एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको हो । बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक सोम गुरुङ लगायतको सहभागिता थियो । सो रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री बितरण गरिने बताइएको छ ।

सहुलियत दरको ऋण बारे धादिङमा जनचेतना

काठमाडौँ । २०७२ सालको भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा युके एडको सक्षम (एक्सेस टु फाइनान्स कार्यक्रम) ले धादिङमा तीन दिने जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम असार ३१ देखि साउन २ सम्म ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा सम्पन्न भएको हो । जनचेतना कार्यक्रमहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वैदेशिक सहायता संयोजन शाखाका प्रमुख दिव्यराज पोखरेल तथा प्राधिकरण कै बैंकिङ संयोजन विशेषज्ञन मिता पौडेलको सहभागिता रहेको थियो । धादिङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद खेमप्रसाद लोहनी ज्वालामुखी गाउँपालिकामा भएको कार्यक्रमका प्रमुख वक्ता थिए । साथै गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडा तथा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रतिनिधि आनन्दराज पाण्डे अन्य वक्ता थिए । नीलकण्ठ नगरपालिकामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, नगरपालिकाका उपमेयर मानराज भण्डारी, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका धादिङका परियोजना प्रमुख जयराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।धुनवेशी नगरपालिकामा भएको कार्यक्रमका नगरपालिकाका मेयर बालकृष्णआचार्य, उपमेयर निरु खरेल तथा नगरपालिका कै सुजनराज खनाल उपस्थित थिए । उक्त कार्यक्रममा सहुलियत ऋणका विविध पक्षका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोखरेल तथा पौडेलले संयुक्तरूपमा प्रस्तुति गरेका थिए । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने विभिन्न कागजातहरू लगायतका बारेमा व्याख्या गरिएका पर्चाहरुसक्षमले जारी गरेको थियो । सो अवसरमा आवास पुनर्निर्माण आयोजनाका प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वको बारेमा प्रष्ट पारेका थिए। उक्त कार्यक्रमहरूमा सम्बन्धित गाउँ र नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू, तथा लाभग्राहीको सहभागिता रहेको थियो ।प्राधिकरणका प्रतिनिधिहरू तथा सक्षमका अर्यालले कार्यक्रममा आएका जिज्ञासाहरूको उत्तर दिएका थिए।

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा  उक्त प्रतियोगिता गर्न लागेकाे हाे । कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताएका छन् । विगतका वर्षमा प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यसवर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको र यसबाट सङ्घीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन टेवा पुग्ने विश्वास आयोजकको छ । गत वर्षसम्म खुला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा प्रतिस्पर्धा गराइएकामा यस वर्षदेखि पुरुष डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । राष्ट्रियतर्फ ४५ प्लस भेट्रान्स तथा ५५ प्लस खुला र गण्डकी प्रदेशस्तरीय पुरुष डबल खुल्ला तथा पुरुष डबल्स खुला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । राष्ट्रिय खुल्लामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु ५० हजार, ३० हजार तथा रु १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् भने खुल्ला गण्डकीस्तरीय ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समूहले क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । प्रतियोगितामा २६० खेलाडीले भाग लिने अनुमान गरिएको छ । रासस