करोडौँमा बिक्री हुने भन्दै पुरानो सिक्का देखाएर ठगी, तीन जना पक्राउ

भद्रपुर । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन् । सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको प्रहरी नायब उपरीक्षक अवाले बताए । प्रहरीले कुनै पनि वस्तु रातारात करोडौँमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ ।

जिउँदो मान्छेलाई मृतक बनाएर भत्ता असुली

काठमाडाैं । आँगनमा पतिको उपचार चलिरहेको छ, उनी बिरामी भएर खाटमा थलिएका छन् । तर, वडा कार्यालयको कागजमा भने ती पति मृत भइसकेका छन् । कागजी पन्नामा श्रीमती एकल महिला वा विधवा बन्छिन् र राज्यको ढुकुटीबाट सुटुक्क भत्ता निकासा हुन्छ । उता ७० वर्ष उमेर नपुगेका मानिसहरू एकाएक कागजमै वृद्ध बन्छन् ।  यो कुनै चलचित्रको काल्पनिक कथा होइन, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ (मत्सरी) मा वर्षौंदेखि निर्वाध चलेको एउटा भयानक सामाजिक र प्रशासनिक अपराधको यथार्थ कथा हो ।  आर्थिक वर्ष २०७४/०७५ मा स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिहरू चुनिएर आए । स्थानीय सरकार आएपछि गाउँमै सिंहदरबार पुग्ने र नागरिकले झन्झटमुक्त सेवा पाउने आशा थियो । तर, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा भने स्थानीय सरकारले चलाएको सामाजिक सुरक्षा कार्ड संकलन शिविर नै भ्रष्टाचारको मुख्य अखडा बन्न पुग्यो ।  शिविर सञ्चालनका क्रममा वडा कार्यालयले सर्वसाधारणसँग नागरिकताको फोटोकपी मागेको थियो ।  न त मृत्यु दर्ताको प्रमाणपत्र गहन रूपमा जाँचियो, नत परिवारको स्थलगत वस्तुस्थिति नै बुझियो । सोझा र अनपढ गाउँलेहरूबाट नागरिकता बोकेर वडाका जनप्रतिनिधि र पञ्जीकरण अधिकारीले कागजी रूपमा जीवित पतिलाई नै मृत ठहर गराए । गाउँमै बसिरहेका, खेतीकिसानी गरिरहेका वा औषधि उपचार गराइरहेका पुरुषका श्रीमतीहरूलाई किर्ते कागजातका आधारमा विधवा भत्ता पाउने सूचीमा चढाइयो । यस घोटालामा चार मुख्य तरिका अपनाइएको अनुसन्धानबाट खुलेको छ । पहिलो, घरमै पतिको उपस्थिति हुँदाहुँदै पनि वडाध्यक्ष र सचिवको सिफारिसमा श्रीमतीलाई विधवा बनाएर कार्ड जारी गरियो । दोस्रो, ७० वर्ष नपुगेका नागरिकहरूलाई कागजातमा उमेर बढाएर÷सच्याएर ज्येष्ठ नागरिक भत्ताको सूचीमा राखियो । तेस्रो, फरक–फरक व्यक्तिहरूको भुक्तानी भरपाईमा एउटै बिचौलियाको औंठाछाप प्रयोग गरियो । र चौथो, गाउँपालिकाका पूर्व निमित्त कार्यकारी अधिकृतको युजर आईडी दुरुपयोग गरी कम्प्युटर प्रणालीमा नियम विपरीतका नामावली प्रविष्टि गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले यो घोटालामा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी र बिचौलियाको स्पष्ट त्रिकोण फेला पारेको छ । वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले मापदण्ड र सक्कल कागजात नपुगेका व्यक्तिहरूलाई भत्ता कार्डमा हस्ताक्षर गरी कानुनी मान्यता दिएका थिए । वडा सचिव तथा पञ्जीकरण अधिकारी उमेश चौधरीले लाभग्राही सूची रुजु नगरी भुक्तानी भरपाई तयार पारेर किर्ते विवरण स्वीकृत गराएका थिए ।  त्यसैगरी तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरले कम्प्युटर प्रणालीमा आफ्नो युजर आईडी दुरुपयोग हुन दिई सुपरीवेक्षण नगरेको पाइएको छ ।  घोटालाको निष्पक्ष पुष्टि गर्न अख्तियारको टोलीले शंकास्पद देखिएका आ.व. २०७४÷०७५ देखि २०७६÷०७७ सम्मका सक्कल भरपाईहरू नियन्त्रणमा लिई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृतको प्राविधिक परीक्षण रिपोर्टले दर्जनौं फरक–फरक महिला र वृद्धवृद्धाहरूको नाममा निकासा भएको रकमको भरपाईमा एउटै बिचौलिया वा कर्मचारीको औँठाछाप हानिएको पुष्टि ग¥यो । यसले सामाजिक सुरक्षाको भत्ता बास्तविक सर्वसाधारणसम्म नपुगी सिधै बिचौलिया र कर्मचारीको गोजीमा पुग्ने गरेको तथ्य उजागर ग¥यो । वर्षौंसम्म चलेको यो धन्दाको २०७८÷०७९ तिर गाउँभरि चर्चा हुन थालेपछि स्थानीय युवाहरू र सचेत नागरिकहरूले जिल्ला प्रशासन कार्यालय र अख्तियारमा उजुरी दिएका थिए ।  अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएपछि कारबाही र जेल सजायबाट बच्न २०८० साल ज्येष्ठमा मत्सरी गाउँका १८ भन्दा बढी महिलाहरूलाई हतार–हतार बैंक पठाएर ७५ हजार ९७३ देखि १ लाख ७ हजार रुपैयाँसम्मका दरले रकम फिर्ता जम्मा गराइयो ।  बैंकमा रकम फिर्ता बुझाएका पीडित महिलाहरूले आफूहरू अनपढ भएकाले वडाले नागरिकता माग्दा दिएको र पछि बैंकमा पैसा आउँदा बुझेको बयान दिएका छन् । गाउँमा जिउँदै श्रीमान् भएकाले भत्ता खाँदा जेल परिन्छ भन्ने हल्ला फैलिएपछि ऋण–धन खोजेर रकम फिर्ता बुझाउन बाध्य भएको उनीहरूको भनाइ छ ।  यद्यपि, सर्वोच्च अदालतको स्थापित कानुनी सिद्धान्त अनुसार अपराध घटिसकेपछि वा छानबिन सुरु भएपछि रकम फिर्ता गर्दैमा भ्रष्टाचारको दायित्वबाट उन्मुक्ति मिल्दैन ।  हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरी वडाध्यक्ष, सचिव, कार्यकारी अधिकृत र बिचौलिया÷लाभग्राहीसहित ४२ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र (निर्णय नं. २६, २०८३) दर्ता गराएको छ ।  आयोगले प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी, हिनामिना र गलत लिखत तयार गरेको कसुरमा कडा सजाय, बिगो असुल र जरिवानाको मागदाबी गरेको छ । उनीहरुलाई अधिकतम् ६ वर्षको कैद सजाय माग गरिएको छ । 

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

काठमाडौं । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् । अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । न्युयोर्कमा रहेको कराँते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै भएकी छन् । शेर्पाले सन् २०२५ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा कांस्य पदक, २०२४ को नेशनल गेम्समा दुई रजत पदक, २०२४ को लुइजियानामा सम्पन्न प्रतियोगितामा एक रजर र कांस्य पदक तथा २०२३ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । उनले एएयू कराँते च्याम्पियनसिप र गार्डेन स्टेट कराँते च्याम्पियनसिपमा र न्युयोर्क स्टेट च्याम्पियनसीपमा एक स्वर्ण र एक रजत समेत स्वर्ण पदक जितेको नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीले बताए । जेत्सुन सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ३ लोदिङ निवासी ल्हाक्पा शेर्पा र छेतेन शेर्पाकी छोरी हुन् । लामो समयदेखि शेर्पा परिवार नै अमेरिकामा बस्दै आएका छन् । खेलसँगै उनी अध्ययन र पौडी प्रतियोगितामा समेत सक्रिय रहेको जेत्सुनका बुवा ल्हाक्पा शेर्पाले बताए । उनले भने, ‘अन्तराष्ट्रिय उपाधि हाम्रो परिवार, प्रशिक्षक र छोरीको वर्षौंको मिहिनेत, अनुशासन र समर्पणको प्रतिफल हो, यसलाई हामी मात्रै हैन मेरो देश नेपालको शिर समेत उच्च बनाएको महसुस भएको छ ।’ शेर्पा परिवारले प्रशिक्षक तथा कराँते प्रशिक्षण केन्द्र डोजोप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।