काठमाडाैंमा अझै चिसो बढ्ने, बुधबार र बिहीबार देशैभरि बदली हुने

काठमाडौं । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा मंगलबार हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु-कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ । सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताए । रासस

जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण गरिँदै

काठमाडाैं । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिए । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ । सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “चट्याङको जोखिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ”, उनले भने । चट्याङविद् डा. पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घटना ‘विद्युत् सर्ट’ का कारण हुने बताए । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ । उनले विद्युतीयसंहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घटना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिन्छ भनेका छन् । घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आगलागी हुने गरेको छ । चट्याङविद् डा. पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको मृत्यु भएको थियो । रासस

अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भइन् प्रथम

प्रथम पुरस्कार विजेता सुयेन भट्टराईकाे तस्बिर काठमाडौं । अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भट्टराई प्रथम भएकी छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन प्रथम भएकी हुन् । भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्यनरत छिन् । त्यस्तै कास्की पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेश्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँस्थित मेक इञ्जिनियरिङ्ग कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरुप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ । आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि.सं. २०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १ सय ७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । रासस