विकासन्युजको समाचारमा संगीता श्रेष्ठको खण्डन
काठमाडौं । विकास मिडियाद्वार सञ्चालित विकासन्युज डटकममा मिति २०८३ असोज ७ गते प्रकाशित ‘वर्षौंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक’ र असोज ९ गते प्रकाशित ‘८ वर्षपछि वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको सरुवा’ शीर्षकका समाचारहरूप्रति वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन पठाएकी छन् । श्रेष्ठले पठाएको खण्डनअनुसार समाचारमा प्रयोग गरिएको आफ्नो तस्बिर बिना अनुमति सार्वजनिक गरिएको र आफू ८ वर्षदेखि नभई २०७८ साल पुस ११ गतेको निर्णयानुसार वीर अस्पतालमा पदस्थापन भएको दाबी गरेकी छन् । उनका अनुसार नवौं, दसौं र ११ औं तह गरी वीर अस्पतालमा आफ्नो जम्मा कार्यकाल ४ वर्ष ९ महिना मात्र रहेको र यस समाचारले आफ्नो मानहानि भएको उल्लेख गरेकी छन् । श्रेष्ठद्वारा प्राप्त खण्डन पत्रमा आफ्नो कुनै लिखित वा मौखिक अनुमति बिना तस्बिर सार्वजनिक गरिएको, २०७६ सालमा ११ औं तहमा बढुवा भएपछि नभई वि.सं. २०७८/०९/११ को निर्णयानुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट वीर अस्पतालमा पदस्थापन भएको, मन्त्रालयले खटाएको ठाउँमा दिएको जिम्मेवारी पूरा गर्दा के गल्ती भयो र कसरी मानहानि भयो र ११ औं तह हुनुअघि नवौं तहमा २ महिना, दशौं तहमा २ महिना तथा ११औं तहपछि जम्मा ४ वर्ष ९ महिना वीर अस्पतालमा काम गरेको उल्लेख गरेकी छन् । सार्वजनिक पद र जिम्मेवारीमा रहेका व्यक्तिहरूसँग सम्बन्धित विषयहरू सार्वजनिक चासोको क्षेत्रभित्र पर्ने भएकाले समाचारमा तस्बिर प्रयोग गरिएको विकासन्युजको ठहर छ । साथै, समाचारमा उल्लेख गरिएका तथ्याङ्क तथा विवरणहरू आधिकारिक एवं मन्त्रालय स्रोतबाट प्राप्त सूचनाका आधारमा तयार पारिएको जानकारी गराउँदै हामी हाम्रा समाचार स्रोत र प्राप्त तथ्यहरूप्रति पूर्ण रूपमा विश्वस्त भएको दाबी गर्दछौं । विकासन्युज डटकमले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको मूल्य–मान्यतालाई मध्यनजर गर्दै प्राप्त खण्डनलाई जस्ताको तस्तै स्थान दिएका छौं ।
खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
काठमाडौं । नेपालका चार जुडो खेलाडीले २० औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन् । जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकाश विक तथा देवकीमाया र निशा श्रेष्ठले पहिलो चरणमा बाहिरिए । आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले खराब प्रदर्शन गरे । चारमध्ये निसा र विकाश निर्धारित समयसम्म टिक्नै सकेनन् । पुरुष ६० केजीमुनि तौलसमूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भए । यी दुवैले पहिलो चरणमा बाई पाएका थिए । तर विकासले त्यसलाई सदुपयोग गर्न सकेनन् । समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपको स्वर्ण विजेता हुन् । कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेटमै नतिजा सुम्पिन बाध्य भए । पहिलो सेकेण्डदेखि नै समरिद्दिन आक्रामक देखिए । अन्तत: उनले विकासमाथि ४८ सेकेन्डभित्र नै बाजी मारे । महिला ४८ केजी तौलसमूहमा पनि निशाले खराब प्रदर्शन गरिन् । उनी हङकङकी योङ का लीसँग इप्पोनको आधार पराजित हुन पुगिन् । २ मिनेट ३२ सेकेन्डमा नै निसाले नतिजा सुम्पिएकी थिइन् । महिला ५२ केजीमा देवकी मायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युकको आधारमा पराजित हुन पुगिन् । अनुभवी खेलाडी देवकी मायाले अन्तिम समयसम्म चुनौती दिइन् । तर, खेल सकिन २० सेकेण्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकी माया पराजित भइन् । त्यसअघि दुवैले सिदो (पहेंलो कार्ड ) सामना गरेका थिए । उनी निसाकी दिदी हुन् । अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन् । विशेष भने पुरुष ६६ केजी तौलसमूहमा हङकङका वाङ का कीसँग वाजारिका आधारमा पराजित हुन पुगे । तर, विशेषले चार मिनेटसम्म चुनौती दिए पनि पराजित भए । अब नेपालले दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौलसमूह, सुजन गुरुङले पुरुष ९० केजीमुनि तौलसमूह र मिक्स टिममा प्रतिस्पर्धा गर्नेछ । –न्युज एजेन्सी नेपाल
‘ऋण लिएर तीन आना जग्गामा सवा करोडको घर बनाएँ, अब कहाँ बस्ने भन्ने चिन्ता छ’
काठमाडौं । बिहानको ५ बजेर ३२ मिनेट । समिर थापा मगरको आँखा अगाडि आफूले वर्षौं लगाएर बनाएको घर ढल्यो । केही क्षणमै घरसँगै उनको परिवारको वर्षौंको सपना पनि भग्नावशेषमा परिणत भयो । ललितपुर महानगरपालिका-२४ धापाखेलमा रहेको तीन आना जग्गामा थापा मगरले घर बनाए । उनले सात वर्षअघि अर्थात् २०७६ मा करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर घर बनाएका थिए । घरको ऋण तिरि नसक्दै घरलाई पहिरोले ढालेको छ । घर बनाउन लिएको अझै २८ लाख तिर्न बाँकी रहेको उनले बताए । कृषि विकास बैंकमा होम लोनको किस्ता तिरिरहेको उनले बताए । 'घर हुँदा होम लोन तिर्नुपर्छ भन्ने थियो । नभएको घरको ऋण कसरी तिर्नुहोला,' उनी मलिन स्वरमा भन्छन् । उनलाई ‘घर ढल्यो’ भन्ने पीडाभन्दा ठूलो चिन्ता अहिले परिवारलाई कहाँ राख्ने भन्ने पीडाले सताउन थालेको छ । घरमा थापा मगरसहित तीन जना बस्दै आएका थिए । श्रीमान, श्रीमती र छोरी घरमा बस्दै आएका थिए । जेठी छोरीको विवाह भइसकेको छ । उनले घर भाडामा लगाइएको थिएनन् । आफ्नै परिवारका लागि मेहनतले बनाएको त्यही घर अहिले पहिरोले खोसेपछि पुनःस्थापना कहाँ गर्ने भन्ने अन्योलमा छन् उनी । अहिले नजिकैको चर्चमा उनीहरू बसिरहेका छन् । त्यहाँ सात दिनसम्म बस्ने व्यवस्था मिलेको छ । तर, सात दिनपछि कहाँ जाने भन्ने उनीहरूलाई थाहा छैन। 'अहिलेका लागि सात दिन बस्ने ठाउँ भएको छ,' उनी भन्छन्, 'त्यसपछि कहाँ जाने, कसरी बस्ने भन्ने केही थाहा छैन ।' थापाले बिहान साढे ५ बजे घर ढलेको थाहा पाएको बताए । 'आफ्नै आँखाअगाडि घर ढल्यो,’ थापा मगर भन्छन्, ‘घर मात्र ढलेन, सानो परिवारको सपना समेत ढल्यो।' थापा मगरले स्थानीय तहका वडाध्यक्षलाई घटनाबारे जानकारी गराइसकेका छन् । तर, पहिरोका कारण पुरानै ठाउँमा पुनःस्थापना हुन सक्ने अवस्था नरहेको उनको भनाइ छ। 'त्यही ठाउँमा फेरि बस्न धेरै गाह्रो छ,' उनी भन्छन् । घरसँगै रोजगारी पनि गुम्यो थापा मगरको समस्या घर भत्किएर मात्रै सकिएको छैन । पहिरोले उनको रोजगारीको आधारसमेत खोसिएको छ । उनी पेशाले फोटोग्राफर हुन् । भीएफएक्स छायाँ सेन्टरमा फोटोग्राफीको काम गर्थे । तर, थापाथलीमा सरेपछि बस्ने कोठा नपाउँदा उनले कामलाई निरन्तरता दिन सकेका छैनन् । 'थापाथलीमा सरेपछि कोठा पाइनँ । त्यसपछि काम पनि पाएको छैन,' उनी भन्छन्, 'अहिले म बेरोजगार भएको छु ।' ऋणको २८ लाख रुपैयाँ बाँकी छ, अर्कोतिर आम्दानीको कुनै स्रोत नभएको दुःखेसो पोखे । इलामबाट काठमाडौं आएका थिए थापा मगरको पुरानो घर इलाम हो । रोजगारी र भविष्यको खोजीमा उनी २०५० सालमा काठमाडौं आए । लामो समयपछि आफ्नै घर बनाएर परिवारलाई सुरक्षित र स्थिर जीवन दिने उनको सपना थियो । उनले वर्षौं मेहनत गरे । ऋण लिएर घर बनाए । परिवारलाई घरमा राखे । तर पहिरोले केही क्षणमै उनको वर्षौंको मेहनत माटोमा मिलाइदियो । 'यत्रो वर्ष दुःख गरेर बनाएको घर आँखै अगाडि ढल्यो,' थापा मगर भन्छन्, 'अहिले परिवारलाई कसरी राख्ने भन्ने नै सबैभन्दा ठूलो चिन्ता छ।' घर ढलेको थाहा पाएपछि उनको श्रीमती मञ्जु राई बेहोस भइन् । उनलाई तत्कालै पाटन अस्पतालमा उपचारको लागि लगेको उनी बताउँछन् । 'अहिले अस्पतालबाट घरमा ल्याएर राखिएको छ,' उनी भन्छन,' श्रीमतीलाई सम्झाएर राख्नु परेको छ । हामीले सक्दो प्रयास गर्नेछौं। तर, कहाँबाट फेरि उठ्ने होला गाह्रो भएको छ।'