स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पुर्याएको बताए । सो अवसरमा सम्मानित मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । रासस
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व होः मुख्यमन्त्री पौडेल
हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गरेका छन् । “काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्था समेतको सहभागितामा ‘भोकै कोही पर्दैनन, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ जसको कोही छैन, त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय, खानपान तथा औषधोपचारसमेतको व्यवस्था गर्ने, परिवार भएकाहरुलाई परिवारको जिम्मा लगाउने तथा आगामी दिनमा समेत सडक मानवरहित महानगर बनाउने सङ्कल्पसहित शुभारम्भ हुन लागेको महाअभियान आफैँमा महत्वपूर्ण भएको उल्लेख छ । रासस
घोराहीमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम शुरु
काठमाडौं । घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरु गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरु गरिएको हो । चालुआर्थिक वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा नौ वडामात्रै सहभागी भएका छन् । कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिए पनि वडा नं ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरु गरिने उनले बताए । प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षमा वडा नं १ मा पिँडालु खेती, वडा नं ३ मा आलु, वडा नं ४ मा प्याज, वडा नं ५ मा टमाटर, वडा नं ६ मा आलु, वडा नं १० मा आलु, वडा नं १३ मा पनि आलु, वडा नं १७ मा सिमी र वडा नं १९ मा कागती खेतीका लागि छनोट गरिएको छ । त्यसका लागि शाखाले प्रतिवडा ९५ हजारदेखि दुई लाख रुपैयाँसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालु आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ । उपमहानगरका अनुसार चालु आवमा १८ पावर ट्र्याक्टर वितरण गरेको छ । यस्तै गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताए । उनका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताए । रासस