आशा लघुवित्तले बारामा दियो तीन दिने निःशुल्क सीपमूलक तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बाराको आदर्श कोटवालमा तीन दिने सीपमूलक तालिम संचालन गरी सम्पन्न गरेको छ । संस्थो पुस २३, २४ र २५ गते संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामाआबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम दिएको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताएका छन् । साथै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपप्रमुख पुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताएका छन् । उक्त शाखाका प्रमुख प्रभु कुमार यादवले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धीभई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लगतमा लुगा धुने झोल सर्फ तथासर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी लिएका छन् । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार एक सय ५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताएका छन् । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

नन्दीकेश्वर महादेव मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५अाैं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिए । मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पुर्याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाए पनि यस वर्ष भने सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन उनले आह्वान गरेका छन् । अन्नदान मेलामा धान, चामल, गहँु, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो । त्यसैगरी, समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको रु सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो । समितिका उपाध्यक्ष श्रीराम व्यञ्जूले मूल मन्दिर निर्माणका लागि रु दुई करोड ५९ लाख, बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि रु दुई करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि रु २८ लाख २५ हजार, भजनपाटी एवं सत्तल निर्माणका लागि रु ३९ लाख ६९ हजार, दाफा भजनघर निर्माणका लागि रु ३५ लाख ५७ हजार, ढुङ्गा छपाइका लागि ४३ लाख ५४ हजारलगायत उद्यान र अन्य संचरना निर्माणसमेतको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिए । पुनःनिर्माण प्राधिकरणले रु एक करोडको लागतमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ । गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको उनले बताए । त्यस्तै मन्दिरको पूर्वपट्टि बहुउद्देश्यीय सामुदायिक भवन निर्माणकार्य शुरु भई पाँचतलाको संरचना निर्माण गरी ढलानकार्य सम्पन्न गरी थप संरचना निर्माण भइरहेको छ । यसका लागि हालसम्म रु एक करोड ६९ लाख खर्च भइसकेको छ । प्रदेश नं ३ सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दादाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भइरहेको समितिका उपाध्यक्ष व्यञ्जूले जानकारी दिए । बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा मन्दिरका पुजारीको आवासगृह, विवाह, व्रतबन्धलगायतका धार्मिककार्य गर्ने स्थल, धार्मिक ग्रन्थहरु समेटिएका धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिकका लागि दिवासेवा सञ्चालनलगायतका कार्यमा प्रयोगमा ल्याइने भएको छ । पुरातत्व विभागले गरेको उत्खननका आधारमा परापूर्वकालमा यस क्षेत्रमा धार्मिक किल्ला नै खडा गरी भौतिक संरचनाको विकास भएको र उक्त संरचना कुनै कालखण्डमा प्राकृतिक प्रकोप तथा प्रलयबाट क्षति पुगेकाले भग्नावेशषमा परिणत भएको जनाइएको छ । प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ । रासस

पाैने ९ कराेड लागतमा निर्माणधीन बूढीगङ्गा नदीकाे पुल, तीन वर्षमा दुई पिल्लर, अब कहिले बन्ला ?

बाजुरा । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए । कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो ढिलाे भएकाे बताउँछन् । उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए । कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए । रासस