राेल्पाका ३६० घर पहिराेको उच्च जाेखिममा, बस्ती स्थानान्तण गरिने

राेल्पा । राेल्पा जिल्लामा पहिराको अत्यधिक जोखिम देखिन थालेको छ । पहिराले जनधनको क्षतिका साथै बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । भौगोलिक अध्ययन र इञ्जिनीयरिङ डिजाइनबिना खनिएका सडकले पहिराको उच्च जोखिम देखिन थालेको हो । पहिराका कारण सुनछहरीका वडा नं ४ र ५ उच्च जोखिममा छन् । प्रदेश नं ५ का १२ जिल्लामध्ये रोल्पालाई विपद्का दृष्टिले उच्च जोखिमयुक्त जिल्लाका रूपमा लिइएको छ । जिल्लाका सुनछहरी, थवाङ, लुङ्ग्री, माडी र परिवर्तन गाउँपालिका पहिराको उच्च जोखिममा रहेका स्थानीय तह हुन् । ती गाउँपालिकामध्ये सुनछहरी गाउँपालिका सबभन्दा बढी जोखिममा रहेको छ । गाउँपालिकाका अध्यक्ष आशबहादुर घर्तीका अनुसार ती वडाका ३६० घर अत्यन्तै जोखिममा छन् । विसं २०७२ को भूकम्पले सुनछहरी–१ झङ्कीका ४० घर र सोही वडाको फुलिवनका २० घर पहिराका कारण विस्थापित भएका थिए । यसैगरी ४५ घरधुरीले बसोबास गर्दै आएको सोही गाउँपालिकाको वडा नं ३ चालावाङमा अहिले २२ घरधुरी मात्रै बस्दै आएका छन् भने बाँकी सबै विस्थापित भइसकेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सचिव शङ्करप्रसाद खरेलसहितको एक टोलीले स्थलगत निरीक्षण गरी सो क्षेत्रका बस्ती स्थानान्तरणका लागि विस्तृत योजना तयार गरेको छ । “रु १८ करोड बजेटसहितको विस्तृत विवरण तयार गरी सङ्घीय सरकारमा पठाएका छौँ”, मन्त्रालयका सचिव खरेलले भने । बस्तीमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन् । बस्ती नै स्थानान्तरण गर्ने समस्या देखिन थालेको अध्यक्ष घर्तीको भनाइ छ । जिल्लाकै सुनछहरी–६ फगामको आप्राखोला पहिराका कारण गाउँले त्रासदीपूर्ण दैनिकी बिताउन बाध्य छन् । पहिराले बस्ती उजाड बनाउनुका साथै धनजनको क्षति आँकलन गर्न सकिने अवस्थामा नभएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । “तत्कालीन राजा महेन्द्रका पालामा बस्ती स्थानान्तरणको प्रयास गरिए पनि स्थानीयवासी सहमत नहुँदा स्थानान्तरण हुन सकेन”, उनले भने। सोही गाउँपालिकाका जैमाकसला र सेरमका बस्ती पनि उच्च जोखिममा छन् । पहिराका कारण वडा नं १ झाँकीको स्वरुप नै बदलिएको छ । सो गाउँका १६४ घरधुरीलाई स्थानान्तण गर्नुपर्ने समस्या देखिएको उनले बताए । पहिराको मुख्य कारक मान्छे भएको विपद् व्यवस्थापनका विज्ञ डा. दीपक चाम्लागाइकाे भनाइ छ । “माघ, फागुन र चैतमा खनेका सडक नै असार, साउनमा पहिरो बन्छ”, चाम्लागाइले भने । वन तथा संरचना निर्माणमा संहितालाई कडाइका साथ लागू नगरेकै कारण पहिराको विपद् बढ्दै गएको उनले जानकारी दिए । बाढीको जस्तै पहिराको पनि पूर्वसूचना प्रणाली जडान गरी क्षति न्यूनीकरण गर्न सकिने मन्त्रालयका सचिव खरेलको भनाइ छ ।

पार्सल आएको छ भन्दै ठग्ने विदेशी नागरिकसहित पाँच गिराेह पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पार्सल आएको छ भन्दै ठग्ने विदेशी सहित पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूले ९८०३८०४८५८ बाट फोन गरेर विदेशबाट तपाईका आफन्तले पार्सलमा बहुमुल्य सामानहरु पठाएको छ त्यसको लागि भन्सार तिर्नु पर्ने रकम बैंकमा जम्मा गरिदिनु पर्यो भनेर बैंक नम्बर उपलब्ध गराउने गिरोहका विदेशी नागरिक सहित पाँच जनालाई शुक्रबार सार्वजनिक गरेकाे हाे । उक्त नम्बरबाट दैनिक एक दर्जन व्यक्तिलाई पार्सलको बारे लिन आउन फोन गर्ने गरेको पत्ता लागेको छ । सिआइबीले प्रेस बिज्ञप्ति जारी गरि विदेशबाट पार्सल पठाएको छ भन्दै फेसबुक ह्वाटसप, ट्वीटर, इमो लगायतका सामाजिक सञ्जालमा तपाईको आफन्तले पार्सल पठाएको छ भन्दै विदेशी व्यक्तिको नाममा प्रोफाइल तयार पारेर ठगी कार्यमा संलग्न रहेकाहरुलाई सिआइबीले पक्राउ गरेको हो । नक्कली प्रोफाइल बनाएर सामाजिक सञ्जालमा साथी बनाई विभिन्न बहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनि ईमेलमा विभिन्न बहुमुल्य गरगहना, सामानहरु र डलर सहितको फोटो पठाई झुठो प्रलोभनमा पार्ने गरेको सिआइबीले जनाएको छ । निरन्तर संवादपछि सो पार्सल लिएर मेरो मान्छे नेपालमा आउदैछ र सो सामानहरु लिनु भन्ने गरेको त्यसपछि नेपालमा भएको सम्पर्क नंं ९८०३८०४८५८ नंं बाट विदेशी नागरिकले फोन गरि तपाईको सामान मैले लिएर आएको थिए भनेर झुक्याउने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् । पार्सल बोकेर आएको मान्छे नेपाल आएको र एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेका नेपाली नागरिकहरु सहित विदेशीलाई काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी पाण्डेले बताए । सिआइबीले नाइजेरियन नागरिक श्रील सिआनसो, आइभरीकोष्टका नागरिक असापे एडजी, चितवनका चन्द्र गैह्रे,काठमाडौ ठमेलका उमेश श्रेष्ठ र चितवनका हरि ओझालाई पक्राउ गरेको हो ।

वीपी विचार राष्ट्रिय समाजले प्रजातान्त्रिक योद्धाहरुको बारेमा दोस्रो पुस्तक प्रकाशन गर्ने

काठमाडौं । वीपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने भएको छ । वीपी विचार राष्ट्रिय समाजको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो । सो सम्बन्धमा समाजका महासचिव विनयध्वज चन्दले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावको छलफलमा प्रजातान्त्रिक आन्दोलनको इतिहास समेटिएको छुट्टाछुट्टै पुस्तक प्रकाशित गर्ने कि ७७ वटै जिल्लाकै छुट्टाछुट्टै लेख तयार गरी त्यसमा नेपालको प्रजातान्त्रिक योद्धाहरुको योगदान, जिल्लागत रुपमा समावेश गर्ने भन्ने विषयमा छलफल भएको छ । उक्त विषय आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत भै निश्कर्षमा पुगि वीर योद्धाहरुको योगदान समेटिएको पुस्तक प्रकाशित हुने समाजका महासचिव चन्दले जानकारी दिएका छन् ।