नक्कली नोट छाप्ने उपकरणसहित चार गिराेह पक्राउ
धनगढी । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । रासस
साफ च्याम्पियनशिपः नेपालले पहिलाे प्रतिस्पर्धा भारतसँग गर्ने
भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको हो । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । यसैगरी, मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन् । रासस
बालबालिकाले किन रोज्छन् आत्महत्या ? अभिभावकले के के कुरामा ध्यान दिने ?
काठमाडौं । ८ बर्षको कलिलो उमेरको बालकले आत्महत्या गर्नसक्छन् भन्ने कुरालाई धेरै जनाले नकार्न सक्छन् । मानिस सोच्छन् निर्णय लिन नसक्ने बालबालिकाले आत्महत्याको बारेमा सोच्दै सोच्दैनन् । तर, विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृत्यु आत्महत्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । नेपालमा पछिल्लो समय सानै उमेरमा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएको देखिन्छ । केही हप्ता अगाडि ललितपुरका एक बालकले शिक्षकले र घरमा दाई भाउजुले गाली गरेको कारण उल्लेख गर्दै एउटा चिट्ठी लेखी आत्माहत्या गरे । भर्खरै मात्र बुटवलका १२ कक्षामा अध्ययनरत एक युवाले आफ्ना बुवासँग माफी माग्दै आफ्ना शिक्षकको कारण आत्माहत्या गरेको कारण खुलाए । उनका बुवाले चिट्ठीको आधारमा उक्त शिक्षकलाई उजुरी त हाले तर उनी स्वयम्लाई कसले उजुरी हाल्ने ? के उनले आफ्नो छोरालाई नबुझाउनु उनको गल्ती होईन ? उनले छोराबाट चाहेभन्दा बढी अपेक्षा राख्नु उनको कमजोरी होईन ? के छोरालाई आफु नालायक भएको महसुस गराउने तिनै अभिभावक होइनन् ? बालबालिका र युवाहरु किन आत्माहत्या गर्छन् र यसका लागि अभिभावकहरु कति जिम्मेवार छन् भन्ने बिषयमा पाटन अस्पतालमा मनोविज्ञ बासु आचार्यसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी: बालबालिकामा आत्माहत्या गर्ने चाहना कसरी आउँछ ? बालबालिकाहरुलाई उमेर सानो भएको कारण उनीहरुमा तनाव व्यवस्थापन गर्ने क्षमता हुँदैन । धेरै अभिभावकहरुले आफ्ना बालबालिकालाई कुनैपनि परिस्थितिलाई कसरी सामना गर्ने, कुन अवस्थामा आफुलाई कसरी सम्हाल्ने भन्ने कुरा सिकाएका हुँदैनन् । बालबालिका रिसाउने, रुने समयमा अभिभावकहरुले उनीहरुलाई मोबाईल, ट्याबहरु चलाऊन दिने, उनीहरुले चाहेको सामानहरु खरिद गरेर आफ्ना बालबालिकाका खुशी बनाउने गर्दछन् । तर यी उपायहरु क्षणिक मात्र हुन् । यो उपाय केही हदसम्म बाहिरी रुपमा सही पनि हो, तर जुन उसले सिक्दै जान्छ त्यसले भविश्यमा नकारात्मक असर पार्न जान्छ । यसरी बालबालिकालाई उनीहरुको हरेक ईच्छा, आकांक्षाहरु पूरा गर्दै जाँदा उनीहरुमा बिस्तारै सहनशक्ती हराउँदै जान्छ, उनीहरुलाई जीवन सजिलो छ भन्ने लाग्छ । सधैं राम्रो सुन्ने, राम्रो खाने लाउने अवस्थामा उनीहरुलाई जीवनमा दुःख पनि हुन्छ भन्ने महसुस हुँदैन । उनीहरुलाई समस्याको हल मोबाइल चलाउनु, सामान खरिद गर्नु भन्ने मात्र सम्झन्छन् र उनीहरु जीवनको अभावको बारेमा बुझदैनन् । जीवन जसरी अगाडि बढ्दै जान्छ, बिना कुनै तनाव हुर्किएका बालबालिका दुःख, अभाव देखेर हुर्किएका बालबालिकाको दाँजोमा मानसिक रुपमा कमजोर हुन्छन् । यधापी जब समस्या आउँछ उनीहरुले बिस्तारै आफुले भनेका सबै कुरा जिन्दगीमा पाइन्दैनन् भन्ने महसुस हुँदै जान्छ । उनीहरु छटपटिन थाल्दछन् । के गर्ने भन्ने कुरा सोच्नै सक्दैनन्, नतिजा उनीहरु झनै कमजोर हुन्छन् र डिप्रेसनमा जाने र अन्त्यमा आत्माहत्याको बाटोलाई रोजछन् । उदाहरणको लागि एउटा सडक बालकलाई कसैले खाते भन्ने शब्द प्रयोग गर्छ भने उसलाई खासै फरक पर्दैन, तर जब एउटा धनी परिवारको कुनै बालक कसैले खाते भनेर भन्छ तब उ रुन्छ किनभने उसले तनाव बहन गर्न नै सिकेको हुँदैन। किन जिम्मेवार छन् अभिभावक ? अभिभावकहरुकोले छोराछोरीप्रति राखेका अनावश्यक आशाहरुको कारण पनि बालबालिका त्यसलाई पूरा गर्न नसक्दा दुखी हुने गर्दछन् । यसरी पनि उनीहरु आफुलाई असक्षम सम्झेर आत्माहत्या जस्ता गलत कदम चाल्न पुग्छन् । अभिभावकहरु आफ्ना छोराछोरी प्रति धेरै नै आशा राख्छन् । उनीहरु ती आशाहरु बहन गर्न सक्ने क्षमताका छन् वा छैनन् भन्ने कुराको कुनै ज्ञान बिना आफ्ना अधुरा सपनाका पोकाहरु अभिभावकहरु बालबालिका माथि खन्याउने गर्दछन् । तर एकातर्फ भर्खरै बढ्दै गरेका उमेरका बालबालिकाको आ–आफ्नै योजनाहरु रहेका हुन्छन्, जुन धेरै जसो अभिभावकको भन्दा फरक हुने गर्छ । अभिभावक र बालबालिकाबीच भएको पुस्तान्तरणले गर्दा उनीहरुको सोचमा धेरै नै फरक हुने गर्दछ । जसकारण अभिभावकहरु बालबालिकालाई बुझदैनन् र बालबालिकाहरु अभिभावकका कुरा बुझ्न अक्षम हुन जान्छन् । यसरी अभिभावकले कुरा नबुझ्दा छोराछोरीहरु आफुलाई एक्लो मह्सुस गर्ने गर्दछन्, जसले उनीहरुलाई बिस्तारै बाँध्दै लैजान्छ र उनीहरु आत्माहत्या गर्न सोच्न थाल्छन् । आत्महत्याको कारण अध्ययनहरुले ९० प्रतिशत आत्माहत्याको कारण मानसिक तनाव भएको बताउँछ । यसमा सबैभन्दा बढीमा देखिएको समस्या डिप्रेसन हो । मनोविज्ञहरुका अनुसार आत्माहत्या गर्ने सोच आउनु जीवन चक्रमा समस्या र तनावको कारण हुने स्वभाविक सोच होईन । तनावपूर्ण जिन्दगी बिताईरहेका व्यक्ती, हरबखत चिन्ता, रिस महसुस गरिरहने व्यक्तीहरुलाई आत्माहत्या गर्ने सोचहरु आउने गर्दछ । मनोचिकित्सकहरु यस्तो अवस्थामा भएका जो कोहीलाई यस्तो हुने बित्तिकै प्रोफेसनल व्यक्तिबाट परामर्श लिन सुझाव दिन्छन् । डिप्रेसन भएका बालबालिकामा देखिने लक्षण डिप्रेशन भएका बालबालिका सामान्य बालबालिका भन्दा केही हदसम्म फरक हुने गर्दछन् । उनीहरु बढी रिसाउने, रुने, कराउने, एक्लै बस्न मन पराउने, कोहीसँग मिल्न नखोज्ने, खानाप्रति अभिरुची राख्ने, होमवर्क गर्न मन नगर्ने जस्ता लक्षण देखाउँछन् । यस्तो लक्षण देखिने बित्तिकै हरेक अभिभावक सचेत हुनु पर्दछ । उनीहरुले समयमा बच्चाहरुसँग कुराकानी गरी उनिहरुलाई परामर्शको लागि लैजानु पर्दछ । उनीहरुलाई पिटेर सजय दिएर मात्र समस्याको समाधान भने पक्कै पनि हुँदैन ।