एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडको ५० औँ वैवाहिक स्वर्ण जयन्ती समापन, वरमाला सहित पुनःविवाह
काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी श्रीमति सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती काठमाडौँको हायात होटलमा सम्पन्न भएको छ । वैशाख महिनामा बारा जिल्लाको जीतपुर सिमराबाट सुरु गरिएको स्वर्ण जयन्तीको उत्सब एमभी दुगड ग्रुपका काठमाडौं स्थित हाईड्रोपावर र अटोमोवाईल्सका गरी लगभग ५ सय कर्मचारीहरुले काठमाडौंमा समापन गरेका हुन् । हायात होटेलको प्राङ्गणमा पाईला टेक्ना साथ जन्ती लश्कर र फूलमालाले सजाइएको बग्गि र त्यस्को ठीक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दम्दार पहरा सङ्गै नेपाली पञ्चेबाजा र ब्याण्डबाजामा दम्पत्तीको बग्गी सवारी लगत्तै वरमाला सहित पुनःविवाहको कार्यक्रम सँगसँगै करिब सात घण्टाको साँस्कृतिक कार्यक्रम रहेको गरिएको थियो । कार्यक्रममा एमभि दुगड ग्रुपका अध्यक्ष, परिवार र सम्र्पूण पूरुष कर्मचारीहरु राष्ट्रिय पोसाक दौरा सुरुवाल र भादगाउँले टोपीमा प्रस्तूत भएका थिए । उक्त कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, साँस्कृतिक नृत्य, अन्प्लग गायन, स्ट्याण्ड अपकमेडि, ¥याप लगायत विशेष प्रस्तूतिहरु कर्मचारीहरु र परिवारबाट मात्र गरिएको थियो । कार्यक्रम शूभागमल जम्मडको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एमभी दुगड़ ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष मोतीलाल दुगड़ले कर्मचारीहरुमा लूकेको प्रतिभा देखेर प्रसन्न हूदै यस्तो अभुतपूर्व माया, आर्कषक प्रस्तूति र ऐतिहासिक सम्मान पाएकोमा आफ्नो व्यापारिक र औद्योगिक ५५बर्षको यात्रा सफल भएको बताए । उपाध्यक्ष विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका निमित्त आफ्ना एमभी दुगड ग्रुपका कर्मचारीहरुले हृदय देखि नै देखाएको सहासिक साँस्कृतिक प्रस्तुतिको खुलेर तारिफ गरेका थिए ।
नेपाली सेनाले लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठी गर्ने
काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिएका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । प्रधानसेनापति थापाले भने, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस
आज नागपञ्चमी: सर्प, अग्नि र चट्याङको भयबाट बच्न नागको पूजा
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । एउटा प्रख्यात किंवदन्ती छ “एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए, ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन्, रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।” संयोगले किसानकी छोरी घरबाहिर रहेकाले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नूस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैका दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन बर्सातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । रासस