सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात, मुख्य राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर बन्दै
पर्शुरामधाम । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेकाले डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् । अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ । रासस
समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिनेः मन्त्री नेम्वाङ
फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामी दिनमा समय सीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरिने छ । ” आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएकाे जानकारी गराए । “ ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने,“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ । ” नेम्वाङ पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आएका थिए । रासस
मर्स्याङ्गदी खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा, २२ करोड विनियोजन, छ हजार घरधुरी लाभान्वित हुँदै
तनहुँ । भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मर्स्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने मर्स्याङ्गदी नदी किनारबाट पानी तान्न लागिएको हो । आयोजना सम्पन्न भएपछि तीन वडाका करिब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । आयोजनाको काम शुरु भएसंँगै स्थानीयवासी खुशी हुन थालेका छन् । चितुवाबाट प्रभावित उक्त नगरपालिकाका बासिन्दा साँझबिहान घरदेखि टाढा पुगेर कुवा र खोलाको पानी ल्याउनुपर्ने बाध्यताका कारण त्रसित हुँदै आएका छन् । समुद्री सतहबाट करिब दश हजार ३० मिटर उचाइमा अवस्थित गढीमाई मन्दिरसम्म पानी तानी लैजाने योजना अनुरुप निर्माण अघि बढाइएको नगरपालिका–८ का वडाध्यक्ष भरतराज ढकालले जानकारी दिएका छन् । नदी किनारमा करिब दश मिटर गहिरो इनार खनेर पानी निकालेपछि डेढ लाख लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी तीन ट्याङकीमार्फत प्रशोधन गरेर खानेपानी वितरण गरिने योजना रहेको बताइएको छ । गाउँघरमा खानेपानीको धारा नहुँदा स्थानीयवासी खोला र इनारको पानी प्रयोग गर्न बाध्य छन् । उक्त तीन वडामा खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न गण्डकी प्रदेश सरकारबाट मर्स्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाका लागि रु २२ करोड विनियोजन भएको छ । चालु आव २०७६/०७७ मा उक्त खानेपानी आयोजनाका लागि रु चार करोड पहिलो चरणमा विनियोजन भएसंँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ । नगरपालिका–९ का वडाध्यक्ष रामकृष्ण देवकोटाले घर नजिक पानीको स्रोत नहुँदा वडाको तेरतेर गाउँका बासिन्दालाई झण्डै एक घण्टा पैदल हिँडेर एक गाग्री पानी ल्याउनुपर्ने अवस्था रहेको बताए । आयोजना सम्पन्न भएपछि नगरपालिकाका तीन वडाका बासिन्दालाई खानेपानी सहज हुने विश्वास गरिएको नगर प्रमुख उदराज गौलीले बताए ।