धरानमा मिस पुर्वाञ्चल- २०१९ आयोजना हुँदै
काठमाडौं । “नेपाल आईस मिस पुर्वाञ्चल २०१९” को दशौं संस्करणको तयारी भइरहेको छ । उक्त कार्यक्रम आगामी पौष ५ गते धरानमा आयोजना हुने भएको हाे । यस प्रतियोगीतामा सहभागी प्रतिष्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाईक पाउने प्रतिष्पर्धी “फेस अफ डिभाईन” टाईटल सहित नगद रु. १५ हजार पुरस्कार पाउने छन् । मिस पुर्वाञ्चलको दसौ संस्करणमा “डिभाईन वाइन” को उत्पादक “श्री महाकाली वाइन प्रा. लि.” “सह–प्रायोजक” रहेका छन् । गत वर्षको उक्त टाईटल, सबै भन्दा बढी लाईक पाएकी प्रतियोगी “आकृति आचार्य” ले जितेकी थिइन् । यो वर्ष मिस पुर्वाञ्चलको दसौं संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, र सिमरन लिम्बु, रतुवामाई–ईटहरीबाट विपना तामाङ्ग, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, ईटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी जम्मा २१ जना प्रतिस्प्रर्धी रहेका छन् ।
विदेशी कपडामा शोखिन नेपाली, ४ महिनामै साढे १३ अर्बको आयात
काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक आयातित कपडाको मात्रै हो । देशभित्र उत्पादन भएका कपडाको यसमा मूल्य समावेश गरिएको छैन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको यो अवधिमा १३ अर्ब ६० करोड रुपैयाँको नेपालमा तयारी कपडा आयात भएकाे छ । नेपालीको आयमा आएको परिवर्तनसँगै यस्ता कपडा खरिदमा ८.४ प्रतिशतले वृद्धि भएको हाे । नेपालीको आयमा भएको वृद्धिसँगै उनीहरूको शोखमा पनि परिवर्तन आएको छ । सरकारी तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय औसतमा १ लाख १८ हजार ८ सय ८३ रुपैयाँ अर्थात १ हजार ४७ डलर हो । औसतमा एक नेपालीले लाखभन्दा केहीमात्रै बढी रकम कमाएपनि खर्च भने ठूलो देखिएको छ । यो खर्च त मात्रै तयारी पोशाकको हो । यदि प्रतिमेगावाट १६ करोड रुपैयाँमा विद्युत उत्पादन हुने हो भने तयारीको पोशाकमा छोटो अवधिमा बाहिरिएको सो रकमबाट ८५ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यी वाहेक हजारौ यस्तै वस्तु नेपालमा विदेशी बजारबाट भित्रने गरेका छन् । यसमा पनि ठूलो खर्च हुने गरेको छ । हाल नेपाली बजारमा चीनबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको छ भने त्यसपछि थाइल्याण्ड, भारत, जापान, अमेरिकालगायतका देशबाट तयारी कपडा आयात हुने गरेका छन् । नेपाली तयारी पोशाक उद्योग धरापमा परेपछि विदेशी कपडाको आयात वर्षैपिच्छे बढ्दै गएको छ । डेढ दशक अघिसम्म नेपाली तयारी पोशाक विश्व बजारमा उत्कृष्ट मानिन्थ्याे । आयातित कपडाभन्दा नेपाली ब्राण्डका कपडाको बजार मूल्य महँगाे भएकोले सस्ता कपडा खोज्दा आयात बढी हुने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । कुनै कपडा भने अत्यन्त महँगा पनि छन् । नेपालीले आफ्नो हैसियत अनुसार बजार रोज्नु पर्ने उनको भनाइ छ । यो वर्ष त नेपालमै पनि कपडा उत्पादन हुन थालेका छन, आयात त घट्नु पर्ने हो, उनले भने । ‘विदेशी कपडाको तुलनामा हामी अति महँगाे छौं,’ उनले भने ‘जबसम्म सरकारले नेपाली उत्पादनलाई सस्तो बनाउने योजना कार्यान्वयनमा ल्याउँदैन, तबसम्म नेपालबाट यसरी नै कपडामै ठूलो रकम बाहिरिरहन्छ । ‘हामी जस्ता पनि कपडा उत्पादन गर्न सक्छौ,’ तर आयातित कपडाको कारण बजारमा टिक्न सक्ने अवस्था छैन । कच्चा पदार्थ आयात गरेर कपडा उत्पादन गर्दा अन्य देशले उत्पादन गरेका कपडाको तुलनामा नेपाली कपडा महँगाे पर्न जान्छ । सरकारले चालु आवको बजेटमार्फत कपडा उद्योगका लागि भन्सार महशुल घटाउनुका साथै उद्योगले खपत गर्ने विद्युत महशुलमा समेत ५० प्रतिशत छुट दिएको छ । सरकारले यस्ता फजुल आयातलाई नरोक्दा व्यापार घाटा बढेको उनले बताए । सरकार राजस्वमुखी मात्रै भयो,’ अर्यालले भने ‘ आन्तरिक उत्पादनले मात्रै देशलाई दिगो रुपमा आम्दानी दिने हो । ’ सरकारले यो बुझ्न जरुरी छ । ’
याेजना विद्युत बेच्ने, कञ्चनपुरकाे पिलरीफाँटा भने दुई दशकदेखि अँध्याराेमा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुँदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहुँदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै आएका छन् । “आठ वर्षअघि चुनावका बेला बस्तीमा विद्युत् सेवा विस्तारका लागि फालिएका विद्युत्का पोल ल्याउँदा गाउँमा विद्युत् सेवा विस्तार हुन्छ भनेर सोचेका थियौँ”, स्थानीय मिलन जप्रेले भने, “पोल जस्तो अवस्थामा छाडेर गएका थिए, अहिले पनि त्यही अवस्थामा छन्, ठड्याउने कार्यसमेत हुनसकेको छैन ।” टुकीको सहायताले रातिका बेला काम गर्नुपर्दा सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिका र गृहिणी श्वासप्रश्वासको समस्या खेप्न बाध्य छन् । ‘रातभरि छिमेकी गाउँमा झिलीमिली विद्युत् बलेको हुन्छ’, कलावती जाग्रीले भनिन्, “हाम्रो गाउँमा धिपधिपे टुकी बलिरहेको हुन्छ, विद्युत् बलेको देख्न चाहन्छौँ, त्यो इच्छा पुरा हुने छाँट देखिँदैन ।” ‘स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले चुनावमा विद्युत् बाल्ने, सिँचाइ, खानेपानी पुर्याउने बाचा गरेका थिए, बाचाअनुसार चुनावमा मतदान पनि गर्यौ, कसैले पनि समस्या समाधान गरेनन्’, पदम धामीले भने । केही दिनअघि मात्रै नगरप्रमुख दिलबहादुर ऐरले बस्तीमै पुगेर मङ्सिर महिनाभित्रै विद्यत् पुर्याउने बाचा गरे पनि अझै विद्युत् विस्तार गर्ने कार्यको सुरसार नगरिएको उनले बताए । नगरप्रमुख ऐर पिलरीफाँटामा छिट्टै विद्युत् सेवाका लागि पहल भइरहेको बताउँछन् । “विद्युत् विस्तारका लागि ठेक्का भइसकेको छ”, उनले भने, “केही दिनमा विद्युत् सेवा विस्तारको कार्य हुन्छ, जनतासँग गरेका बाचा पुरा गरेरै छाड्छौँ ।’