बढ्दै बलात्कारका घटनाः एक हजार ८७३ मुद्दा दर्ता

काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन् । कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् । “हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट पनि यस्ता घटना बढेकोे उनको भनाइ छ । रासस

फ्रान्सेली विद्यार्थीको सहयोगमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना

कास्की । सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पुर्याउने उद्देश्यले माछापुच्छे गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो । गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी कलेजका छ युवा विद्यार्थीको समूहले स्थानीयवासीसँग सहकार्य गर्दै २५ दिन लगाएर सेवा केन्द्र भवन तयार गरेका थिए । आमा स्मृति प्रतिष्ठान नेपालको समन्वयमा उनीहरु निर्माण कार्यमा लागेका हुन् । प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीले स्वयंसेवक विद्यार्थीले रातको १ बजेसम्म पनि निरन्तर काम गरेर भवन, शौचालयलगायतका पूर्वाधार निर्माण गरेको बताए । विद्यार्थीले रु तीन लाख ८० हजार नगद र रु दुई लाख बराबरको श्रमदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दवाडीले गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासमेतको लगानीमा रु आठ लाख खर्च गरेर भवन निर्माण गरिएको बताएका छन् । स्वयंसेवकका रूपमा नेपाल आएका ३० विद्यार्थी पाँच समूहमा विभाजित भएर नेपालका विभिन्न गाउँहरुमा सामाजिक काममा लागेको र यहाँ सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको सो समूहका टोली नेता गास्पर्ड डारिगल बताउँछन् । आमा स्मृति प्रतिष्ठान, सोलिडारिटी फर फ्रान्स नेपाल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको थियो । भवनमा ५० वृद्धवृद्धाका लागि टेलिभिजन, आराम तथा मनोरञ्जनका सामग्रीहरु राखिएको छ । स्थानीय ज्येष्ठ नागरिक तोयनाथ शर्मा लम्सालले विगतमा गाउँघरमा भएका चौतारीहरु अहिले मासिइसकेको बताउँदै दुःख–सुखका अनुभूति साटासाट गर्ने र दिन कटाउनका लागि सेवा केन्द्र निर्माण भएपछि आफूहरु खुशी भएको बताए । उनले भने, “हामी वृद्धवृद्धालाई शीतल ताप्ने र एक ठाउँमा बसेर मनको बह, गुनासा पोख्ने ठाउँ पनि छैन, अब भने जमघटको थलो पाएका छौँ ।” सेवा केन्द्र वडा कार्यायललाई विहीबार हस्तान्तरण गर्दैै गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति भएको चर्चा गर्दै उनीहरुका सीप, अनुभव र ज्ञानलाई राज्यले संरक्षण गर्नुपर्ने भनाइ राखेका छन् । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले सबै वडामा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको सुनाए । रासस

स्ट्याण्डर्ड चार्टर्डले माइती नेपाललाई गर्यो ३७ लाख नगद र २० थान ल्यापटप सहयोग

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले माइती नेपाललाई ३७ लाख २२ हजार ५ सय १७ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु अभियान अन्तरगत सो सहयोग रकम हस्तान्तरण गरिएको हो । माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रदान गरिएको हो । असायक युवतीहरु र महिलाहरुलाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा शसक्तिकरण गराउने लक्ष्य राखेको छ, जसबाट महिलाहरुलाई महिनावारी हुँदा स्वच्छ सुरक्षित सरसफाईमा प्रोत्साहन मिल्नेछ । स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु बैंकको एक त्यस्तो विश्वव्यापी पहल कदमी हो । जसले असमानताका मुद्दाहरुमा सरोकार राख्दछ र हाम्रो समुदायका युवावर्गका लागि बृहत् आर्थिक समावेशिताको प्रवद्र्धन गर्न चासो देखाउँछ । बैंकले यस योजना मार्फत न्यून आय भएका घर परिवारका विपन्न युवा वर्गहरुलाई शिक्षा, रोजगारमूलक र उद्यमशीलतामाथि केन्द्रित कार्यक्रमहरुमा सहायता प्रदान गर्ने गरेको छ । बुधबार माइती नेपालले आयोजना गरेको विशेष कार्यक्रममा सिएबीएम इभा एङ, आसियन एण्ड साउथ एशियाका सारोन लि, कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङका प्रमुख प्रनु सिंहले माइती नेपालका अध्यक्ष विश्व खड्का उक्त रकम र २० थान ल्याप टप हस्तान्तरण गरेका हुन् ।