ग्लोबल आइएमई बैंकद्धारा आयोजित कार्यक्रममा ४७७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७७ जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले गरी करिब ५०० जनाले रक्तदान गरेका हुन् । साथै, बैंकले रक्तदानका साथै निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आफ्नो केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका हुन् । केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गतेदेखि एक महिनासम्म विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गर्दैछ ।

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

वासिङ्टन डिसी । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दूध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ । चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो । ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए । अध्ययनको नेतृत्व गरेका डा. जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए । रासस

जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारीमा स्याङ्जा

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताए । “सरकारको १५औँ योजनामा समावेश गरिएअनुसार नै हामीले सबै वडामा जमिनको वर्गीकरण गर्नेछौँ”, नगरप्रमुख अधिकारीले भने, “प्राविधिकसँगको समन्वयमा भूमि वर्गीकरणको काम माघ मसान्तसम्म सक्न वडाध्यक्ष तथा जनप्रतिनिधिलाई सूचना जारी गरिएको छ ।” जग्गा धनीलाई जमिन बाँझो नराख्न आफैंले खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति अगाडि सारेको नगरप्रमुख अधिकारीले बताए । “आफ्नो जमिन बाँझो राख्ने तर अर्कालाई भाडामा दिन दुःख मान्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ”, नगरप्रमुख अधिकारीले भने, “तपाईको आफ्नो जग्गा कुन खेतीका लागि उपयुक्त छ त्यो यकिन गरी सोहीअनुसारको खेती थाल्नुहोस्, जग्गाको अवस्था हेरी जुन सम्भव छ त्यही गर्नुहोस् तर जमिन बाँझो राख्दै नराख्नुहोस् ।” जमिन बाँझै हुने अवस्था आएमा नगरपालिकाले बाँझो जमिनको कर बढाउने नीति लिने नगरप्रमुख अधिकारीको भनाइ थियो । “वैदेशिक रोजगारीका लागि यहाँका युवायुवती बाहिर जाने गरेका छन्”, नगरप्रमुख अधिकारीले भने, “ कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै वैदेशिक रोजगार र बसाइँसराइलाई निरुत्साहित गर्दै कृषिकै माध्यमबाट भू–उपयोग नीतिको कार्यान्वयन र भूमि बैंक स्थापनाको विकल्प गर्नुको छैन ।” नेपालको २७ प्रतिशत जमिन कृषियोग्य भए पनि भूमि बैंकको अभावका कारण कार्यान्वयनमा कठिनाइ रहेको मालपोत कार्यालय वालिङका प्रमुख हरिबहादुर भुजेलले बताए । विसं २०६८ को जनगणना अनुसार देशको ७४ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर भए पनि ५३ प्रतिशत जनतासँग आधा हेक्टरभन्दा थोरै जमिन भएको मालपोत अधिकृत भुजेल बताउँछन् । भूमि बैंक स्थापनले सामूहिक वा व्यक्तिगत रुपमा व्यवसाय गर्न खोज्नेका लागि जमिनको अभाव नहुने गल्याङ नगरपालिका– १ का वडाध्यक्ष एवं नगर प्रवक्ता गणेश बस्यालले बताए । ठाउँअनुसार जमिनको वर्गीकरण हुन आवश्यक रहेको प्रवक्ता बस्यालको भनाइ थियो । रासस