प्रहरीकाे सेट बाेकेर धम्क्याउदै हिड्ने युवक पक्राउ

काठमाडौं । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुर्व्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ । अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

माइती नेपालद्वारा २३९ महिला तथा बालबालिकाको उद्धार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताएका छन् । “बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।” भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उनले सुनाए । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ । “पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भनिन्, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।” माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् । “भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भनिन्, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।” कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिइन् । “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्”, उनले भनिन्, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।” सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ । “बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भनिन्, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।” त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ । उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताएकी छन् । “मानव बेचबिखनमा दलालहरु सक्रिय भइरहँदा हामीसित उद्धारमा खटिने एउटा सरकारी संयन्त्र गठन हुनसकेको छैन”, उनले भनिन्, “यहाँ जोखिम रहेको बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुनु जरुरी छ ।” रासस

जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता खोलिने

खलङ्गा । जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पुर्याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताएका छन् । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताए । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताए । स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहोराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको बताएका हुन् । गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पुर्याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताए । “अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भने, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताए । रासस