघले हवाई यात्रालाई विलासी वर्गमा राखिएकोमा पनि आपत्ति जनाएको छ । नेपालका सबै ठाउँमा सडक सञ्जाल विस्तार नभएको, सडक भएको ठाउँमा पनि अवरोध रहित यातायात सुनिश्चित नभएकाले न्यून आय भएकाहरू पनि हवाइ यात्रा गरिरहेको सन्दर्भमा यसलाई अत्यावश्यक यातायात मान्नुपर्ने संघले माग गरेको छ ।