अब नेपाली सेनाबाहेक सर्वसाधारणले ‘कम्ब्याक्ट’ पोशाक लगाउन नपाउने
काभ्रपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत दिएको हो । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहज रूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिएका छन् जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको बैठकमा उनले भने, “यो कुनै पार्टी विशेष जस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोकिन्छ, तपाईंहरुले आ–आफ्नो क्षेत्रमा कडाइका साथ लागू गर्नुस् ।” प्रजिअ रानामगरले सदरमुकाम धुलिखेलमा कम्ब्याक्ट पोशाक लगाएर दुर्गमबाट आएका दुई जनालाई सचेत गराइएको बताए । “नजिकै घर भएको भए तुरुन्तै फेर्न लगाइन्थ्यो, टाढा भएकाले सचेत मात्रै गराइयो”, उनले भने । उनले आफ्नो क्षेत्रमा यस्ता व्यक्ति देखिए तुरुन्तै फेर्न लगाउने नभए नजिकको प्रहरीलाई खबर गर्न कार्यालय प्रमुखलाई आग्रह गरेका हुन्। गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा कम्ब्याक्ट पोशाक निषेध गरिएको कार्यालयले जनाएको छ । जिल्लास्थित पसलमा स्टक रहेका कम्ब्याक्ट पोशाक (जुत्तासमेत) खरिद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत आग्रह गरिएको छ । केन्द्र सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि कम्ब्याक्ट पोशाक निषेध गरिएको प्रजिअ रानामगरले बताएका छन् । नेपाली सेनाले आफ्नो पोशाकको दरुपयोग गरी सर्वसाधारण, विभिन्न निजी सेक्युरिटी कम्पनी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिले लगाएपछि गत साउनमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई गैरसैनिकलाई कम्ब्याक्ट पोशाक निषेध गर्न परिपत्र गरेको थियो । रासस
बजेट कार्यान्वयनको पहिलो महिनामा नै रकमान्तर, १ करोड ६५ लाख गैर बजेट निकासा
काठमाडौं । विज्ञ अर्थमन्त्रीले बनाएको बजेट कार्यान्वयनमा गएको पहिलो महिना साउनमामै १ करोड ६५ लाख ७८ हजार गैर बजेट निकासा भएको छ । अर्थ मन्त्रालयले आर्थिक सहायता, प्रतिनिधिमण्डलको भ्रमणका लागि १ करोड ८ लाख १३ हजार रुपैयाँ बजेट निकासा गरेको छ भने ५७ लाख ६५ हजार रुपैयाँ रकमान्तर शीर्षकबाट बजेट निकासा भएको छ । अर्थ मन्त्रालयले साउन महिनामै दुई शीर्षकमा बजेट रकमान्तर गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा प्रधानमन्त्री राष्ट्रिय पुरस्कार वितरण गर्ने प्रयोजनका लागि १० लाख रुपैयाँ रकमान्तर गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव रसिया भ्रमण जाने तयारको लागि स्वागत तथा टिकट खर्चमा तीन लाख १३ हजार दुई सय ४५ रुपैयाँ खर्च भएको छ । मन्त्री अस्वस्थताको कारण उक्त भ्रमण भने रद्द भएको थियो । अर्थ मन्त्रालयले भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई नेपाल सरकारको मिति २०७६ असार ६ गतेको निर्णय अनुसार सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगलाई ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।
कला क्षेत्रको जगेर्ना गर्न सरकारको सहयोग छः श्रेष्ठ
काठमाडौँ । नेपाल कला परिषदका अध्यक्ष शंखर श्रेष्ठले सरकारले कलाक्षेत्रमा गरेको साथ र सहयोगले नै आज कलाक्षेत्रको जगेर्ना भएको बताएका छन् । भदौ ५ देखि १० गते सम्म चित्रकला प्रदर्शनीमा उनले यस्तो बताएका हुन् । नेपालमा चित्रकला प्रर्दशनमा लामो समयदेखि कार्यरत क्षेष्ठले चित्रकला एउटा सृजना भएकाे र प्रकृतिले सृष्टि गरेको कलाकारको रंङ नै चित्रकला भएको बताए । बुधबारदेखि शुरु भएको उक्त चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनएका पूर्व अध्यक्ष डा. उपेन्द्र महत्तोले नेपाली कला साहित्य र संस्कृतिलाई अगाडि बढाउने र नेपाली कलालाई चिन्न र चिनाउनमा सबैले जोडदिएको समेत बताए । प्रदर्शनी चित्रकार रत्नकाजी शाक्यको चित्रले धेरैकाे मन आकर्षित गरेकाे छ । उनकाे चित्र न्यायीकताले भरिएको देख्न सकिन्छ । शाक्यले भोको र नाङ्रगो देशमा कलाको विकास नहुने र कलाको विकास नभएको देश भोको र नाङ्गो हुने बताए ।