सेञ्चुरी बैंकले नेपाल आखाँदान समाजलाई गर्यो सहयोग

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई सहयोग गरिएको बैंकले जनाएको छ । आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावश्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

बाढीका कारण ३०० परिवार उच्च जाेखिममा, १३ दिनदेखि रेल्वे लिकमा बास

गौशाला । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन् । उक्त नदी निकारमै रहेको डठौरा गाउँमा बाढी आएपछि नदीको तटबन्ध भत्किएर बाढी गाउँमै पसेपछि उनीहरू घर छोडेर रेल्वे लिकमा बास बसेको स्थानीयवासी शनिश्चरी सदाले बताएका छ् । बाढीले गाउँका सबै घर भत्काएकाले अझैसम्म जमिरहेको पानीले अति प्रभावित उनीहरु रेल्वे लिकमा पाल टाँगेर झरी र घामको सामना गर्न बाध्य छन् । रेल्वे लिकमा बास बस्दै आएका उनीहरुलाई खाना, खानेपानी, बस्न, सुत्न, स्वास्थ्य र शौचालयको निक्कै समस्या भएको स्थानीयवासी जीवछ सदाले बताए । यसरी, गाउँबाट पानी नहटेका कारण अहिले पनि रेल्वे लिकमै खुल्ला आकाशमुनि नै जीवन गुजार्न बाध्य हुनुपर्दा महामारी हुनसक्ने चिन्ताले सताएको उनीहरु बताउँछन् ।करिब ३०० परिवारका १०० भन्दा बढी बालबालिका बाढीकै पानीमा दिनभर नुहाउने, माछा मार्ने र हिलोमैलो खेल्ने गरेका कारण बालबालिका पनि रोग र महामारीका साथै सर्पदंशको पनि उच्च जोखिममा रहेको स्थानीयवासी उमेश सदा बताउँछन् । रासस

विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा गर्यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो । नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् । रासस