रा.वा. बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ
काठमाडौं । मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनका ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । सोमबार भएको एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो । उक्त सम्झौतापत्र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ श्री अनुष्का श्रेष्ठलाई नियुक्ती गरिएको बताए । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास रहेको जानकारी दिए । सो कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त हुँदा खुसी लागेको जानकारी दिईन । बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५/५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।
ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट र आरक्षण सिट
काठमाडौं । ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग रु १० भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा रु १४ हो । ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने व्यवस्था भए पनि सार्वजनिक सवारी साधनले ‘यति रुपैयाँ दिएकै छौँ नि’ भन्दै टार्ने गरेको पराजुलीको अनुभव छ । अग्रज समाज नेपाल, ज्येष्ठ नागरिक सङ्घर्ष समितिका अध्यक्षसमेत रहेका उनले कतिपय सवारी साधनले त्यही छुट पनि दिन नचाहने गरेको बताए । उनीहरुलाई छुटका बारेमा बुझाएरै भए पनि तोकिएको भाडा तिरेर गन्तव्यसम्म जाने गरेका छन् । सरकारले ज्येष्ठ नागरिकका लागि जम्मा भाडाबापत लाग्ने रकमको आधा छुट दिने व्यवस्था गरेको छ । विभागले कार्यविधि बनाएर शुरु गरे पनि आरक्षण र छुट अहिले काठमाडौँ उपत्यकामा नै पूर्णरूपमा लागू भइरहेको छैन । यसरी, काठमाडौँ उपत्यका बाहिर र काठमाडौँबाट चल्ने लामो रुटका सवारी साधनमा यो समस्या अझै बढी रहेको ज्येष्ठ नागरिकको गुनासो छ । ज्येष्ठ नागरिकका लागि अनिवार्य रूपमा दुई वटा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि त्यसको अनुगमन नहुँदा धेरै सवारी साधनले बेवास्ता गरेको पाइएको छ । ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले आरक्षण सिटको व्यवस्था नहुने र भाडामा छुट नदिने समस्या काठमाडौँ उपत्यकामा भन्दा उपत्यका बाहिरका जिल्लामा बढी रहेको बताए । काठमाडौँ उपत्यकामा सवारी चालक र सवारीधनीमा केही ज्ञान भए पनि काठमाडौँ उपत्यका बाहिर नभएको उनको भनाइ छ । अघिल्ला वर्षमा साझा, मयुरलगायतका यातायात सेवा प्रदायकले ७० वर्ष माथिका नागरिकलाई निःशुल्क यातायातको व्यवस्था गर्ने जनाएका थिए । उनले भने, “अहिले तिनमा समेत पालना हुन छाडेको छ ।” अर्का ज्येष्ठ नागरिक सीताराम ढकाल यहाँबाट बनेपा वा धादिङ नै पुग्दा पनि सार्वजनिक सवारी साधनले छुट दिन नचाहने गरेको बताउँछन् । कतिपय सवारी चालक र सवारीधनीमा यो काठमाडौँ उपत्यकाका लागि मात्रै हो भन्नेसमेत भ्रम रहेको पाइन्छ । ज्येष्ठ नागरिकले लामो सङ्घर्षबाट ल्याएको व्यवस्था भएकाले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो आन्दोलनकै क्रममा कतिपय साथी बितिसकेका छन्, हामी भएकाले निरन्तर आवाज उठाइरहेका छौँ ।” आरक्षण सिट र छुट कार्यान्वयन भए नभएको भनी यातायात व्यवस्था विभागले अनुगमन नगरेको अध्यक्ष पराजुलीले बताएका छन् । यातायात व्यवस्था विभागले समयसमयमा अनुगमन गर्दा मात्रै कार्यान्वयन हुने उनले जानकारी दिए । अहिले सहचालकले सजिलोसँग आधा छुट नदिएको उनको आरोप छ । कतिपय ज्येष्ठ नागरिक भाडा यति हो र हामीले यति छुट पाउनुपर्छ भनेर माग्ने भए पनि कतिपयले माग्न नसक्दा सहचालकले भाडामा छुट नदिएको उनको आरोप छ । उनले भने, “पहिलपहिले अनुगमन हुँदा कार्यान्वयन भए पनि अहिले कार्यान्वयन भएको छैन ।” विभागका निर्देशक प्रेमकुमार सिंहले विभागले पहिलेदेखि नै सार्वजनिक सवारी साधनमा अनुगमन गरिरहेको बताउँछन् । विगत एकदशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने उनले जानकारी दिए । विभागले गत आवमा सवारी साधनलाई जरिवाना गरेर रु ४५ हजार जरिवाना गरेको थियो । पहिले विभागको कोठाभित्र मात्रै काम सीमित रहेकामा विसं २०६५ देखि सार्वजनिक यातायातमा अनुगमन शुरु भएको थियो । सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरे वा ५० प्रतिशत छुट नदिए कारवाही गरिने उनले बताएका छन् । ज्येष्ठ नागरिकसमेत संलग्न गराएर अनुगमन गराइने उनले प्रतिबद्धता जनाए । उनले भने, “अहिले अनुगमन शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।” ज्येष्ठ नागरिकका सङ्घसंस्थाको अगुवाइमा विसं २०६९ मा महिनौँसम्म आन्दोलन भएको थियो । सोही आन्दोलनमा ज्येष्ठ नागरिकले सरकारसँग सार्वजनिक यातायातमा भाडामा छुट र आरक्षण सिटको माग गरेका थिए । सबै अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै ज्येष्ठ नागरिक वार्डको व्यवस्था गर्न, खानेपानी, टेलिफोन, घरजग्गा लगायतमा पनि ज्येष्ठ नागरिकलाई विशेष छुटको माग गरिएको थियो । विभागले ‘सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि, २०७०’ लागू गरेको थियो । सो कार्यविधिमा छुट र आरक्षण सिटका बारेमा उल्लेख छ । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९(२) ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यसैक्रममा सर्वोच्च अदालतले २०६७ चैतमा ‘ज्येष्ठ नागरिक ऐन, २०६३ को ९(२) को व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक नीति, नियम र अनुगमन संयन्त्र बनाई लागू गर्नु’ भनी परमादेश गरेको थियो । रासस
आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु पुरस्कृत
काठमाडौँ । दि कलीस्डकोप-अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ का विजेताहरुलाई एशियन पेन्ट्सले पुरस्कृत गरेको छ । ख्वपा इन्जिनियरीङ कलेजका श्रीजन मुश्याजु प्रथम, आईओई, पुल्चोक क्याम्पसका आस्था श्रेष्ठ द्वितीय, ख्वपा इन्जिनियरीङ कलेजका हिना श्रेष्ठ तृतीय र काठमाडौं इन्जिनियरीङ कलेजका श्रेया सिंह तथा आयुष श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका २०७१ समूहका ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत बल्खु, किर्तिपुर स्थित मेकानिकल विभाग, थापाथली क्याम्पसको लागि एकेडेमिक अनुसन्धान केन्द्र डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । यसपछि १७ जनाको डिजाइनलाई मनोनयन गरी उनीहरुलाई आफ्नो परिकल्पना र धारणाहरु आर्क समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर विनोद न्यौपाने, आर्किटेक्चर चन्द्रलेखा कायस्थ, आर्किटेक्चर अभिषेक मानन्द बज्राचार्य, आर्किटेक्चर सरिता मास्के, र आर्किटेक्चर सञ्जय प्रधान रहेको निर्णायक मण्डल समक्ष प्रस्तुत गर्ने अवसर दिइएको थियो । प्रस्तुत १७ वटा परिकल्पनाहरु मध्ये निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ५ जना विजेताहरुको घोषणा भदौ १ गते म्यारियट होटल, नक्सालमा आयोजित एक समारोहमा गरिएको छ । डिजाइन प्रतियोगिता विजेता घोषणा समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्राडा तिर्थराज खनिया रहेका थिए ।