राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गरी शिखा स्कुलले उपाधि जितेको हो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगञ्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिए । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरिका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी व्यक्त गरे । नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। यसअघि कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरू आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गरिन् ।
१२ टोली सहभागी हुने कर्पोरेट क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु हुँदै
काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्रतियोगिता आगामी मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ । यसमा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्रीसहित १२ टोलीको सहभागिता रहनेछ । आयोजकका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनले प्रतियोगितालाई थप सशक्त बनाएको छ । प्रतियोगिताको उद्देश्य कर्पोरेट क्षेत्रभित्र सहकार्य अभिवृद्धि गर्नु, आपसी सम्बन्ध विस्तार गर्नु तथा खेलकुदमार्फत कार्य–जीवन सन्तुलन प्रवर्द्धन गर्नु हो । राउन्ड टेबल नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका प्रतिनिधिहरूका अनुसार, प्रतियोगिता केवल क्रिकेटमा सीमित नभई साझा उद्देश्यका लागि व्यक्तिहरूलाई एकत्रित गर्ने प्रभावकारी माध्यम पनि हो । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले प्रतिस्पर्धा, सहकार्य र सामाजिक उत्तरदायित्वबीच सन्तुलित समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।
विश्वकप लिग-२: ओमानसँग नेपाल १०२ रनले पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल डक लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित भएको हो । जितका लागि ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव ५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो । त्यसपछि पनि वर्षा नरोकिएपछि खेल सञ्चालन हुन सकेन र ‘डीएल मेथड’का आधारमा ओमान विजयी भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन् । त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४–१४ रन जोडे । कप्तान रोहित पौडेलले १० रनमा आउट भए । बलिङतर्फ ओमानका नदिम खानले तीन विकेट लिँदा शाकिल अहमदले दुई विकेट लिए । त्यसअघि टस जितेर जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको थियो । ओमानको इनिङ्सका जतिन्दर सिंहले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे ।