सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन हस्तान्तरण

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरेका हुन् । बैंकले अस्पतालमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।

 झापामा भारतीय ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीद्वारा सवारी साधन जाँचमा कडाइ, १० लाख बढी राजश्व सङ्कलन

डाेटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा एक महिनाको अवधिमा कूल रु १० लाख बढी राजश्व सङ्कलन गरेको छ । पछिल्लो सयम जिल्लामा खटिएको ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेको छ । सवारी जाँचमा कडाइ गर्दा राजश्व सङ्कलनमा वृद्धि तथा दुर्घटनामा कमी आएको जनाइएको छ । उक्त कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७४/७५ मा चार हजार २ सय ३६ सवारी चालकलाई कारबाही गरी रु २३ लाख २४ हजार ५०० राजश्व सङ्कलन भएको थियो । आव २०७५/७६ मा चार हजार ४ सय ५४ लाई कारवाही गरी रु २४ लाख ५९ हजार राजश्व सङ्कलन भएको थियो । चालु आवको मङ्सिर महिनासम्ममा कूल एक हजार ६२९ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिए । उनले भने, “हाम्रो उद्देश्य भनेको राजश्व सङ्कलन गर्नेभन्दा पनि सवारी दुर्घटना रोक्ने हो, हामी त्यहीअनुसार काम गरिरहेका छौँ ।” आव २०७४/७५ मा सडक दुर्घटनामा परी ३० तथा आव २०७५/७६ मा ११ जनाको मृत्यु भएको थियो । चालु आव २०७६/२०७७ को कात्तिकसम्ममा चार जनाको मृत्यु भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै ट्राफिक प्रहरी बस्ने भवन र दरबन्दीअनुसारका ट्राफिक प्रहरी नहुँदा पनि ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको कार्यालयले जनाएको छ । जनशक्ति अभाव डोटीमा मात्र नभई सुदूरपश्चिमका सबै जिल्लामा रहेको र क्रमिक रूपमा ट्राफिक प्रहरी सङ्ख्या थपिँदै जाने सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, “जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन्, तर पनि आफूसँग भएको जनशक्ति र स्रोतसाधनलाई पूर्णरूपमा प्रयोग गरेका छौँ, सेवा प्रवाहमा बाधा हुन दिन्नौँ ।” ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन गरेको ट्राफिक सचेतना अभियानअनुसार सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा तीन जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने, लापरवाही गर्ने, नम्बरप्लेट नभएका तथा बिदाको दिन सरकारी सवारी साधन चलाउनेलाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायल डोटीले जनाएको छ । आवश्यकताअनुसार ट्राफिक प्रहरीको सङ्ख्या कमी भए पनि जिल्लाका मुख्य बजार बुडर, बिपीनगर, सानागाँउ, तिलताली, सिलगढी र दिपायल बजारमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । उनले भने, “जनशक्ति अभाव हुँदा पनि जिल्लाका प्रमुख बजारमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, सडक पुगेका जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि विस्तारै परिचालन गर्ने योजनामा छौँ ।” रासस