काठमाडौं । च्याटजीपीटीको मूल कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ ।
कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेको प्रक्रियाभन्दा बाहिर गएर संवेदनशील सूचनाको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र कम्पनीको सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन् ।
तर ओपनएआईले ती अनुसन्धानकर्ताले कस्तो सूचना मागेका थिए वा त्यसको कसरी प्रयोग गरेका थिए भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
यद्यपि, उनीहरूले एआई सुरक्षाका क्षेत्रमा काम गरिरहेको एक स्वतन्त्र संस्थासँग कम्पनीको गोप्य सूचना साझा गरेको आरोप लागेको बताइएको छ ।
ती तीनै अनुसन्धानकर्ता एआई मोडलको सुरक्षा क्षेत्रमा कार्यरत थिए । यो यस्तो क्षेत्र हो, जहाँ अनुसन्धानकर्तालाई कम्पनीका मोडलको प्रदर्शन र त्यससँग जोडिएका जोखिमबारे संवेदनशील आन्तरिक सूचनामा पहुँच हुने गर्छ ।
ओपनएआईले उनीहरूको बर्खास्ती सुरक्षा सम्बन्धी चिन्ता उठाएका कारण नभएको स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार, कारबाही गोप्य सूचनामा पहुँच र त्यसको व्यवस्थापन गर्ने तरिकासँग सम्बन्धित छ ।