काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोएल्सले काठमाडौं गोर्खाजसामु जितका लागि १२६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको हो ।
सुरुवाती ब्याटिङ क्रम पूर्ण रूपमा धर्मराए पनि कप्तान दीपेन्द्र सिंह ऐरीको संयमित तथा जिम्मेवारीपूर्ण अर्धशतकीय इनिङ्सको मद्दतले सुदूरपश्चिम सम्मानजनक स्कोरसम्म पुग्न सफल भयो ।
इनिङ्सको सुरुवातमा काठमान्डुका बलरहरूले दबाब सिर्जना गर्दा सुदूरपश्चिमले मात्र ८ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । दोस्रो ओभरमै क्रिजमा आएका कप्तान दीपेन्द्रले दबाबका बीच टोलीको इनिङ्स सम्हालेका थिए । अन्तिम ओभरमा आउट हुनुअघि उनले ५५ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६० रन जोडे ।
जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो; यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । यससँगै उनी जारी एनपीएलमा दुई अर्धशतक प्रहार गर्ने काठमान्डुका रासिद खानपछिको दोस्रो खेलाडीसमेत बनेका छन् ।
सुदूरपश्चिमको इनिङ्स उकास्ने क्रममा कप्तान दीपेन्द्रले मध्यक्रमका ब्याटरहरूसँग दुई महत्त्वपूर्ण अर्धशतकीय साझेदारी गरे । उनले पाँचौं विकेटका लागि आरिफ शेखसँग ५४ रनको साझेदारी गर्दै टोलीलाई सुरुवाती संकटबाट बाहिर निकालेका थिए, जसमा आरिफले २५ बलमा १ चौकासहित १६ रनको योगदान दिए ।
त्यस्तै, दीपेन्द्रले छैटौँ विकेटका लागि थरिन्दु रत्नायकेसँग पनि ५४ रनकै अर्को महत्त्वपूर्ण साझेदारी गरे । थरिन्दुले २३ बल खेल्दै ३ चौकाको मद्दतमा अविजित २६ रन बनाए ।
काठमाडौं गोर्खाजका बलरहरूले सुरुवाती ओभरहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए । काठमाडौंका लागि जहानदाद खानले ४ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
यसैगरी, सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट हात पारे । सन्तोषले खेलको दोस्रो ओभरमै ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई शून्य रनमै पेभेलियन फर्काउँदै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त पारेका थिए ।