वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण साहले एक समारोहका बीच उक्त काउण्टरको उद्घाटन गरेका हुन् । बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

यातायात व्यवसायीको लगानी डुब्न दिदैनौँः मन्त्री महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको लगानी डुब्न नदिने बताए । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘यातायात क्षेत्रलाई सरकारको सधैँ साथ सहयोग रहन्छ ।’ उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले आफूहरु रुपान्तरित भएर कम्पनीमा आइसकेको बताए । अध्यक्ष कर्माचार्यले सरकारबाट थप सहयोगको अपेक्षा गरेको र सबै यातायात व्यवसायीहरु कम्पनीमा जाने समेत वताए । त्यसैगरी सिप्रदी सिईओ राजनबाबु श्रेष्ठले नेपालको बाटो र भौगोलिक क्षेत्रलाई हेरेर मात्र आफ्नो कम्पनीले गाडी भित्र्याएको बताए । लोत्से सहकारी संस्थाका अध्यक्ष दीपक कुवँरले सरकारले बसपार्कलाई व्यवस्थित र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।

आज साउने सङ्क्रान्ति, महिनाभर शिवको पूजा

काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।